विराटनगर । प्रदेश सरकारलाई हस्तान्तरण गरेको २७ महिना वितेपनि मोरङको कटहरी फलफूल तथा थोक बजार अझै संचालनमा आउन सकेको छैन । २०७५ चैतमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले तरकारी बजारको उद्घाटन गरि प्रदेश १ सरकारलाई हस्तान्तरण गरेका थिए ।
अहिले उक्त तरकारी बजार सञ्चालनमा आउनु त परै जाओस्, झार जंगलले ढाकेको छ । प्रदेश १ सरकारले बजार सञ्चालन गर्न नसकेपछि सहकारीलाई सञ्चालनको जिम्मा दिने योजना बनाएको थियो । त्यसको लागि कटहरी फलफूल तथा तरकारी थोक बजार सञ्चालन नियमावली बनाएर तरकारी बजार विशिष्टीकृत सहकारी संघलाई बजार सञ्चालनको जिम्मा दिने तयारी गरियो ।
सरकारको नियमावली नबन्दै विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघ लि. कटहरी मोरङ दर्ता भयो । त्यसपछि नियमावली अनुसार २०७७ फागुन १ गतेदेखि लागू हुनेगरी ५ वर्षका लागि सहकारीलाई बजार सञ्चालन गर्नदिने सम्झौता छ । सम्झौता अनुसार १ वर्ष सहकारीले निःशुल्क बजार सञ्चालन गर्नेछ भने दोस्रो वर्षदेखि वार्षिक १९ लाख ३० हजार रुपैयाँ सरकारलाई बुझाउनुपर्नेछ ।
सम्झौता भइसकेपछि सहकारी संघले बजार सञ्चालनको पहल गरेको छैन । उल्टै भव्य संरचना रहेको तरकारी बजार सञ्चालनको लागि पूर्वाधार अपुग भएको भन्दै सरकारसँथ थप लाखौं बजेट माग गरेको छ । बजार विकास समितिले पनि सहकारी संघको माग अनुसार थोकबजार स्टलको मर्मत कार्यको लागि ४१ लाख २२ हजार रुपैयाँको प्राविधिक लागत अनुमान गरी मर्मत गर्नुपर्ने निर्णय गरेको बुझिएको छ ।
प्राविधिक लागत स्टिमेटबिनै रकम माग भएपछि मन्त्रालयले उक्त रकम निकासा भने गरेको छैन । समितिले बजार सञ्चालनका लागि आवश्यक पर्ने सञ्चालन खर्चको रकम बजेट तयार गरी समितिका सचिवमार्फत मन्त्रालयमा माग गर्ने निर्णय गरेको छ ।
सहकारी संघका सचिव राकेश दाहालले पूर्वाधार निर्माणको काम बाँकी रहेको कारण बजार सञ्चालन गर्न नसकेको बताए । ‘पूर्वाधार निर्माको काम बाँकी छ, बाहिर परेको पानी सिधै बजारभित्र जान्छ,’ उनले भने, ‘हामीले आलु, प्याज लगायतको भण्डारणको लागि कोल्डस्टोर निर्माणको माग गरेका छौं ।’
पूर्वाधार निर्माण नभएसम्म बजार लगाउन नसकिने उनले बताए । ‘काठमाडौंमा बस्नेहरूले डिजाइन गरेर बजार निर्माण गरे, त्यसै कारण अहिले बजार लगाइहाल्ने अवस्था छैन,’ उनले भने । तर, साउन महिनाभित्रमा बजार संचालन सुरु गरिने उनले बताएका छन् ।
विराटनगरको गुद्री बजारलाई स्थानान्तरण गरी व्यवस्थित गर्ने उद्देश्यले संघीय सरकारअन्तर्गतको व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले तरकारी बजार निर्माण गरेको थियो । कटहरी–१ स्थित जमटोकीमा १५ करोड ४९ लाख रुपैयाँ खर्च गरेर बजार निर्माण भएको थियो । तर, गुद्री बजारका व्यापारी पायक नपर्ने भन्दै ५ बिगाहा २ धुर क्षेत्रफलमा फैलिएको बजारमा जान मानेनन् ।
ठूलो रकम खर्चेर बनाएको संरचनामा प्रदेश सरकारले थप लगानी नगरे बजार संचालन गर्नै नसक्ने सहकारी संघको कुराले आशंका बढाएको छ । बजार सञ्चालन नहुँदा सरकारको करोडौं लगानी खेर गइरहेको छ ।