कांग्रेसबाट पहिलो मुख्यमन्त्री बने कृष्णचन्द्र नेपाली पोखरेल

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । पोखरेलले प्रदेश प्रमुखले आव्हान गरे अनुसार विपक्षी गठबन्धनको तर्फबाट ३१ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

दुई दिन अगाडि विश्वासको मत लिन नसकी पदमुक्त भएका नेकपा एमाले संसदीय दलका नेता एवम् कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

गुरुङको मुख्यमन्त्री दाबीप्रति एमालेमै असन्तुष्टि थियो । माधवकुमार नेपाल समूहका इन्द्रलाल सापकोटासँगै केपी शर्मा ओली पक्षका महेन्द्र थकाली र रोशन थाहा मगरले पनि गुरुङको दाबीमा असन्तुष्टि जनाएका थिए ।

त्यसलगतै प्रदेश प्रमुख पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । पोखरेलले अब संविधानको धारा १६८ को उपधारा ६ बमोजिम ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।

शनिबार, २९ जेठ, २०७८, साँझको ०६:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर