लीलावल्लभ घिमिरे
नेकपा एमालेमा देखिएको विवादको अन्त्य कसरी हुन्छ भन्ने अनुमान गर्न गाह्रो छ । यो पार्टीबाट माधवकुमार नेपाल समूहको बहिर्गमन या एकता कुन रुपमा हुन्छ भन्ने चासो सबैमा छ । तर, एमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालका पछिल्ला अभिव्यक्तिलाई हेर्ने हो भने यो पार्टीमा एकता अब सम्भव छैन भन्ने अनुमान गर्न सकिन्छ ।
नेकपा रहुञ्जेल दुईलाइन संर्घषलाई स्वाभाविक रुपमा लिनुपर्छ । नेकपा भंग भएर एमाले र माओवादी पार्टी व्युतिएसँगै नेपाल समूह दोधारमा परेको हो । पार्टीभित्रको आन्तरिक कलहका कारण ओलीको नेतृत्वमा रहेको सरकारसँगको लामो समयसम्म चलेको नेपालको जुहारी पछिल्लो घटनाक्रमसम्म स्वाभाविक थियो । ओलीले पहिलो पटक संसद भंग गर्दा नेपाली कांग्रेस र माओवादीको एजेण्डामा उनी अडिक रहे । हुन त संसद पुनःर्थापनाको एजेण्डा माधवको पनि हो ।
दोस्रो पटक ओलीले गरेको संसद भंग गरेपछि पनि नेपाल अडानमा उभिए । जब सर्वोच्च अदालतको फैसला आयो र कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बन्यो, त्यसपछि एमालेको विवाद अझ चरम हुनपुग्यो । सदनमा देउवाले विश्वासको मत पाउन सक्दैनन् भन्ने धेरैको अनुमान थियो । तर, नाटकीय ढंगले देउवाले सदनमा विश्वासको मत लिए । त्यसबेला नेपालले खुलेरै आफ्नो समूह मात्र हैन, ओलीका मान्छेसमेत देउवाको पक्षमा उभ्याईदिए । बरु नेपाल समूहकै १० जना मतदान गरेनन् ।
लामो समयसम्म आफैंले नेतृत्व गरेको पार्टीका अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन भूमिका खेल्दै कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन मतदान गर्ने एमालेको नेपाल समूह एमाले हो कि हैन भन्ने प्रश्नको उत्तर दिन कठिन छ । परिस्थिती यस्तो छ, देउवालाई मतदान गरेकै आधारमा नेपाल समूहलाई कारवाही गरेर विदा गर्न पनि ओली सक्दैनन् । न त स्वागत गरेर घरमा ल्याउने अवस्था छ ।
अर्कोतिर नेपाल ४० प्रतिशत पु¥याएर अर्को पार्टी स्थापन गर्नसक्ने अवस्थामा पनि छैनन् । ओली नेपाललाई कारवाही गरेर निकाल्नसक्ने अवस्थामा पनि छैनन् । संगठनमा निकै विश्वास राख्ने एमाले यतिबेला ठप्प छ । अब नेपाल समूहले के गर्लान् भन्ने अनुमान धेरैले गर्ने गर्छन् । तर, अहिले राजनीतिक ज्योतीषीहरुले जे अनुमान गर्छन्, त्यसको विपरित परिणाम आइरहेको अवस्था छ । कहीले माधव समूह देउवा सरकारमा जाँदैछ भन्ने हल्ला आउँछ, कहिले अर्को हल्ला चल्छ । अहिलकै अवस्थामा देउवा सरकारमा कुन ढोकाबाट छिर्ने भन्ने प्रश्न छ ।
अब माधव समूहको राजनीतिक यात्रा कसरी अघि बढ्छ भन्ने कुराको छिनोफानो हुन अझै केही समय पर्खनुपर्छ । एमालेका ओलीसहितका केही नेताबाहेक सबै एक भएको एमाले हेर्न चाहन्छन् । तर, ओली अहिले पनि नेपालमाथि जाइलाग्न छोडेका छैनन् । पछिल्लो समयमा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताए । आफू नेतृत्वको सरकार ढाल्द्यनेलाई पार्टीमा ठाउँ नरहेको उनको भनाइ छ । ओलीले माधव नेपाल जस्ता आन्दोलन विरोधीहरूलाई कुनै ठाउँ नभएको प्रष्ट पारेका छन् । पार्टीमा खुट्टा तान्नेहरूलाई बाहिर पठाइने उनको भनाइ छ । आगामी निर्वाचनमा खुट्टा तान्ने र पार्टीको विपक्षमा लाग्ने नेतालाई टिकट नदिइने समेत उनले भन्न भ्याएका छन् । एमालेभित्रका गद्दारहरुले सरकार ढालेको ओलीले आरोप छ ।
केही दिनअघि ओलीले पार्टीमा बाटो बिराएका नेताहरूले गल्ती स्वीकारेर फर्किए ठाउँ रहेको बताएका थिए । ‘साथीहरू गल्ती स्वीकारेर फर्कनुहुन्छ भने आउनुस्, यो पार्टी हामी सबै मिलेर बनाएका हौं गल्ती भइहाल्यो भने पनि त्यसलाई सच्याउला ।’ त्यसपछि उनले माधबसहित सबैलाई आममाफी दिएको घोषणा गरे ।
ओलीको यो अभिव्यक्तिप्रति माधवको करो प्रतिक्रिया आयो । महाराजाले क्षमादान दिने अरे भन्दै नेपालले ओलीलाई व्यङ्ग्य गरेका थिए । ओली र नेपालका अभिव्यक्तिलाई हेर्ने हो भने एमालेभित्रको विवाद दुई नेताबीचको जुंगाको लडाइजस्तो मात्र लाग्छ । तर, त्यसभित्र कसले, केका लागि र कसरी खेलिरहेको छ भन्ने अनुमान गर्न कठिन छ । एमालेको पछिल्लो राजनीतिलाई हेर्ने हो भने कहिले लाग्छ, दक्षिणी छिमेकीले ओलीलाई उचालिरहेको छ । फेरि परिदृष्यहरुलाई मूल्याङ्कन गर्ने हो भने माधवलाई पनि त उचालेको हुनसक्छ ? यकिन गर्न कठिन छ । तर, दुबै नेताले के चाही बुझ्न आवश्यक छ भने अहिले पनि एमाले फुटाउने खेल सकिएको छैन ।
दश बुँदे सहमतिको प्रस्ताव पनि एमालेको एकताको आधार बन्न सकेन । एमालेमा फेरि बराबरी अधिकारसहितको दुई अध्यक्ष बनाएर विवाद टुंग्याउने कोसिस पनि नभएको हैन । तर, यसले पनि मुर्त रुप पाउन सकेको छैन । पार्टीलाई एक बनाउन दोस्रो तहका नेताहरु लागिरहेका छन् । तर, अहिलेसम्म ओली र नेपालबीच ‘वान अन वान’ संवाद हुन सकेको छैन ।
एमाले एक हुने आधार अहिलेसम्म बन्न सकेको छैन । माधव समूहलाई एमालेबाट बाहिर जाँदा धेरै घाटा त लाग्ला तर ओली समूहले त्योभन्दा ठूलो क्षति ब्यहोर्नेछ । त्यसैले विनासकाले विपरित बुद्धि नगरी दुबै नेताले जुंगा काटेर लडाइ अन्त्यको घोषणा गर्नु पार्टी, जनता र देशका लागि भलो काम हुनेछ ।