बलिदानीपूर्ण राजनीतिक आन्दोलनले आजको उपलब्धि प्राप्त भएको हो । यो अवधिमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । जनताका अधिकारहरु दस्तावेजीकरण भएका छन् । स्थानीय तहहरु अधिकारसम्पन्न छन् । करिब दुईतिहाई मतसहितको नेकपाको सरकार छ । यो आन्दोलनको उपलब्धि हो । यसलाई आर्थिक, सामाजिक र संस्कृतिक रुपान्तरणसहितको समाजवादी यात्राको पक्षमा प्रयोग गर्नु आवश्यक छ । यसको लागि समृद्धिको दिगो र भरपर्दो मार्गचित्रको प्रस्तुतिकरण र इमान्दार कार्यान्वयनको जरुरत छ ।
राजनीतिज्ञहरुको विद्यमान भूमिकामा जनता सन्तुष्ट देखिदैनन् । यसमा परिमार्जनको आवश्यकता औल्याउँदैछन् । राष्ट्रिय राजनीतिमा मुख्य दुई ठूला दलले मात्र बाहुल्यता कायम राख्दै आएका छन् । बाँकी अन्य दलहरुले तत्कालै प्रभाब जमाउने अवस्था न्यून देखिन्छ । त्यसकारण यी दुई दलहरुलाई सुधार्नुको विकल्प छैन । तर, दुःखका साथ भन्नुपर्छ दुबै दलहरुका जिम्मेवारहरुको अवस्थाबीच समुन्द्रमा डुब्न लागेको पानीजाहाजको असफल क्याप्टेन जस्तै देखिन थालेका छन् । लोकतन्त्रको सुदृढिकरण र स्थायीत्वको लागि यो अत्यन्तै खतरनाक अवस्था हो ।
लोकतान्त्रिक आन्दोलनको लडाईंमा काँगे्रसको महत्वपूर्ण भूमिका छ । तर, प्राप्त उपलब्धिलई संस्थागत गरि स्थायीत्व कायम गर्न उ जहिलै असफल छ । उसको नेतृत्व पुरातन विरासतता र यथास्थितिवादभन्दा माथि उठ्न सकेन । आगतमा पनि त्योभन्दा माथि उठ्ने संभावना कम छ । लोकतन्त्रका कुराले नथाकेपनि ब्यवहारमा त्यो देखिन्न । काँग्रेस हाल सदनको प्रमुख प्रतिपक्ष हो । त त्यहाँको भूमिका न हाँस न बकुल्लाको तालमा देखिन्छ । संसारमा प्रतिपक्षको भूमिका की त ध्वंसात्मक या रचनात्मक हुन्छ । काँग्रेस दुबै अवस्थामा देखिदैन । आन्तरिक द्वन्द्वको चपेटामा नराम्ररी फसेको छ । बिगतमा उसको नेतृत्वबाट भएका जघन्य पथभ्रस्टताका काण्डहरुले उ शीर उठाउने अवस्थामा छैन । जनता उसप्रति आशावादी देखिदैनन् । उसबाट समाजवादी राज्य ब्यवस्थाको कल्पना गर्न सकिदैन ।
नेकपाको कार्यनीति जनताबीचमा सर्वस्वीकार्य छ । विद्यमान समस्याहरुको समाधानसहितको समाजवादी राज्य ब्यवस्थाको स्थापना उसबाट मात्र संभब छ भन्ने सवालमा जनता विश्वस्त छन् । उसले मात्र देशलाई समृद्ध र जनतालाई खुशीको बिहानी दिनसक्छ भन्ने बारेमा पनि विवाद छैन । तर, ऊ पनि समस्यामुक्त नहुदा कतै ‘मन परेको केटो जेठाजु’ बन्ने त हैन ? यस सवालले जनता चिन्तित छन् । जनताको यो चिन्तालाई दुर गर्नु जरुरी छ । विश्वासलाई प्रतिफलमा बदल्ने कुराबाट पछि हट्न मिल्दैन । यसको लागि उसका वर्तमान कार्यशैली अप्रर्याप्त छन । कार्यशैलीलाई परिस्कृत गरि पार्टीको लोकप्रियता बचाउनको लागि उसभित्र झाँगिएका समस्ययाहरुको हल हुनैपर्छ ।
