विराटनगर । विराटनगरमा जारी २१ वर्षमुनिको अन्तरकलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा जनप्रिय माध्यमिक विद्यालय विजयी भएको छ ।
विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा दुहबीको महेन्द्र मेमोरियल मावि र विराटनगरको कोसी मल्टिपल कलेज दुवब बराबरी गोलमा खेल्दै अंक बाँडेका छन् भने रंगेलीको जनप्रिय माविले विराटनगरको कान्तिपुर कलेजलाई पराजित गरेको छ ।
प्रतियोगिताको पहिलो खेलमा दुहबीको महेन्द्र मेमोरियल मावि र विराटनगरको कोसी मल्टिपल कलेज दुवै १–१ गोलको बराबरीमा खेल्दै अंक बाँडेका छन् । खेलको १५ औं मिनेटमा महेन्द्र मेमोरियलका अभिषेक कालिकोटेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४० औं मिनेटमा कोसीका कासिम राईले गोल गर्दै खेललाई बराबरी पारेका थिए । खेलको म्यान अफ द म्याच महेन्द्र मेमोरियलका अभिषेक कालिकोटे भए । उनले नगद ३१ सय रुपैयाँ प्राप्त गरे ।
दोस्रो खेलमा रंगेलीको जनप्रिय माविले विराटनगरको कान्तिपुर कलेजलाई २–१ गोल अन्तरमा पराजित गरेको छ । खेलको छैटौं मिनेटमा कान्तिपुरका सन्तोष श्रेष्ठले गोल गर्दै अग्रता दिलाएका थिए । २० औं मिनेटमा जनप्रियका मताल हेमरमले गोल गर्दै खेल बराबरी पारे । ४७ औं मिनेटमा जनप्रियका मदन राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको म्यान अफ द म्याच जनप्रियका सुशान्त खवास भए । उनले ३१ सय रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको समूह ‘ए’ तर्फ ग्रिनल्याण्डको ४, निहारिकाको ४, रेडस्टारको ३ अंक रहेको छ भने हिमाल दर्शन कलेजले कुनै अंक जोड्न सकेको छैन । समूह ‘बी’ तर्फ महेन्द्र मेमोरियलको ४, कान्तिपुरको ३, जनप्रियको ३ र कोसी मल्टिपलको १ अंक रहेको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँका साथ १ वर्षको ५ लाख रुपैयाँको बिमा, उत्कृष्ट गोलरक्षकले नगद १० का साथ २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा, सर्वाधिक गोलकर्ताले नगद १० का साथ २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा प्राप्त गर्नेछन् ।
त्यस्तै उत्कृष्ट डिफेन्स र मिडफिल्डले जनही नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा सानिमा इन्स्योरेन्स, न्यूरो अस्पताल र बैंकतर्फ सप्तकोसी बैंकको सहयोग रहेको छ ।
प्रतियोगिता अन्तर्गत आइतबारको पहिलो खेल विराटनगरको निहारिका कलेज र पथरीको रेडस्टार मावि तथा दोस्रो खेल विराटनगरको हिमालाय दर्शन कलेज र विराटनगरकै ग्रिनल्याण्ड कलेजबीच हुने आयोजकले जनाएको छ ।