विराटनगर । कोरोना संक्रमितहरुको उपचारका लागि अत्याधिक माग भएको रेम्डिसिभिर औषधिको उत्पादन नेपालमै हुने भएको छ ।
उक्त औषधिको उत्पादन नेपालमा नहुँदा अत्याधिक कालोबजारी र नक्कली रेम्डिसिभिरको व्यापार भएको थियो । नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले रेम्डिसिभिरको उत्पादन प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।
उनका अनुसार पहिलो पटक नेपालमा उत्पादनका लागि वीरगञ्जको नेसनल हेल्थ केयरले लाइसेन्स पाएको छ । लाइसेन्स पाएसँगै गरिएको परीक्षण समेत सफल भएपछि नेसनल हेल्थ केयरले उत्पादनको प्रक्रिया सुरु गरिसकेको र अबको एक महिनामा उत्पादन तयार भइसक्ने अधिकारीले जानकारी दिए ।
कोरोना संक्रमण बढेसँगै नेपालमा यसको माग उच्च छ । तर माग अनुसारको आपूर्तिमा भने सहज छैन । भारतबाट आयात हुँदै आएको रेम्डिसिभिर भारतमा नै संक्रमणको दर उच्च भएपछि निर्यातमा भारत सरकारले रोक लगाएको छ । भारतले निर्यातमा रोक लगाएपछि अहिले बंगलादेशबाट आयात हुने गरेको महासचिव अधिकारीले बताए ।
नेपालमा यसको उत्पादन भएपछि कालोबजारीको समस्या पनि नहुने महासचिव अधिकारी बताउँछन् । उनका अनुसार यसको उत्पादनका लागि अन्य औषधि उत्पादक कम्पनीहरु पनि लाइसेन्सको पर्खाईमा रहेका छन् ।
अहिले सरकारले रेम्डिसिभिरको मूल्य प्रति भाइल ४ हजार ९०० रुपैयाँमा रेम्डिसिभिर खरिद गर्न सकिने गरी मूल्य तोकेको छ । कोभिड–१९ को उपचार गर्ने क्रममा अस्पतालहरुबाट चिकित्सकहरुले रेम्डिसिभिर औषधि सिफारिस गरेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयरले लयएको रेम्भिडिसिभिर मात्रै प्रयोग गर्न पनि मन्त्रालयले भनेको छ ।
औषधि व्यवस्था विभागका अनुसार आधिकारिक आयातकर्ता आयन हेल्थकेयरले वैशाख २१ गते बंगलादेशबाट ३००० भाइल रेम्डिसिभिर आयात गरेको थियो ।
-अनलाइन खबरबाट साभार