भावनात्मक एकता अहिलेको आवश्यकता हो । तर, यसको अनुभूति देखिन्न । साठी चालिसले योग्यतमहरु पाखामा पर्ने खतरा छ । रुपमा एक देखिएपनि सारमा त्यो देखिदैन । कार्यकर्र्ता बिभाजित नै छन् । उनीहरुलाई संस्थाको चिरवान असल सिपाही नभएर ब्यक्तिको भुत्ते बफादार बनाउन खोजिदैछ । जनसंगठनहरु पार्टीका नभएर शीर्षस्तका नीजि जस्ता देखिन थालेका छन् । गुटबन्दीले अन्यौलता सृजना गरिरहेको छ । नीतिगत तहको कार्यशैली बडामहाराजमा रुपान्तरित देखिदैंछ । यसको अन्त्य नहुँदासम्म सुद्धिकरण सम्भब छैन । शुद्धिकरणविना सुदृढिकरण र गतिशिलता हुदैन । अनि गतिशिलताबिनाको समाजवाद कोरा कल्पना मात्र हुन्छ ।
सिद्धान्तमा बहस हुन छोडेको छ । गन्तब्यको भरपर्दो मार्ग तय गर्ने सवालमा संबेदनशीलता देखिन्न । चिन्तनको खडेरी बढ्दैछ । शीर्षस्तहरु संस्थागत गुटबन्दीको घेरामा छन् । प्लस र माइनसको खेलले अराजकता फस्टाउँदैछ । निष्ठा, निरन्तरता र ऐतिहासिकता कोमाभित्र बन्धक छ । अपराधीकरणको छिटाले पार्टीलाई बिटुल्याएको छ । डनवादलाई माथिबाटै प्रोत्साहित गरिएको छ । सामूहिक र संस्थागत मान्यतालाई धरासायी बनाइएको छ । औपचारिकवाद बढ्दोछ । नेतृत्व बिधिभन्दा माथि उदाएका छन । ब्यक्तिको लागि बिधि संशोधन हुने बिडम्बनालाई निरिहतापूर्वक हेर्नुपर्ने बाध्यता छ ।
सिमित व्यक्तिहरु अभिजात्य वर्गमा रुपान्तरित देखिन्छन् । नेतृत्वको आकाशिदो जीवनशैलीले कार्यकर्ताहरुको गिर्दो जीवनशैलीलाई चुनौति दिइरहेको छ । अन्तरजीवनमै वर्गसंघर्ष चलाउनुपर्ने अवस्था देखिँदैछ । राजकीय र पार्टीका अवसरहरु नेता र उनको परिवारले छोड्दा मात्र बाँकीले पाउने अवस्था देखिँदैछ । परिवारवाद झाँगिदो अवस्थामा छ । आन्तरिक वर्गीय बिभेदले चरम सीमा नाघेको छ । निष्टावानहरु उपेक्षित छन् । राजकीय अवसरको वितरणमा असमानता छ । यो निगाहको वस्तु भएको छ ।
गणेशवाद फस्टाउदो छ । फेरा मार्न नजान्नेहरुको मूल्याङ्कन हराएको छ । जनवादलाई धनवादले विस्थापित गरेको छ । स्वेच्छेचारिताले सीमा नाघेको छ । अध्ययन, चिन्तन र विश्लेषणको खडेरी छ । तालिवादले आत्माआलोचनाको संस्कृतिलाई धरासायी बनाएको छ । वर्णशंखर तथा पूर्वाधारबिहीन आरक्षणको जवरजस्त लदाइले वर्गीय आन्दोलनलाई कमजोर बनाएको छ । नीतिगत क्षेत्रहरुलाई भिडतन्त्रमा परिणत गरिएको छ । अन्तरजीवनको पथभ्रस्टता तथा अपारदर्शी जीवनशैलीले अनेकौ आशंका उजाएको छ ।
