अक्सिजन आपूर्ति कठिन बन्दै, कोसी कोभिडमा दैनिक ४०० सिलिण्डर खपत

विराटनगर । विराटनगरस्थित कोसी कोभिड–१९ अस्पतालमा अक्सिजनका सिलिण्डर बोकेका गाडीको आउजाउ दिनभरी चल्छ । बिहानैदेखि अक्सिजन ढुवानी गर्ने गाडी आउने र राति अबेरसम्म त्यो क्रम जारी रहने अस्पतालका इञ्चार्ज बैजनाथ साहले बताए ।

अस्पतालमा अक्सिजनको माग अत्याधिक बढेको छ । बिरामीको संख्या बढेपछि अक्सिजनको माग स्वभाविक रुपमा बढ्छ । त्यसमा पनि कोसी कोभिड अस्पतालमा यतिबेला संवेदनशील प्रकृतिका बिरामीहरुको संख्या बढि छन् । जसले गर्दा अक्सिजनको खपत निकै बढेको हो ।

कोसी कोभिड अस्पतालमा आइतबार बिहानसम्म ८३ जना बिरामी भर्ना छन् । उपचाररत ८३ जनामध्ये २१ जना आइसियूमा छन् भने ४७ जना एचडियूमा छन् । थप १५ बेड अक्सिजनयुक्त छन् । बाँकी १५ बेड भने अक्सिजन पाइपलाइन जडान नभएका जेनेरल प्रकृतिका छन् ।

कोशी कोभिडले संक्रमित उपचारका लागि ९६ शय्या सञ्चालनमा ल्याएको छ । आइसियू र एचडियूमा मात्र ६८ जना बिरामी उपचार गराइरहेका कारण उनीहरुलाई दैनिक ठूलो परिमाणमा अक्सिजन आपूर्ति गर्नुपरेको अस्पतालका इन्चार्ज साहले जानकारी दिए ।

कोसी कोभिड अस्पतालमा दैनिक ४०० सिलिण्डर अक्सिजन खपत भइरहेको इञ्चार्ज साहले बताए । ‘हरेक २४ घण्टामा ४०० सिलिण्डर अक्सिजन खपत भइरहेको छ,’ उनले भने ‘हाम्रोमा क्रिटिकल अवस्थाका बिरामी बढी छन्, अक्सिजनको सिलिण्डर ओसार्ने गाडी दिनभरजसो आउजाउ चलिरहन्छ ।’ अस्पतालमा आइसियू र एचडियूमा उपचार गराइरहेका बिरामीको संख्या धेरै भएकोले अक्सिजन बढी खपत भएको उनले बताए ।

अस्पतालमा विभिन्न तीन वटा आपूर्तिकर्ता कम्पनीहरुले अक्सिजन आपूर्ति गर्दै आएका छन् । इन्चार्ज साहले भने ‘अस्पतालले अक्सिजनका लागि मात्र दैनिक १ लाख ५० हजार रुपैयाँ खर्च गरिरहेको छ । अस्पतालमा बिरामी बढ्दै गएको खण्डमा अहिलेको तुलनामा अक्सिजनको मात्रा बढाउनुपर्ने हुन्छ । सप्लायर्सहरुले अस्पताललाई अधिकतम आपूर्ति गरिरहेको भन्दै यो भन्दा बढी माग भए आपूर्ति गर्न कठिन हुने जानकारी गराइसकेका छन् ।

कोसी कोभिड अस्पताल १८० बेडमा सञ्चालन गर्ने गरी गत वर्षबाटै काम थालिएको थियो । निजी क्षेत्र (नागरिक केयर सेन्टर)को सहयोगमा अस्पतालमा १०० शय्याको नयाँ यूनिट निर्माण भएपछि अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी थियो । अहिले अस्पताल सोहि नयाँ यूनिटमा सञ्चालित छ । तर, पूरानो युनिट मर्मतका लागि भन्दै बन्द गरिएको छ ।

मर्मतपछि अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा आए अक्सिजनको आपूर्ति अहिलेको तुलनामा दोब्बर बढी परिमाण आवश्यक पर्ने बताइएको छ ।

सोमबार, २७ बैशाख, २०७८, बिहानको १०:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर