समयको ऐना र नेकपा

मानिसको सम्पूर्ण राजनीतिक इतिहासको कालखण्डहरुमा स्थापित ‘पाठ’ के हो भने कुनैपनि शासन र सत्ता चाहे अधिनायकवादी होस् वा लोकतन्त्रवादी होस् वा गणतन्त्रवादी नै किन नहोस्, स्थीर र विकल्परहित हुन सक्दैन । किनभने परिवर्तन वा रुपान्तरण वा अस्थिरता शासन सत्ताभित्र नै अनिवार्य घटक वा अन्तर्यको रुपमा रहने गर्दछ । यस अर्थमा कुनै पनि शासन र सत्ताको अविछिन्न श्रृङ्खला निर्माण नभएर बरु विछिन्न श्रृङ्खलाहरुको गठजोडबाट अविछिन्नता सृजना भएको पाइन्छ ।

यस अर्थमा शासन र सत्ताको विकल्प शासन र सत्ताभित्र नै आन्तरिक रुपमा सुसुप्त अवस्थामा रहेको हुन्छ भने बाह्य रुपमा पनि मुलुकभित्रका नागरिकहरु वा जनतामा पाइने गतिशिल उर्जामा अन्तरनिहित रहिरहेको हुन्छ । वास्तवमा स्थिरता जडताको सूचक मात्र हुने गर्दछ । शासन र सत्ता पनि स्थिर हुने वस्तु हुँदा जड वस्तुमा परिवर्तित हुन पुग्दछ र यस्तो अवस्थामा परिवर्तन, आन्दोलन, क्रान्ति, विद्रोह, युद्ध जस्ता शब्दावलीहरु राजनीतिक क्षेत्रमा राजनीतिक शब्दावलीका रुपमा देखा नै पर्ने थिएनन् । यथार्थतामा के हो भने बाध्य रुपमा जनता वा नागरिकहरुमा नीहित र आन्तरिक रुपमा शासन र सत्ताकै अन्तर्यको रुपमा निहित गतिशिल उर्जाद्वारा रुपान्तरणलाई गति प्रदान गर्न जुन शिलशिला कायम हुनजान्छ, त्यसलाई नै विरोध, आलोचना र अवरोध स्वीकारेर शासन र सत्ताको अविछिन्न श्रृङ्खलाका समर्थकहरु त्यस प्रकारका गतिविधिहरुलाई अवाञ्छनीय, देशद्रोह, राष्ट्रद्रोह र अराष्ट्रिय अनुचित र अवैधानिक गतिविधि हुन भनेर परिचित गराउने गर्दछन् । उनीहरुले त्यसबेला एउटा कुरा के बुझिराखेको हुदैन भने शासन र सत्ताको अविछिन्नताले वा सदा सर्वदा निरन्तरताले खास व्यक्ति, बथान र उनीहरुको आसेपासेहरुको हालीमुहाली तथा अधिनायक वा अधिनायकहरुको सृजना हुने सम्भावना का सजिला अवसरहरु एकपछि अर्को गरेर तम्तैयार हुन पुग्दछन् ।

फलस्वरुप शासन र सत्ता अधम र अनाचारीहरुको ब्यक्तिगत स्वार्थ साधनको साधन वा माध्यममा परिणत हुनपुग्दछ । यसै वास्तविकतालाई मध्यनजर शासन सत्ताभित्रको र जनताभित्र निहित गतिशील उर्जा स्वयम् समयको माग अनुरुप अर्को विकल्पको खोजीका निमित्त गतिशिल र क्रियाशिल हुने शिलशिला अघि बढ्दछ । परिणामस्वरुप शासन र सत्ताका नायकहरुले व्यक्तिगत रुपमा वा सामूहिक रुपमा सम्पन्न गरेका महान् कार्य, दिएका सर्वोत्तम देन र मसिहाको रुपमा गरेको मार्गदर्शनका निमित्त आभार व्यक्तता, महिमा गायन एवम् कृतज्ञता ज्ञापन स्वभाविक रुपमा गरेता पनि त्यस्तो महान् देन, मार्ग दर्शन र कार्यहरुको निमित्त चरण कमलमा साष्टाङ्ग (आठै अंगबाट) ढोग टक्रयाउनु वा लम्पसार पर्नु भनेको मानवीय चेतना स्वाभिमान र स्वतन्त्रतालाई कुन्ठित पार्नु हुनेछ । यो सत्य बुझेर तथा त्यस्ता कुराको परिणाम प्रत्युत्पादक हुनेछ भन्ने बुझेर नयाँ विकल्पको खोजी तत्परताका साथ गरिन्छ ।