सामाजिक रुपान्तरणको अभियान जस्तो महान् लक्ष्य बोकेको जिम्मेवार राजनीतिक दलको वर्तमान अवस्थालाई ठीक भन्न सकिन्न । यसमा आमुल सुधारको जरुरत छ । विद्यमान कार्यशैलीले नेकपालाई कमजोर बनाउने खतरा छ । नेकपा कमजोर बन्नु भनेको राजनीति कमजोर हुनु हो । कमजोर राजनीतिक परिवेशले देशलाई संकटमा धकेल्छ । यो अधिकार कसैलाई छैन । यथास्थितिको कार्यशैलीले पार्टी र वर्गीय मुक्ति आन्दोलनलाई दिर्घजीवी बनाउन सकिदैन । त्यसकारण जिम्मेवारहरु संबेदनशील बन्नैपर्छ । साथै जजहाँबाट बिग्रिएको हो, सुधारको थालनी त्यहिबाट गरिनुपर्छ ।
इतिहासका अनेक मोडहरुका गल्तीहरुलाई जनताले क्षमादान दिँदै आएका छन् । बारम्बार त्यो अवसर दिदैनन् । अब बिकृति, बिसंगतिको चंगुलमा फसेर निरोवादी शैलिमा चल्ने भूल कसैले गर्नुहुदैन । यसो गरियो भने समाजवादकोे मार्गलाई अबरुद्ध गराउँछ । यसलाई सरोकारवाला सबैले चिन्ताको विषय बनाउनुपर्छ ।
अनुशासित र बिधिसंबत तवरमा गलत प्रबृतिको बारेमा आवाज चर्काउनैपर्छ । कार्यकर्ताले आँखामा पट्टी लगाउनु हुदैन । अनुशासनको नाममा देखिने अन्धभक्तता गन्तव्यको तगारो हो भन्ने सबालमा सचेत बन्नैपर्छ । कार्यकर्ताले बैचारिक प्रतिरोध नगर्ने हो भने समाजवादको बहार सिमित नेतालाई आउला । तर, यथास्थितिको कार्यशैलिले जनताको जीबनमा समाजवाद आउने कुनै संभावना छैन । सबैलाई चेतना भया ।
एउटै पार्टी भित्र खुट्टा तानातान र पछाडिबाट हान को स्थिति छ।एक ढिक्का भएर शक्ति उपयोग गरेको अवस्था देखिँदैन।अवसर लिन नपाएकाहरु ठूला प्रतिपक्षी बनेका छन् र गुट खोज्दै हिँडेका छन्।सौताको रिसले पोइको काख हगिरहेका छन्।यिनलाई समाजवाद चाहिएकै छैन,अवसर चाहिएको छ।सम्बृध्दि राज्य र जनताको हैन,अाफ्नो मात्र बृध्दि चाहिएको छ।यहि तुष्टि प्राप्तिका लागि अहोरात्र लागेका छन्,गुट बदल गरेर र समीकरण सन्तुलनको स्थितिलाई दाव-उनार गरिरहेका छन्।यो भीडतन्त्रबाट होशियार!
एउटै पार्टी भित्र खुट्टा तानातान र पछाडिबाट हान को स्थिति छ।एक ढिक्का भएर शक्ति उपयोग गरेको अवस्था देखिँदैन।अवसर लिन नपाएकाहरु ठूला प्रतिपक्षी बनेका छन् र गुट खोज्दै हिँडेका छन्।सौताको रिसले पोइको काख हगिरहेका छन्।यिनलाई समाजवाद चाहिएकै छैन,अवसर चाहिएको छ।सम्बृध्दि राज्य र जनताको हैन,अाफ्नो मात्र बृध्दि चाहिएको छ।यहि तुष्टि प्राप्तिका लागि अहोरात्र लागेका छन्,गुट बदल गरेर र समीकरण सन्तुलनको स्थितिलाई दाव-उनार गर्दै लागि परिरहेका छन्।यथार्थमा लेखकले चित्रण गरेको जस्तो अकर्मण्यताको स्थिति होइन,गोयबल्स शैलीमा चलाइएको कोलाहल र अरण्य रोदन मात्र हो।कुरा यो हो कि- “भीडतन्त्रबाट होशियार!”