राजस्व छल्ने कर्मचारीलाई जोगाउँदै भन्सार प्रशासन

विराटनगर । लाखौं रुपैयाँ बराबरको राजस्व छली प्रकरणमा एजेन्टलाई कारवाही गरेको विराटनगर भन्सार प्रशासनले त्यसमा संलग्न आफ्ना कर्मचारीलाई भने उन्मुक्ति दिएको छ ।

गएको साउन ३ गते राति राजश्व छलेर सामान भित्र्याएको आरोपमा राजस्व अनुसन्धान कार्यालयले दुई वटा ट्रयाक्टर नियन्त्रणमा लिएको थियो । बजार मूल्यभन्दा सयौं गुणा कम मूल्यांकन गरेर १४ लाख र बाँकी चार लाख बराबरको भन्सार मुल्यांकन नगरी सामान भित्र्याएको पाइएको राजस्व अनुसन्धानले जनाएको थियो ।

‘हजारभन्दा बढी मुल्य पर्ने कपडाको मूल्यांकन एक सय रुपैयाँको मात्रै गरिएको थियो’ राजस्व अनुसन्धान इटहरीका दिपक खड्काले भने ‘यसरी कम मूल्यांकन गरेर १४ लाख राजस्व छलिएको पाइयो । त्यस्तै भन्सार नगरी ४ लाख बराबरको सामान ल्याएको भेटियो । यसरी एकैपटकमा १८ लाख राजस्व छलेको पाइएको थियो ।’ घटनाको अनुसन्धान जारी रहेको खड्काले जानकारी दिए ।

तर, यो एउटै घटनामा संलग्नहरुमाथि कारवाही अघि बढाउने विषयमा भन्सार प्रशासनले दोहोरो मापदण्ड अख्तियार गरेको छ । राजस्व अनुसन्धान विभागको ठहरमा भन्सार एजेन्टका प्रतिनिधिलाई दोषी करार गरेको भन्सारले आफ्ना कर्मचारीको हकमा भने ‘आधिकारिकता’ कुरिरहेको छ ।

व्यापारी, भन्सार कर्मचारी, भन्सार एजेन्टसहितको मिलेमतोमा एकैपटकमा १८ लाख रुपैयाँ राजस्व छली भएको राजस्व अनुसन्धान कार्यालय इटहरीले पुष्टि गरेको थियो । लगत्तै भन्सार एजेन्टका प्रतिनिधिलाई एक महिने निलम्बन घोषणा गरेको भन्सारले आफ्ना कर्मचारीलाई भने छानबिनसम्म थालेको छैन । एजेन्ट प्रतिनिधि अकबर अलीलाई एक महिने निलम्वन गरेको भन्सारले कर्मचारीमाथि छानबिन गर्न भने आधिकारिकता कुरेको हो ।

‘राजस्व अनुसन्धान कार्यालयले हामीलाई आधिकारिक जानकारी गराएकै छैन’, विराटनगर भन्सारका सूचना अधिकारी सन्तोष यादवले भने ‘अनुसन्धान कार्यालयले आधिकारिक जानकारी नदिएसम्म केही भन्न सकिने अवस्था भएन ।’ विराटनगर भन्सारले भिसिटिएस नगरी आयात गरेको मालवस्तु भित्र्याएको कसुर पुष्टि भएपछि प्रारम्भिक चरणमा महिना दिनको लागि निलम्बन अलीलाई गरिएको जनाएको छ । तर, सोही घटनामा मिलेमतो गर्ने कर्मचारीको सवालमा भने भन्सार प्रशासन मौन रहेको छ ।

राजस्व अनुसन्धान कार्यालयको टोलीले फेला पारेपछि राजस्व छलेको खुलेको यो घटना पहिलो नभएको भन्सारका जानकारहरु बताउँछन् । ‘यसरी राजस्वले सधैं छापा हान्ने हो भने यहाँ हरेक घण्टा यस्ता घटना भएको खुल्छ’, भन्सार स्रोतले भन्यो, ‘कम मूल्यांकन गर्ने र त्यही लटमा भन्सार नगरी सामान आयात गराउने गिरोह नै यहाँ परिचालित छ । जहाँ भन्सार कर्मचारीको मिलेमतो अनिवार्य हुन्छ ।’

राजस्व छल्न व्यापारीसँग मिलेमतो गर्ने भन्सार कर्मचारीहरु अझै पनि सोही काम गरिरहेका छन् । ‘उहाँहरु काममै हुनुहुन्छ’, भन्सार स्रोतले भन्यो ‘चिफ सावले केही एक्सन लिनुभएको छैन ।’ अनियमितताको आरोप सहित अख्तियारमा उजुरी खेपिरहेका भन्सार प्रमुख शिव भण्डारी यसबारे मौन छन् । सञ्चारमाध्यमको सम्पर्कमै आउन नचाहने उनी यो घटना लगत्तै बिदामा बसेका थिए । बिदा सकेर कार्यालयमा हाजिर भइसकेका उनले यसबारे बोल्न चाहेका छैनन् ।

आइतबार, १७ साउन, २०७८, साँझको ०५:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर