विराटनगर । प्राविधिक धारको शिक्षाको आवश्यकता महशुस गर्दै जहदा गाउँपालिका वडा नं. ४ को कार्यालयले उच्च शिक्षा अध्ययनरत छात्र छात्राहरुलाई ल्यापटप वितरण गरेको छ ।
जहदास्थित शैलजा आर्चाय स्मृति पोलिटेक्निकमा मङ्गलबार एक औपचारिक कार्यक्रमको आयोजना गरि कार्यालयले आई.टी र बि.आई.टी अध्ययनरत ५ जना छात्र–छात्राहरुलाई ल्यापटप वितरण गरेको हो । आई.टी अध्ययनरत पञ्कज सिंह, रबिना कुमारी मुखिया र रिना मण्डल तथा बि.आई.टी अध्ययनरत मनिषा बास्के र मुना मण्डलले ल्यापटप पाएका छन् । चालु आर्थिक वर्षको निति तथा कार्यक्रममा स्वीकृत योजना बमोजिम विद्यार्थीहरुलाई ल्यापटप वितरण गरिएको वडा नं. ४ का वडाध्यक्ष जयनरथ गिरीले बताए । उनले ल्यापटप वितरणका लागि वडास्तरीय योजना अन्तर्गत २ लाख विनियोजन गरिएको जानकारी दिए ।
‘प्राविधिक शिक्षाको महत्वलाई आत्मसात गर्दै चालु आर्थिक बर्षको बजेटमा ल्यापटप वितरणका लागी हामीले १ लाख छुट्याएका थियौं । तर विद्यार्थीहरुको अत्याधिक मागका कारण त्यो रकम अपुग हुने भएपछि संशोधन गरेर हामीले १ लाख थपेका थियौं,’ उनले भने, ‘४ जनालाई ल्यापटप वितरण गर्ने योजना थियो । यद्यपि एकजना विद्यार्थी थपिएकोमा उनलाई आगामी आर्थिक बर्षको बजेटबाट ल्यापटप दिईनेछ ।’
कार्यक्रममा गरिब तथा अति विपन्न वर्गका ४४ जना जेहेन्दार विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री तथा पोशाक समेत वितरण गरिएको थियो । वडा कार्यालयको कुल १ लाखको बजेटबाट विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरिएको जनाईएको छ । शैक्षिक सामाग्री र विद्यालय पोशाकको अभावमा कुनैपनि बालबालिकाहरु शिक्षाबाट बञ्चित नहोउन भन्ने उद्देश्यका साथ उक्त सामाग्रीहरु वितरण गरिएको वडा नं. २ का वडाध्यक्ष राजेश श्रेष्ठले बताए । उनले अब परम्परागत शिक्षण सिकाई पद्धतिलाई अद्यावधिक गर्दै छोरीहरुलाई पनि उच्च शिक्षामा प्रोत्साहनको आवश्यकता रहेको जिकिर गरे ।
कार्यक्रममा बोल्नुहुँदै जहदा गाउँपालिकाकी कार्यपालिका सदस्य विनिता सिंहले गरिब तथा विपन्न वर्गका बालबालिकाहरुले पनि सम्पन्न परिवारका बालबालिकाहरु झैं गुणस्तरीय शिक्षा पाउनुपर्ने बिषयमा स्थानीय सरकारको बिशेष जोड रहेको जानकारी दिईन । उनीले वर्तमान परिस्थितिमा शिक्षा क्षेत्रमा लगानीको आवश्यकता रहेको बताईन ।
कार्यक्रममा भने जहदास्थित शैलजा आर्चाय स्मृति पोलिटेक्निक प्रधानाध्यापक सन्त बहादुर अधिकारी, जनता मा. वि का प्रधानाध्यापक गंगाप्रसाद मण्डल र जीवन विकास समाजका संस्थापक अध्यक्ष योगेन्द्र मण्डल लगायतका व्यक्तिहरु उपस्थित थिए ।