विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय उपकुलपतिको कार्यालयमा विद्यार्थी संगठनले लगाएको तालाबन्दी करिब ६ महिनापछि खुलेको छ ।
नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू र नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघले करिव ६ महिना अघि लगाएको ताला खुलेको हो ।
नवनियुक्त उपकुलपति प्रा.डा.यादवराज कोइरालाले विद्यार्थी संगठनको माग पुरा गर्न कला, शिक्षा तथा कानून संकाय डिन सम्भु कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेपछि ताला खुलेको हो । माग सम्बोधनका लागि निरन्तर वार्ता गर्ने सहमति भएपछि ताला खोलेको नेविसंघका पूर्व सहमहामन्त्री कृष्ण कार्कीले जानकारी दिनुभयो । वार्ता समितिमा प्राध्यापक संघका सभापति सन्देशदास श्रेष्ठ र कर्मचारी संघका सभापति राजकुमार सापकोटा सदस्य छन् ।
विश्वविद्यालय सेवा आयोगले आवस्यकता भन्दा बढी प्राध्यापक माग गरेको भन्दै तालावन्दी गरेको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले भने सेवा आयोग अध्यक्षविहिन रहेको र विश्वविद्यालय कार्यकारीले बिज्ञापनको प्रक्रिया अघि नबढाउने बताएपछि ताला खोलेको बताएको छ । विश्वविद्यालयमा नयाँ नेतृत्व आएकोले सहज वातावरण बनाउन ताला खोलेको अनेरास्ववियूका केन्द्रिय सदस्य गोकर्ण घिमिरेले बताउनुभयो ।
विद्यार्थी संगठनको तालाबन्दीका कारण कायममुकायका रुपमा उपकुलपतिमा नियुक्त हुनुभएका विजुकुमार थपलियाले उपकुलपतिको कार्यालयमा प्रवेश गर्न पाउनुभएको थिएन ।