इटहरी । वातारण संरक्षण तथा हरियाली बढाउने उद्देश्यले सवडिभिजन वन सलकपुर मोरङले विभिन्न जातका विरुवाहरु उत्पादन गरी किसानलाई वितरण गर्दै आएको छ ।
प्रदेश सरकारको आर्थिक सहयोगमा सवडिभिजन वन कार्यालय सलकपुरले विभिन्न २५ जातका विरुवाहरु उत्पादन गरि वितरण गर्दै आएको जनाएको छ ।
वन क्षेत्र तथा निजी स्तरमा माग अनुसारका काठजन्य, फलफूल र फूलका जातका विरुवाहरुको उत्पादन गरी निःशुल्क रुपमा वितरण गर्दै आएको सवडिभिजन वन कार्यालयका प्रमुख लालबहादुर माझीले जानकारी दिनुभयो । कार्यालयले दुई वर्षमा दुई लाख विरुवा तयार गरी वितरण गरकोमा यो वर्ष पनि २ लाख वितरण गर्ने जनाएको छ ।
वन कार्यालयको नर्सरीमा सिसौं, सखुवा, कटहर, करम, धुपीलगायतका विरुवाहरु तयार पारि सवडिभिजन वन नर्सरी सलकपुरले वितरण गर्दै आएको हो । नर्सरीका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । त्यसबाट हरेक वर्ष २ लाख विरुवा उत्पादन गर्ने गरिएको छ ।