पाँचथर । पाँचथरको याङवरक गाउँपालिका र ताप्लेजुङको सिदिङमा गाउँपालिकाको सिमानास्थल तिम्बुपोखरीमा वर्षायामको समयमा पर्यटनको आकर्षण हुने गरेको छ ।
समुद्री सहतबाट ४ हजार ३३८ मिटरको उचाइमा रहेको त्यस ठाउँमा ४ सय मिटर लम्बाइ र २ सय मिटर चौडाइ भएको आकर्षक पोखरी छ ।लेकाली क्षेत्र तथा मानवीय गतिविधि कम हुने यस क्षेत्रमा बर्षाको समयमा फूलहरु फुल्ने र रमणीय वातावरण हुने भएकाले असार, साउन र भदौ महिना यस स्थानमा यात्रा गर्ने प्राकृतिप्रेमी उत्सुक हुने गर्छन् ।
हिमाली क्षेत्रको दृष्य अवलोकन गर्न हुने चट्टानयुक्त पहाडले घेरिएको तिम्बुपोखरीमा शिवपोखरी आसपासमा सूर्यकुण्ड, दूधकुण्ड, हंस पोखरी, मयुरपोखरी सहितका आठवटा पोखरीहरु रहेको बताइन्छ । पाँचथरको सदरमुकाम फिदिमबाट करिब ५ दिनको पैदल यात्राको समय लाग्ने उत्तर पोखरी जान वर्षेनी कठिन भूगोल छिचोलेर जाने मानिसहरुको संख्या उल्लेख्य रहेको पाइन्छ ।
पूर्वको गोसाइकुण्डले परिचित तिम्बुपोखरीबाट निस्किएको मुलपानीबाट त्यहाँ स्थित इवाखोलाको उत्पति भएको छ । हिमाली र उच्च पहाडी क्षेत्रका आकर्षक दृष्य अवलोक गर्न पाइने यस क्षेत्रमा वर्षेनी ४ हजार भन्दा बढी पर्यटक आउने स्थानीय सरोज भण्डारी बताउछन् । भण्डारीका अनुसार कोभिडपछि भने पर्यटनको संख्यामा कमि आएको छ ।
उनका अनुसार यस स्थानबाट कन्चजङ्घा, कुम्भकर्ण हिमाल, भारतको सिक्किम र दार्जिलिङ शहरको समेत दृश्यावलोकन गर्न सकिन्छ ।
पदयात्राका लागि उपयुक्त गन्तव्यका रुपमा रहेको यस क्षेत्रमा जानका लागि पाँचथरको च्याङ्थापुदेखि पदयात्रा सुरु गरी लेकाली बाटो भएर तीन दिनको यात्रा तय गर्नु पर्छ ।
उत्तर स्थानसम्म पुग्ने बाटो कठिन भएपनि पैदल यात्रा रमाइलो र प्राकृतिक हुने भएकाले तिम्बुपोखरी जान असहज नभएका अनुभव उर्मिला खनालको छ । उनका अनुसार पूर्वाधारको विकास नभएकाले गन्तव्यसम्म पुग्न लौरी नै टेकेर हिड्नुपर्ने हुन्छ । तिम्बुपोखरीबाट केही घण्टा पौदलयात्रा गर्न सके भारतको सिक्किम स्थित लक्ष्मीपोखरी बाटो समेत रहेको छ । लेकाली क्षेत्र तथा मानवीय गतिविधि कम हुने यस क्षेत्रमा वर्षाको समयमा फूल फूल्ने र रमणीय वातावरण हुने भएकाले असार, साउन र भदौ महिनामा यस स्थानमा यात्रा गर्ने प्राकृतिप्रेमी उत्सुक हुने गर्छन् ।
सदरमुकामबाट ज्यादै टाढा बिकटिलो क्षेत्र भएकाले यस क्षेत्रमा जाँदा गोठमा स्थानीय परिकार खाएर बास बस्नुपर्ने हुन्छ । जसको प्रबन्ध यात्राकार आफैले गर्नुपर्ने हुन्छ । विशेष गरेर समूहमा युवा पथप्रदर्शक बढी रहेका देखिन्छन् । चौंरीको दूध र घ्यू, छुर्पी खाँदै यहाँका अग्ला पहाड उकालो चढ्ने स्थानीय फूल तथा जडिबुटीसँग फोटो तस्बिर खिचाउन तरुनी तन्देरीहरुको बाक्लो उपस्थिति हुने गरेको छ ।
स्थानीय मञ्जित राईका अनुसार यो क्षेत्र अत्याधिक चिसो हुने भएकाले साउनदेखि असोजसम्म मात्र घुमडुलका लागि ज्यादै अनुकुल हुने गर्छ ।
जाडोयाम सुरु भएपछि यहाँका चांैरी गोठाला तथा गोठ–स्टे संचालकसमेत बेंसीतर्फ झर्ने र गर्र्मी सुरु भएसी मात्र उकालो जाने गर्छन् ।
तिम्बुपोखरी संरक्षण समिति संयोजक भीम भण्डारीका अनुसार जैविक विविधिताको विशाल भण्डार रहेको यस क्षेत्रमा क्यान्जो, चिमल, सुनखरी, माइकोपिला, ठूलो ओखती, यार्सागुम्बा, पाँचऔंले, कुड्की, पाखनवेद, बुढोओखती, चिराइतो, विखुवा, सुनपाती, सिक्पा, भैरुङपाती, जस्ता बहुमुल्य जडिबुटी तथा अन्य बिषालु जडिबुटीसमेत पाइन्छन् ।
भण्डारीका अनुसार यस क्षेत्रलाई पूर्वाधारको हिसाबमा सिक्किम सरकारले नेपालको सीमा चिवाभञ्याङबाट सो क्षेत्रमा जाने सडक जोड्ने काम समेत हुने तयारीमा रहेको छ । यसरी बहुमुल्य वनस्पती, वन्यजन्तु जडिबुटीले सम्पन्न तिम्बुपोखरीलाई पर्यटन विकासको राम्रो आधार मान्न सकिन्छ । तिम्बुपोखरीमा तीन पटक पुग्नु पर्ने धार्मिक मान्यता छ । यस क्षेत्रमा पछिल्लो समय धेरै गोरेटो बाटहरुको निर्माण गरिएको हुँदा यात्रा गर्ने सहज भएको याङ्वरक गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरे बताउँछन् ।
उनका अनुसार पोखरीको आसपासमा भक्तजनले चढाएको ठूलो परिमाणमा नोटका सिक्काहरु देख्न सकिन्छ हाल यसको व्यवस्थापन र पर्यटन प्रवद्र्धन गर्ने हाल तिम्बुपोखरी फालोलुङ लामपोखरी पर्यटन सरोकार समाज र कञ्चनजंघा संरक्षण समूहले जिम्मा लिएका छन् । पछिल्लो समय विकासका लागि आवश्यक पूर्वाधारको निर्माण गर्नका लागि स्थानीय निकायहरु लागि परेको घिमिरे बताउँछन् ।
यस्ता प्राकृतिक सुन्दरताले भरिपुर्ण तथा अत्याधिक जडिबुटीले युक्त भयेको महत्त्वपूर्ण ठाउँ को उचित ब्यावस्थापन स्थानीय तवरबाट हुनु जरुरी छ र राज्यको पनि उचित ध्यानाकर्षण होस।यस्ता ठाँउ नेपालको लागि आम्दानीको श्रोत बन्न सक्छ।