विराटनगर । प्रदेश सरकारका मन्त्रीहरु हरेक दिन व्यस्त रहन्छन् । मन्त्रालयका कामबाहेक विभिन्न कार्यक्रमको उद्घाटन, शिलान्यास र गोष्ठिहरुमा मन्त्रीहरुको दौडधुप चलिरहन्छ ।
गृहजिल्ला पाँचथर र मन्त्रालयबाहेक बाहिरका कार्यक्रमहरुमा आक्कलझुक्कल मात्र देखिने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ मंगलबार इलामको चुलाचुलीमा एक बंगुर फारममा पुग्नुभयो । बंगुर फारममा पुग्नुमात्र भएन, उहाँले बंगुरलाई स्वाईन फिबरको खोपसमेत लगाउनुभयो ।
तराईका जिल्लाहरुमा होली पर्व धुमधामसँग मनाइरहेका बेला मन्त्री आङ्बोले दिनभर बंगुरफार्ममै बिताउनुभयो । विभिन्न रंगले लत्पतिएका अनुहार र जमघटका फोटाहरु सामाजिक सञ्जालमा भरिरहँदा मन्त्री आङ्बोले टिसर्ट लगाएर फार्ममा रहेका बंगुरलाई इन्जेक्सन लगाएको फोटो पोष्ट गर्नुभयो ।
मन्त्री आङ्बोको कृषिमोह नयाँ भने होइन । उहाँले ८ वर्ष अगाडि नै राजनीतिक जीवनलाई सहज बनाउन उत्पादनमा लाग्ने निर्णयसहित कृषिकर्म सुरु गर्नुभएको थियो । बैंकबाट ऋण लिएर पूर्वपश्चिम राजमार्गमा पर्ने झापाको केर्खादेखि उत्तरमा पर्ने इलामको चुलाचुली १ मा उहाँले बंगुर फारम सञ्चालन गर्दै आउनुभएको छ । मन्त्री हुँदा व्यस्त भएपछि फार्ममा समय दिन नपाएको बेला होलीको विदालाई सदुपयोग गर्दै उहाँ मंगलबार फर्ममा व्यस्त हुनुभयो ।
कम्तिमा दुई–तीन महिनामा एक पटक फार्म पुग्ने मन्त्री आङ्ग्बो उपलब्ध समय फार्ममै बिताउन रुचाउँनुहुन्छ । आफूले यूट्यूबाट सिकेका फार्मको आधुनिकिकरण, पौष्टिक आहार र प्रविधिका विषयमा श्रीमतिसँगै कर्मचारीलाई सिकाएर फर्म चलिरहेको छ । होलीको दिन पनि वर्षमा दुई पटक लगाउनुपर्ने स्वाइन फिबरको भ्याक्सिन लगाउन उहाँ फार्म पुग्नुभएको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंकबाट ऋण लिएर २०६८ सालमा आङ्बोले स्थापना गर्नुभएको मिक्लाजुङ कृषि फार्ममा अहिले ३०० बंगुर छन् । १ सय माउ बंगुरबाट उत्पादित २०० बच्चासहितको फर्ममा अहिलेसम्म २ करोड रुपैयाँभन्दा बढि लगानी भएको आङ्बोले बताउनुभयो । अहिलेसम्म जेनतेन परिवारको गुजारा चलाएर बैंकको ब्याज तिर्दै आएको फार्म अब भने नाफामा जान थालेको उहाँको भनाइ छ ।
श्रीमति कुमारी लावतीको रेखदेखमा सञ्चालन हुने फार्मकै आयआर्जनबाट मन्त्री हुनु अगाडिसम्म उहाँको परिवार धान्ने र छोराको अध्ययन खर्च समेत जुटाउने गर्नुभएको थियो । फार्मबाट वार्षिक ६० लाख बढिको कारोबार हुँदै आएको छ । उन्नत जातका लेण्डरस, हेमसागर, योग्सा, डुयुरोक, बक्सारलगायत बंगुरहरु रहेको फार्ममा ३ जनाले रोजगारीसमेत पाएका छन् । औपचारिक अध्ययन र तालिम नभएपनि युट्युबहरु हेरेर सिकेको प्रबिधि फर्मममा प्रयोग गरिहको आङ्बोले बताउनुभयो ।
मन्त्री आङ्ग्बोको मिक्लाजुङ कृषि फार्म देशकै ठूला बंगुर फार्ममध्येको एक हो । तर, त्यसमा अहिलेसम्म सरकारी तवरबाट कुनै सहयोग र अनुदान उहाँले लिनुभएको छैन । मासुको लागि ठूला र पाठापाठीको कारोबार हुने फार्मबाट स्थानीय बजार, भारत र भुटानसम्म बंगुर पुग्ने गरेको छ ।
राजनीतिलाई पेशा र व्यवसायको रुपमा होइन सामाजिक सेवाको रुपमा समर्पित गर्नुपर्र्ने सोचसहित बंगुरपालन सुरु गरेको मन्त्री आङ्बोले बताउनुभयो । ‘हरेक राजनीतिज्ञ कुनै न कुनै आयआर्जन गर्ने पारदर्शी व्यवसायमा जोडिनुपर्छ, उहाँले भन्नुभयो, ‘त्यसो भयो भने मात्र हामीमाथि उठ्ने प्रश्नको जवाफ हुनेछ र आम नागरिकलाई समृद्धिको यात्रामा एकसाथ हिँडाउन सकिन्छ ।’
role model politician, Mausam Kamred.