सुनसरीमा निषेधाज्ञा कडा बनाउने तयारी

इटहरी । सुनसरीमा सक्रिय सङ्क्रमितको संख्या ५ सय नाघेपछि जिल्लामा जारी निषेधाज्ञालाई थप कडा बनाउने तयारी भएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्लामा कुल सङ्क्रमितको संख्या ५ सय १२ पुगेको छ । स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन मनिस सुवेदीका अनुसार दोस्रो लहरको संक्रमण सुरु भएपछि जिल्लामा ९ संक्रमितले ज्यान गुमाएका छन् ।

सुनसरीमा पछिल्ला केही दिनयता सङ्क्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा कोरोना सङ्क्रमित बढ्दै जाँदा स्वास्थ्य कार्यालयले चिन्ता व्यक्त गरेको छ । जिल्लावासी समक्ष स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गर्दै अत्यावश्यक अवस्था बाहेकको हकमा घर बाहिर ननिस्कन जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले सङ्क्रमितको संख्या बढ्दै गएकाले निधेषाज्ञामा कडाइ गर्ने संकेत दिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जोखिम अनुसार निषेधाज्ञा उपर पुनर्विचार गरिने बताए ।

सुनसरी प्रशासनले सक्रिय सङ्क्रमित २ सय ५० पुग्दा जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले हाल जारी निषेधाज्ञामा आंशिक कडाइ गरिएको बताउँदै आएकोमा सङ्क्रमित संख्या ५ सय पुगेकाले छिट्टै पूर्ण कडाइको निर्णय लिनसक्ने जनाएको छ ।

मङ्गलबार, २१ बैशाख, २०७८, दिउँसोको १२:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर