नारीबिना घरबार चल्दैन,
नारीबिना चुला जल्दैन,
नारीबिना सृष्टि चल्दैन र
नारीबिना संसार चल्दैन ।
–सन्तोष फुयल
नयनको डिल रातभरि रसायो ।
नारी दिवस ।
–नारायण निरौला
फेसबुकभरि कोरोनाका औषधि प्रचार,
फेसबुके औषधि
–राजकुमार गौतम
हामी नेपाली त साँच्चैको प्रतिभाशाली नि हौ,
दुनियाँले कोरोनाको एक औषधि पत्ता लगाउन नसकेको बेला
५० औं थरीका
फुसबुके औषधि पत्ता लगायौं ।
–साथीहरुसँग मनका कुरा
नेपालीका वार्षिकोत्सव र जन्मोत्सवहरु त, वर्षगाँठमा परिणत हुनथाले अचेल ।
यो गाँठ कताबाट आएछ । जमाना नैं गाँठको भएर हो कि,
–तीर्थ कोइराला
नेपालीलाई भोलि आफू मरेपछि
कात्रो पनि नपाइएला भन्ने
डरले कपडा पसलमा
भीड लाग्न बेर छैन ।
–तिलक कोइराला
छाडा चौपाया नियन्त्रण गर्दै
विराटनगर महानगरपालिका
नगररक्षक (नगर प्रहरी) ।
–कौशल निरौला ।
सम्पूर्ण आमा तथा नारीहरुप्रति
हार्दिक श्रद्धा तथा सम्मान
व्यक्त गर्दछु ।
–ऋषिकेश पोख्रेल
कोरोनाबाट बच्न गाईको पिसाब र
गोबर उपयोगी, प्रयोग गर्ने विधि ।
–क्यानाडा नेपाल डटकम
नेपालमै पत्ता लाग्यो शियर गरांै,
कोरोनाको आयुर्वेदिक औषधि,
कालीगेडी रातिगेडी खानु ।
–एम डट यूवट्युव डटकम
वीए, एमए पढेको छु तर पत्नीलाई पिट्छु के म शिक्षित हुँ ?
नामी पेशाकर्मी हुँ तर महिला हिँसा गर्छु के म शिक्षित हुँ ?
कहलिएको प्रशासक, सांसद, नेता, समाजसेवी वा साहित्यकार हुँ
तर, महिलामाथि हैकम गर्न रुचाउँछु के म शिक्षित हुँ ।
धनी, उद्योगी व्यापारी हुँ
तर, श्रम गरिखानेहरुलाई मान्छे नै गन्दिन, के म शिक्षित हुँ ?
११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसले सबैलाई शिक्षित बन्न प्रेरणा देओस्, शुभकामना ।
– गणेश लम्साल ।
माथि उल्लिखित टिपनटापन फेसबुकबाट साभार गरिएका हुन् । यस्ता अनगिन्ति तरेलीहरु हरकोही समय ट्वीटर, फेकसबुकजस्ता विद्युतीय सामाजिक सञ्जालमा भेटिन्छन् नै । यी हरेक वर्ग र पेशामा संलग्न व्यक्तिहरुका मौलिक भावनाहरु हुन् । यी भावनाहरु कति शिक्षाप्रद वा कामयावी हुन्छन्, हेक्का, मनन् वा विश्लेषण गर्न कति मनुवा सफल हुन्छन्, यसबारे त्यति सजिलै मापन वा यकिन गर्न सकिन्न ।
किनकि यसखाले भावनाहरु दिनौं अनगिन्ति संख्यामा सामाजिक सञ्जालका भित्ताहरुमा बग्रेल्ति पोतिएका हुन्छन् । कतिपयको कामधन्दा नै फेसबुके भित्ता पोतिरहने हुन्छ । चाहे राम्रा हुन् वा नराम्रा । काम लाग्ने हुन् वा नलाग्ने । गालीगलोज हुन् वा अर्ति उपदेश । चिरिच्याट्ट हुन् वा भद्दा । सदुपयोग हुन् वा दुरुपयोग सामाजिक सञ्जालमा बिस्कुन सरह फिजाइएका यसखाले भावनाहरुसँग सहमत हुनैपर्छ भन्ने कुनै जङ्गे कानून लागू पनि हुँदैन र त्यो कानून बने पनि मान्ने हुँदैन ।
कहिले काहीं त सामाजिक सञ्जालका भित्ताहरुमा पोतिएका भावनाहरु अराजकताका प्रतिमूर्ति पनि हुने गर्दछ । कतिपय त छाडा र उच्छृंखल प्रवृत्तिको प्रतिनिधित्व पनि गर्न पछि पर्दैनन् । कति त नाम निसानी छद्मभेषीका रुपमा देखा पर्दछन् । यसखाले भावनात्मक बिस्कुनहरुबाट प्रताडित भई कति मनुवाहरु यमलोक पुग्न प्रोत्साहित भएका घटना परिघटना नभएका पनि होइनन् ।
विद्युतीय सामाजिक सञ्जालमा लेखनी अफवाहबाट साना ठूला दुर्घटनाहरु पनि हुने गरेका छन् । त्यही सञ्जालबाट कतिपयले आफ्नो व्यवसायको निःशुल्क प्रचारप्रसार गरेर लाखौं, करोडौं र खर्बौं सम्पति आर्जन गर्न सफल पनि नभएका होइनन्् । कतिको त ठगी गरेर गैरकानुनी धन्दा चलाउने माध्यम पनि बनेको छ, विद्युतीय सामाजिक सञ्जाल । फेसबुके खेती गर्ने मनुवाको उत्तिसारो भर हुन्न भन्ने जनचेतनाको बुद्धिमा बिर्को लाग्नेहरुको तेजहरान भएका कयौं नमुनाहरु भेटिएलान्, मिहीनढंगले खोजी गर्दा ।
तसर्थ २४ घण्टा सामाजिक सञ्जाललाई जिन्दगी ठानेर क्षणिक रुपमा राम रमाइलो गर्छु भन्नेहरुका पनि दिन बलिया छैनन् भन्छन् विषय विशेषज्ञ र विद्वत वर्गहरु । सुरुमा त्यस्ताको दिनचर्या शुभशुभ देखिए पनि भविष्य चाहिं डामाडोल नै हुन्छ भनिन्छ । कालान्तरमा तिनीहरु मानसिक रुपमा विछिप्त हुन्छन् । शारीरिक रुपमा रोगग्रस्त हुन्छन् । मनोविश्लेकहरु यस्तैयस्तै तर्क गर्छन् । उनीहरुको भनाइमा विद्युतीय सामग्री (विद्युतीय सामााजिक सञ्जाल) मा बढी समय हराउँदा धेरै मनुवाहरुमा चिट्चिटाहट, तनाव, अनिद्रा, अपचजस्ता समस्याहरु उत्पन्न हुन गई जीवनरथ नै अन्धकारमयतर्फ धकेलिएकोे आभाष नै हुँदैन अर्थात् पत्तै हुँदैन ।
यस स्तम्भमा केही व्यक्तिका भावनाहरु टिपन टापन गरेर पस्किने र आफ्नो विचारको छाक टार्ने तुस्साहस गरेको छु । आगे तपाइँ पाठक वर्गको मर्जी ।