राजनीतिक इतिहासको पाठ पनि र नियम पनि यही नै हो । बाबा अम्बेदकर साहेवको शब्द पैचो लिने हो भने जुनकसुकै धर्ममा गरिने ईश्वरभक्तिले भक्तिकर्तालाई स्वर्ग वा मुक्ति दिन सक्ला तर राजनीतिक क्षेत्रमा कुनै महान् र गौरवशालीको स्तुती र प्रार्थनाले मुलुक र समाजलाई ब्यवस्थित अनाचार मात्रै डो¥याउने गर्दछ । उपरोक्त सैद्धान्तिक र वैचारिक सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वर्तमान सत्ता र सरकारले हेक्का राख्नुपर्ने तथ्य भनेको इतिहासको उक्त पाठरुपी समयको ऐना हेरेर वर्तमान समयलाई पार्टीको सामथ्र्यको रुपमा रुपान्तरित गरेर इतिहासको मार्ग दर्शन अनुरुप सत्ता र सरकारको अविछिन्नताका निमित्त विछिन्नता रुपी श्रृङ्खलाहरुलाई वा क्रमभंगताहरु आपस्तमा गुथ्ने कार्य सम्पन्न गर्न अथवा आफ्नो दलको पक्षमा अविछिन्नता कायम राख्न नेकपाभित्रै सुसुप्त अवस्थामा रहेको गतिशील उर्जालाई गति प्रदान गर्दै आफूभित्रबाटै नयाँ विकल्पको प्रसंशात्मक खोजको माध्यमबाट गर्नसक्नु अनिवार्य देखिन्छ । यस्तो हुनसक्दा मात्र बाध्य रुपमा वा नागरिकहरुमा र जनताहरुमा निहित गतिशील उर्जाले वर्तमान नेकपाको सत्ता र सरकारसित मेल नखाने विकल्प तुहिन पुग्नेछ ।

नत्र नागरिक र जनतामा निहित गतिशील उर्जाले अर्कै विकल्प खोज्न समर्थ भयो भने नेकपाको स्थिरता वा सत्ता र सरकार मृतसम अवस्थामा पुग्न बेर लाग्नेछैन । किनकी यस्तो विकल्प स्थापित हुनपुग्यो भने भएको प्रथम र मुख्य उद्देश्य नै नेकपालाई पूर्णरुपमा भष्मिभुत बनाएर पुनरागमन हुन नसक्ने अवस्थामा पु¥याउनु हुनेछ । नेकपाका अगाडि र पछाडीका दोषहरु र गल्तीहरुलाई फेहरिस्तको रुपमा जनसमक्ष बिस्कुन जस्तै फिजाएर सामाजिक न्याय, सामाजिक सुरक्षा र विधिको शासनका नामबाट भए गरेका अनियमितता, विचौलिया गरि कार्टेलिङ, भ्रष्टाचार, भ्रष्टाचारहरुको डिंगुर, मनमौजी रुपमा खडा गरेर ‘दाईचरो’ चलाइनेछ । त्यसैले प्रतिष्पर्धी राजनीतिमा धेरैभन्दा धेरै जननिष्ठा कमाउँदै आफू विरोधी गतिशील उर्जाले आफू विपरितको बिकल्प खोज्नु अगावै समयभित्रै र समय रहँदै आफूभित्रकै गतिशिल उर्जाबाट नयाँ विकल्पको खोजी गरेर आफ्नै सत्ता र सरकारलाई विछिन्नताको सिक्रीहरुबाट जोडेर अविछिन्न बनाउनु अनिवार्य र स्वभाविक भइसकेको कुरा बुझ्न आवश्यक छ ।

वर्तमान समयमा नेकपाका प्रमुख प्रतिपक्षका रुपमा रहेका राजनीतिक दलहरु संरचनात्मक संगठनात्मक अनुशासनात्मक विभेदलगायत गुटबन्दी र टुटफुटको अवस्था समेतले नेकपालाई समयको उपयोगका लागि मौका प्रदान गरेको छ । उनीहरुको अवस्था नेकपाले एकताबद्ध रुपमा खोजी गर्ने विकल्पको प्रतिष्पर्धा गर्न सक्नेछैन । आफ्ना प्रतिष्पर्धी दलहरुको रुग्ण अवस्थाको फाइदा उठाउँदै नेकपाले चार ‘ट’ हरु (झुट, फुट, लुट र ढाटछल) लाई त्यागेर चार ‘ठ’ (वस्तुस्थितिको ठोस मूल्याङ्कन, ठोस विश्लेषण, ठोस सश्लेषण र ठोस कार्यान्वयन) हरु अंगीकार गर्दै सत्ता र शक्तिको अविछिन्नताका निमित्त आफैंभित्रबाट नयाँ विकल्प खोज्न सक्नुपर्ने अनिवार्य अवस्था उपस्थित हुन पुगेको छ ।

Supported only between 1944-2022