विराटनगर । विराटनगरमा बुधबारदेखि अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा मोरङको पथरीशनिश्चरे नगरपालिकाको रेडस्टार कलेज विजययात्रा शुरु गरेको छ ।
विराट बुद्ध स्पोर्ट्स क्लबको आयोजनामा विराटनगरस्थित डिग्री कलेजको मैदानमा शुरु भएको प्रतियोगितामा विराटनगरको हिमालय दर्शन कलेजलाई ४–१ गोल अन्तरले पराजित गरि रेडस्टार विजयी भएको हो ।
रेडस्टारकालागि ९ औं मिनेटमा ओम राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । ३२ औं मिनेट र खेलको अन्तिम समयमा नामसाङ लिम्बू र ४४ औं मिनेटमा विनायक लिम्बूले गोल गरे । एक मात्र सान्तवना गोल हिमालय दर्शनका लागि नारायण खड्काले गरेका थिए । खेलको म्यान अफ द म्याच रेडस्टारका नामसाङ लिम्बू घोषित भए ।
आज भएको पहिलो खेलमा ग्रिनल्याण्ड र निहारिका कलेज बराबरीमा रोकिए । गोलरहित बराबरी भएपछि दुवै टिमले १–१ अंक बाँडेका छन् । खेलको म्यान अफ द म्याच निहारिकाका झमक मगर घोषित भए ।
बिहीबारको पहिलो खेल विराटनगरका कान्तिपुर र कोसी कलेज तथा दोस्रो खेल ग्रामथानको बुद्ध इंग्लिस बोर्डिङ स्कुल र दुहबीको महेन्द्र मेमोरियल एकेडेमीबीच हुने विराट बुद्ध स्पोर्ट्स क्लबका अध्यक्ष रोहित कोइरालाले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गरे । प्रतियोगितामा ग्रिनल्याण्ड, निहारिका, रेडस्टार, हिमालय दर्शन, कान्तिपुर, कोसी मल्टिपल, बुद्ध इंग्लिस बोर्डिङ र महेन्द्र मेमोरियल एकेडेमीको सहभागिता रहेको अध्यक्ष कोइरालाले बताए । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँका साथ १ वर्षको ५ लाख रुपैयाँको बिमा, उत्कृष्ट गोलरक्षकले नगद १० का साथ २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा, सर्वाधिक गोलकर्ताले नगद १० हजारका साथमा २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा प्राप्त गर्ने छन् । यस्तै उत्कृष्ट डिफेन्स र मिडफिल्डले जनही नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।