छोरीबुहारीलाई निःशुल्क शिक्षा

विर्तामोड । दक्षिणी झापाको कचनकवल गाउँपालिकाका छोरी–बुहारीले स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर पाएका छन् ।

गाउँपालिकाले निःशुल्क शिक्षा अभियानअन्तर्गत गाउँपालिका क्षेत्रका सबै छोरीबुहारीलाई स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर उपलब्ध गराएको हो ।

‘शिक्षा विकासको मेरुदण्ड हो’, गाउँपालिका अध्यक्ष अञ्जार आलमले भन्नुभयो, ‘महिलालाई सक्षम एवं आत्मनिर्भर बनाउने उद्देश्यले स्नातकसम्मको निःशुल्क अध्ययनको व्यवस्था गरेका हौँ ।’ गाउँपालिकाले यसअघि नै कक्षा–१२ सम्म सबैलाई निःशुल्क शिक्षाको व्यवस्था गरिसकेको छ । आर्थिक अवस्था कमजोर भएकै कारण कोही शिक्षाको अवसरबाट वञ्चित हुनु नपरोस् भनेर गाउँपालिकाले निःशुल्क शिक्षा अभियान सञ्चालन गरेको अध्यक्ष आलम बताउनुहुन्छ ।

सम्पन्न र हुनेखानेका छोराछोरी अन्यत्रै गएर पनि पढिरहेकोले आर्थिक अवस्था कमजोर भएरै शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न गाउँपालिका लागिपरेको आलमले बताउनुभयो । गाउँपालिकाले २०० भन्दा बढी छोरीबुहारीलाई मासिक ८५० रुपैयाँका दरले अध्ययन खर्च दिने गरेको छ ।

महिला सशक्तीकरणमा विशेष योजना बनाएर काम गरिरहेको गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशीले जानकारी दिनुभयो । कचनकलवको ७ वडामा रहेका ८ विद्यालयमा नमूना बाल कक्षा (स्मार्ट कक्षा) सञ्चालन भइरहेको छ । सांसद विकास कोष र गाउँपालिकाको लगानीमा ती विद्यालयमा नमूना बालकक्षा सञ्चालन भएको हो ।

कचलकवलमा सामुदायिकतर्फ ७ मावि, ७ आधारभूत र १३ प्राविमा ७ हजार ३९० विद्यार्थी अध्ययनरत छन् । त्यस्तै, १३ निजी विद्यालयमा ३ हजार विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकामा २ गुरुकुल, १० मदरसा, २ सामुदायिक सिकाइ केन्द्रसमेत छन् ।

शिक्षालाई प्रविधियुक्त बनाउन गाउँपालिकाले सबै माविलाई २०÷२० थान कम्प्युटर र शिक्षकको व्यवस्था गरेको छ । गाउँपालिकाको निजी स्रोतमा १४ कम्प्युटर शिक्षकले पढाउँदै आएका छन् । यस्तै, विद्यार्थीलाई कृषिमा आकर्षित गर्न ‘विद्यार्थी कृषि सहकारी कार्यक्रम’ गाउँपालिकाले अघि सारेको छ । कचनकवलले चालु आर्थिक वर्षमा १ करोड २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । (रासस)

शनिबार, ०१ चैत, २०७६, दिउँसोको ०१:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर