विद्यालय सुधार गर्ने अभियान

दमक । झापाको कमल गाउँपालिका ७ विष्णुकट्ठामा रहेको सिंहदेवी प्राविमा विद्यार्थीको संख्या घट्दै गएपछि अभिभावकहरु सक्रिय भएका छन् । स्कूल सुधारको लागि अभिभावक लगातार रूपमा एक महिना खटेपछि त्यसको परिणाम पनि देखिन थालेको छ ।

विद्यालय सुधार कार्यक्रमअन्तर्गत गएको श्रीपञ्चमीका दिनदेखि प्ले ग्रुपदेखि कक्षा १ सम्म अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेपछि पढ्न आउने विद्यार्थी ह्वातै बढेका हुन् । विद्यालयका प्रधानाध्यापक सुरेन्द्र राईका अनुसार विद्यार्थी संख्या बढाउन अभिभावकको सक्रियतामा विद्यालयले अंग्रेजी माध्यममा पढाई सञ्चालन गरिएपछि विद्यार्थी भर्ना अवस्थामा सुधार आएको हो ।

अंग्रेजी माध्यममा पढाई शुरु गरिएपछि प्लेग्रुपमा २२ जना विद्यार्थी थपिएका छन् । यो वर्ष कक्षा १ सम्म अंग्रेजी माध्यमबाट पढाई शुरु गरिएको स्कूलमा ७५ विद्यार्थी पुगेका छन् ।

२०३० सालमा स्थापना भएको विद्यालयमा कुनैबेला ६६० जना विद्यार्थी रहेकोमा निजी बोर्डिङ खुलेसँगै विद्यार्थी संख्या ह्वातै घटेको हो । प्रतिष्पर्धा गर्न नसक्दा चुनौती खेप्नुपरेको प्रधानाध्यापक राईले बताउनुभयो ।

विद्यालयको अवस्थामा सुधार ल्याउन यसअघि काम गरे पनि योजनाबद्ध कार्यसम्पादन हुन नसक्दा बीचैमा लथालिंग बन्न पुगेको थियो । विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको विद्यालयलाई पुनर्जीवन दिन स्थानीय अभिभावकहरु अभियान्ता भएर लागेका छन् । गत माघ २८ गते भेला डाकेर विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्न उनीहरुले पहल थालेका थिए ।

स्थानीय ओमनाथ तिम्सिनाको अध्यक्षतामा ७ सदस्यीय अभिभावक समन्वय समिति गठन भयो । वडासदस्य हिमा नेपालीको अध्यक्षतामा अन्तरिम विद्यालय व्यवस्थापन समितिसमेत गठन गरिएको छ । समितिको अगुवाइले गर्दा नै एकै महिना नहुँदै भर्नादर बढेको अध्यक्ष तिम्सिनाले बताउनुभयो ।

आगामी शैक्षिक सत्रमा करिब २ सय विद्यार्थी पु¥याउने गरी पहल गरिरहेको स्कूलले जनाएको छध । समितिले विद्यालयमा स्वच्छ खानेपानीका लागि धारा जडान गर्नुका साथै प्लेग्रुप कक्षा र संरचना निर्माणलगायत काम गरिसकेको छ । विपन्न, दलित तथा जनजाति बाहुल्यता विद्यार्थी रहेको विद्यालय जेनतेन चलेको स्थानीयले बताएका छन् ।

चार जना शिक्षकको दरबन्दी रहेको यस विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुन लागेपछि जनशक्ति अभाव भएकाले त्यसलाई समुदायकै पहलमा थप गर्न लागिएको छ । न्यूनतम सुविधामा स्थानीयलाई शिक्षक राख्ने तयारी भएको छ ।

मङ्गलबार, ०४ चैत, २०७६, रातीको ११:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर