बुद्ध जयन्ती र उभौली पर्व मनाईदै

विराटनगर । आदर्श पुरुष गौतम बुद्धको २५६५ औँ जन्मजयन्ती र किराती समुदायको उभौली पर्व आज बुधबार मनाइदैछ ।

बुद्धलाई पूर्ण रूपमा संसारिक मोहको पीडाबाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ–प्रदर्शकका रुपमा लिइन्छ । उनले आफ्ना प्रवचनमार्फत संसारमा धर्म र नियमको पहिचान गर्दै मानिसलाई संसारिक मोह र तनावबाट ब्यूँझाउन सहयोग गरेको कथन पाइन्छ ।

बुद्धको जन्म ईशापूर्व ५४३ मा हालको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरू रहेको बगैँचाको बीचमा भएको हो । शान्ति, सत्यता, अहिङ्सा अनि सरलताका लागि बुद्ध संसारका गुरु हुन् ।

बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी जन्मना साथ उत्तरतर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएको भन्ने किंवदन्ती छ । जन्मनासाथ उनलाई स्नान गराइएको पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ ।

सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरासँग विवाह गरेका थिए । सम्पूर्ण जीव–जगत र प्राणीलाई अगाध स्नेह जनाउने बानी भएका यिनी सिद्धार्थ गौतम २९ वर्षको उमेरमा सम्पूर्ण सुखसयल छाडेर ज्ञानको खोजीमा निस्केका थिए । वर्षौपछिको यिनको तपस्याले निकालेको दर्शन र ज्ञान नै बुद्धत्व हो ।

बुद्ध धर्मलाई एक अनिश्वरवादी धर्म मात्र नभइकन एउटा अहिंसा, अधर्म अनि असत्यबाट मानवलाई जोगाउने एउटा दर्शनका रुपमा लिइन्छ । विश्वमा ३५ करोड बढी मानिसले बुद्ध धर्म मान्छन् । बुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपालसहित चीन, भारत, श्रीलङ्का, बर्मा, थाइल्याण्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मङ्गोलिया, कोरिया लगायतका देशमा छन् ।

यस्तै किराँत समुदायले प्रत्येक वर्ष मनाउने उँभौली पर्व पनि आज नै हो । यो पर्व प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन पर्छ । किराँत राई समुदायले देशभर भूमेस्थानमा पूजा आराधना गरेर उँभौली मनाउने गरेका छन् ।

बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् ।

यस पर्वका अवसरमा चण्डी नाच समेत नाचिन्छ । यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ । किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ ।

यसैबीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिपकुमार भण्डारीले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उँभौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उनीहरुले विश्व शान्तिका अग्रदूत गौतम बुद्धका उपदेशहरु अहिले पनि सान्दर्भिक रहेको बताएका छन् ।

सन्देशमा उँभौली जस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख छ ।

बुधबार, १२ जेठ, २०७८, बिहानको १०:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर