अपहरणको नाटक गरी बाबुसँग फिरौती असुल गर्ने पक्राउ
विराटनगर । मिटरब्याजको धन्दामा फसेपछि त्यसबाट उम्कन अपहरणमा परेको नाटक गरेर आफ्नै बाबुसँग फिरौती रकम लिने एक युवालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ ।
आफू अपहरणमा परेको नाटक गरी बाबु शिबनारयणसँग २१ लाख रुपैयाँ फिरौती लिने मोरङको बुढीगंगा गाउँपालिका– ३ बाँसबारीका २४ वर्षीय मुकेशकुमार महतो पक्राउ परेका हुन् ।
मोरङ प्रहरीका निरीक्षक ऋषिराज ढकालको नेतृत्वमा रहेको प्रहरी र १ नम्बर प्रदेश प्रहरी विराटनगरबाट खटिएको विशेष टोलीले अपहरणको नाटक गरि फिरौति रकम लिने महतो र उनका सहयोगी महतोकै कम्पनीमा काम गर्ने बुढीगंगा–३ कै २५ वर्षीय कृष्ण राजवंशीलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।
कृष्ण दुई वर्षदेखि मुकेशका बाबु शिवनारयणले बुढीगंगामा सञ्चालनमा ल्याएको ‘पूर्वाञ्चल कन्ट्रक्सन’ मा काम गर्दै आएका छन् । मुकेशले पनि बाबुको व्यवसायमा साथ दिँदै आएका थिए ।
गत शुक्रबार मुकेशले अपहरणमा परेको नाटक गरेको प्रहरीले जनाएको छ । अपहरणमा परेको नाटक गरेको तीन दिनपछि सोमबार मुकेश र कृष्णलाई प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार मुकेशलाई सुनसरीको भण्टाबारी र कृष्णलाई बुढीगंगाबाट पक्राउ गरेको छ ।
पक्राउ परेका दुबै जनालाई मोरङ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ । ‘मुकेशले ५ लाख रूपैयाँ मिटर ब्याजमा लिएकोमा ९६ लाख तिनुपर्ने भएपछि अपहरणको नाटक गरेको अनुसन्धानबाट खुलेको छ’ डिएसपी राईले भन्नुभयो, ‘मिटर ब्याजमा लिएको सापटी रकम तिर्न आफ्नै बाबुसँग अपहरणमा परेको नाटक गरेर फिरौति लिएको खुलेको छ ।’
मुकेशले अरू ५० लाख रुपैयाँ तिर्ने कागज गरेको र नतिरेमा ज्यान मार्ने धम्की आएपछि बाबुसँगै रकम असुल्न अपहरणको नाटक गरेको खुलेको छ । प्रहरीका अनुसार मुकेशले एक वर्ष अगाडि मिटरब्याजमा पैसा लिएका थिए । ‘त्यही रकम बुझाउन अपहरणको नाटकमा बावुको कन्ट्रक्सनमा काम गर्ने कृष्णलाई पनि प्रयोग गरिएको पाइयो,’ डिएसपी राईले भन्नुभयो । मुकेशले मिटर ब्याजमा पैसा लिने व्यक्तिबारे प्रहरीले खुलाएको छैन । त्यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
फिरौति लिएपछि प्रहरी फन्दामा
गत शुक्रबार दिउँसो १० बजे घरबाट मुकेश हिँडेका थिए । त्यसको एक घण्टापछि मुकेशको मोवाइलबाट बावु शिवनारयणको मोवाइलमा मुकेश अपहरणमा परेको हिन्दीमा लेखिएको म्यासेज आयो । ‘छोरालाई जिउँदै लैजान मन छ भने ३० लाख रूपैयाँ लिएर मैले भनेको स्थानमा पु¥याउनु’ भन्ने म्यासेज आएपछि शिवनारायण तनाबमा परेका थिए ।
‘म अपहरणमा परेको छु । अपहरणकारीले ३० लाख रुपैयाँ फिरौती मागेका छन् र नदिए ज्यान मार्ने धम्की दिइरहेका छन्,’ फोनमा छोराको आवाज सुनेपछि शिबनारायणको होसहवास नै उड्यो । उनी फिरौती रकमको जोहो गर्न लागे भने प्रहरीसम्म आफन्तले घटनाको सूचना दिएपछि प्रहरी पनि सक्रिय भयो ।
अपहरणमा परेका भनिएका मुकेशले २३ र २४ गते आफूलाई सिराहाको लाहानमा राखिएको जानकारी आफ्ना बाबुलाई दिएका थिए । त्यस्तै, २५ गते धनुषाको जनकपुर र २६ गते कोशी ब्यारेको बोर्डर छेउमा राखेको मोबाइलबाटै बाबुलाई जानकारी गराए । फागुन २६ गते बिहान मुकेशले बाबुलाई फोनमा भनेका थिए, ‘हामीले २१ लाख रुपैयाँ बुझाएमा अपहरणकारीले मलाई छाड्नेछ ।’
ठेक्कापट्टा र ढुङ्गा, गिट्टी, बालुवाको काम गर्ने शिवनारायणले अपहरणकारीले भने अनुसार नै विराटनगर ४ मा पर्ने नहरछेउको झ्याङमा १८ लाख नगद र ३ लाखको चेक राखिदिएका थिए । सो रकम लिएर जाने कृष्णलाई दुई घण्टापछि प्रहरीले पक्राउ गरेको थियो भने मुकेशलाई पनि सोही दिन पक्राउ गरेको हो ।
प्रहरीमा मुकेशले दिएको बयानअनुसार उनले एक वर्षअघि ५ लाख सापट लिँदा मिटर ब्याजका कारण परिवारले ९६ लाख तिर्नुपरेको थियो । थप ५० लाखको कागज गर्नुपरेको थियो । उक्त रकम नतिरेमा ज्यान मार्ने धम्की मिटरब्याजी समूहले दिएको थियो ।
एक्लो छोरा अपहरणामा परेपछि उनलाई छुटाउन १८ लाख नगद र ३ लाख रूपैयाँ चेक लिएर शिवनारायणले छोराले भनेको स्थान विराटनगरको एयरपोर्ट मोडमा सोमबार लगेर राखिदिएका थिए । त्यहाँ फिरौति रकम लिन कृष्ण पुगेको प्रहरीले जनाएको छ । कृष्णले फिरौति रकम बुझेपछि १६ लाख ५३ हजार बैंकमा लगेर मुकेशकै खातामा जम्मा गरिदिएका थिए ।
फिरौति रकममध्ये मुकेशले आकाश यादवबाट लिएको १ लाख १० रूपैयाँ फिर्ता गरेका थिए भने २५ हजार रुपैयाँ स्यार्सेकालिका आयल डिस्ट्रीब्यूर्टसलाई डिजेलको रकम दिएको र १० हजार रुपैयाँ आप्mनी प्रेमीकालाई दिएको खुलेको छ । सो रकममध्ये कृष्णले २ हजार रुपैयाँ खर्च गरेका थिए ।
पक्राउ परेका दुबै जनालाई बुधबार अदालतमा म्याद थप गरि अनुसन्धान गर्दै आएको प्रहरीले जनाएको छ । दुवैलाई मुलुकी अपराध संहिता अनुसार आपराधिक लाभ प्राप्त गरेको अभियोगमा मुद्दा चलाउने मोरङ प्रहरीका प्रवक्ता डिएसपी लिम्बूले बताउनुभयो ।