राजनीति गर्न खोजेको भनेपछि अनेरास्ववियु र मेलम्चिका बाढी पीडितबीच झडप

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा बाढी प्रभावितका लागि राहत वितरण गर्न पुगेको अनेरास्ववियुको टोलीले राजनीति गर्न खोजेको भन्दै स्थानीयले प्रतिकार गरेका छन् ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पीडितहरुमाथि राजनीति गर्न खोजेको भन्दै स्थानीयले ब्यानर हटाउन खोजेका थिए । त्यसपछि झडप भएको स्थानीयले बताएका छन् । स्थानीयले अनेरास्ववियुको ब्यानर च्यातिदिएका छन् ।

मेलम्चीको इन्द्रेश्वरी माविमा बसिरहेका बाढी प्रभावितका लागि खाद्यान्न लगायतका राहत सामग्री वितरणका क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको छ ।

अनेरास्ववियुको ब्यानर देखेपछि स्थानीयले यो राजनीति गर्ने ठाउँ हैन भन्दै नाराबाजी समेत गरेका थिए । त्यसपछि अनेरास्ववियूका कार्यकर्ता र स्थानीयबीच केही समय घम्साघम्सी परेको थियो । गत मंगलबार मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजारमा दर्जन बढी घर डुबानमा परेपछि प्रभावितहरु इन्द्रेश्वरी माविमा आश्रय लिएर बसेका छन् ।

बिहिबार, ०३ असार, २०७८, साँझको ०७:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर