विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गरेकी छिन् ।
संघीय सरकारले तुरुन्तै खोपको प्रवन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरिदको अनुमति दिन उनले आग्रह गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले सो कुरा बताएको उनको निजी सचिवालयले जनाएको छ ।
उनले कोरोना संक्रमण नियन्त्रणका लागि खोप नै महत्वपूर्ण रहेकाले संघीय सरकारलाई चाँडोभन्दा चाँडो प्रबन्ध गर्न आग्रह गरिन् । ‘केन्द्रले प्रवन्ध गर्न नसक्ने भए प्रदेशलाई खरिदको अनुमति होस्,’ उनले भनिन् ।
कोरोनाको तेस्रो लहर सुरु हुने विज्ञहरुले बताईरहेकाले आवश्यक तयारी गर्न पनि उनले जोड दिइन् । कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकारको ध्यान केन्द्रित रहेको बताउँदै उनले प्रदेशका दुर्गम–दुर्गम स्थानमा कोरोना फैलिदै गएकाले यसको नियन्त्रण आवश्यक रहेको पनि संघीय सरकारलाई जानकारी दिइन् ।
सरकारी अस्पतालमा जनशक्तिको अभाव देखिएकाले परिपूर्तिमा पनि स्वास्थ्य मन्त्रालयको ध्यान जान आवश्यक रहेको बताउँदै मन्त्री राईले प्रदेश १ का सबै जिल्ला अस्पताललाई व्यवस्थित बनाउने अभियानमा आफूहरु रहेको जानकारी गराइन् । ‘प्रत्येक जिल्ला अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउने गरि अघि बढेका छौं,’ उनले भनिन् ।
भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ, सात वटै प्रदेशका सामाजिक विकास मन्त्रीहरु, मन्त्रालयका सचिवलगायतको सहभागिता थियो ।