विराटनगर । मंगलबार विहान मोरङमा चार घण्टाभित्र पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको नोबेल मेडिकल कलेजमा चार जनाको र एक जनाको बेलबारीमा होम आइसोलेसनमा मृत्यु भएको हो ।
मृत्यु हुनेमध्ये दुई जना महिला र तीन जना पुरुष रहेका छन् । मोरङको बेलबारीका एक, विराटनगरका एक, सुनसरीको धरानका एक, इलामका एक र सप्तरीका एक जनाको मृत्यु भएकोहो ।
बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । पूर्वप्रहरी सहायक निरीक्षक (असइ) उनको बिहान ४ बजेतिर मृत्यु भएको नगरपालिकाले जनाएको छ ।
नोबेलमा वैशाख १६ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई होम आइसोलेसनमा राखिएको थियो । श्वासप्रश्वासमा समस्या आएर अवस्था गम्भीर बन्दै गएको उपचारका लागि अस्पताल लैजान नपाउँदै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै विराटनगर महानगरपालिका–१४ घर भएका ६२ वर्षीय वृद्ध पुरुषको बिहान २ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई सोमबार नोबेलको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार अवस्था गम्भीर रहेका वृद्धको उपचारकै क्रममा ज्यान गएको हो ।
इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको पनि नोबेलमै मृत्यु भएको छ । परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि गत वैशाख १३ गते अस्पताल भर्ना गरिएको थियो । उनको बिहान ४ः१५ बजेतिर मृत्यु भएको हो । मृतकमा निमोनियाको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।
यसैगरि सुनसरीको धरान उपमहानगरपालिका–८ का ७७ वर्षीया वृद्धा महिलाको पनि नोबेलमै उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमित उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । दमको समस्या रहेका बृद्धको बिहान ५ बजेतिर मृत्यु भएको अस्पतलाले जनाएको छ ।
त्यस्तै प्रदेश २ को सप्तरी हनुमाननगर–कङ्कालीनी–२ का ३५ वर्षीय पुरुषको पनि बिहान ५ः४५ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख १७ गते नोबेल अस्पताल भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।