बेइजिङ (एजेन्सी) । चीनले कोरोना भाइरस(कोभिड–१९) को चरम प्रकोप सकिएको जनाएको छ । बिहीबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले पत्रकार सम्मेलन गरी चीनमा कोभिड–१९ को उच्च जोखिम सकिएको घोषणा गर्नुभएको हो ।
नयाँ संक्रमण नदेखिएको र प्रकोप घट्दै गएको पनि प्रवक्ता फेङले बताउनुभयो । भाइरसको विश्व सङ्गठनले भाइरस संक्रमणको समस्या महामारीको रूपमा फैलिएको घोषणा गरेको केही घण्टापछि चीनकोे यो भनाई आएको हो । चीनले कोभिड–१९ विरूद्धको लडाईंमा विजयको नजिक पुगेको बताएको छ ।
चीनको उच्च प्राथमिकता नागरिकको स्वास्थ्य र उपचार रहेकोले अझै केही समय संक्रमण नियन्त्रण अभियानमा निष्क्रियता नआउने अर्थात् नियन्त्रण प्रयासलाई सक्रिय बनाइराख्ने जनाएको छ । कोरोनाको उद्गमस्थल मानिएको हुबेई प्रान्तमा बुधबार ८ जनामा मात्रै संक्रमण देखिएको छ ।
बुधबार हुबेईबाहिर जम्ममा ७ जनामा संक्रमण देखिएको र त्यसमध्ये पनि ६ जनामा आयातित संक्रमण भएको बताइएको छ । चीनमा बुधबार ११ जनाको मात्रै मृत्यु भएको छ । बिहीबारसम्म चीनमा ३ हजार एक सय ६९ जनाको मृत्यु भएको छ भने ८० हजार ७ सय ६९ जनामा संक्रमण देखिएको छ ।
मंगलबार चिनियाँ राष्ट्रपति सी चिनिफिङ हुबेईको वुहानका विभिन्न अस्पताल पुगेर बिरामी, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरुलाई भेट गर्नुभएको थियो । चीनले पछिल्लो समय बिरामी निको भएको भन्दै १६ वटा अस्थायी अस्पतालहरु बन्द गरिसकेको छ ।
गत डिसेम्बरमा वुहानबाट फैलिएको कोभिड–१९ को संक्रमण अहिले विश्वका १२० भन्दा बढी देशमा फैलिइसकेको छ । बिहीबार दिउँसोसम्म १ लाख २६ हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ भने ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ ।
चीनमा पछिल्लो समय संक्रमित र मृतकको संख्या घट्दै गएपनि युरोप र अमेरिकामा ह्वात्तै बढेको छ । आगामी केही दिन (हप्ता) कोरोना भाइरस संक्रमण, संक्रमणका कारण मृत्यु र प्रभावित मुलुकहरूको संख्या अझै बढ्ने सम्भावना रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
(रासस/सिन्ह्वा)