विराटनगर । मोरङको विराटनगर–१४ स्थित विराट आँखा अस्पतालले बक्यौता पारिश्रमिक माग्न गएका पूर्व महिला कर्मचारीहरु उपर दुर्व्यवहार गरेको छ ।
आफुले काम गरेको अवधिको पारिश्रमिक माग्न जाँदा अस्पताल प्रशासनले दुई महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको हो । मङ्गलबार बिहान आईकेयर वर्कर नितु शाह र अप्टोमेट्रिस्ट सारिका यादव आफुले काम गरेको अवधिको बक्यौता पारिश्रमिक र अन्य सेवा सुविधा माग गर्दै विराट आँखा अस्पताल पुगेका थिए । तर अस्पताल प्रशासनले ‘तिमीहरुलाई कसले प्रवेश दियो ?’ भन्दै पुरुष गार्ड बोलाएर आफुहरुमाथि दुर्व्यवहार गरेको उनीहरुको आरोप छ ।
विराटनगर १६ निवासी नितु शाह वि.सं. २०६९ सालदेखि विराट आँखा अस्पतालमा आईकेयर वर्करको रुपमा कार्यरत थिईन् । वडा नं. १४ निवासी सारिका यादव पनि विगत ४ वर्षदेखि सोही अस्पतालमा अप्टोमेट्रिस्टको पदमा कार्यरत थिईन । कोरोना महामारीका कारण गत २०७६ चैत्र ९ गते उनीहरुसँगै अस्पतालमा कार्यरत अनमी, रनर र स्वीपर सहित करिब १ सय जनाले रोजगारी गुमाएका थिए । अस्पतालले बिरामीको चाप बढेपछि पुनः बोलाउने भनेर सबैलाई बिदाई गरेको थियो । तर २०७७ साउन १३ गतेदेखि अस्पताल पुनः सञ्चालनमा आउँदा पनि अस्पतालका पुर्व कर्मचारीहरुले जागिर पाएका छैनन् । उनीहरु हालसम्म बेरोजगार अवस्थामा छन् ।
हाल अस्पतालले पुरानो कर्मचारीहरुलाई नबोलाई पदपुर्तिको सुचना बिना नै सञ्चालक समितिको आफन्तहरुलाई जागिर दिएको छ । अस्पतालले जुनियर स्टाफको रुपमा अस्पतालका शेयर होल्डरका आफन्तहरुलाई जागिरमा राखेको पीडित नितु शाहको गुनासो छ । अस्पताल सञ्चालनमा आएपछि हामीले सम्पर्क गरेका थियौ’, उनले भनिन, ‘त्यतिबेला १ हप्तामा बोलाउने भनी आश्वासन दिएका थिए । तर अहिलेसम्म बोलाएका छैनन् ।’
२०७५ सालदेखि अस्पतालले मासिक १ हजार सञ्चय कोष कट्टा गरिने नियम लागु गरेको थियो । तर चैत्र ९ मा कर्मचारीहरुलाई बिदाई गर्दैैगर्दा अस्पतालले सञ्चय कोषको रकम समेत दिएन । अस्पतालले मासिक १ हजार सञ्चय कोष कट्टा गर्ने भनेपछि हामी खुशी भयौं, पिडित सारिका यादवले भनिन, ‘तर त्यो पैसा पनि अस्पतालले पचायो, उल्टै दुव्र्यवहार समेत गर्यो ।’
यता अस्पतालका मेडिकल डायरेक्टर अनादी के.सी.ले भने कर्मचारीहरुले लगाएको आरोप निराधार रहेको बताएका छन् । उनले व्यक्तिगत रुपमा बदनाम गराउन नियोजित रुपमा सो आरोप लगाईएको दाबी गरे । हामीसँग सिसीटिभी फुटेज छ, उनले भने, ‘उहाँहरु आउँदा देखि जाँदासम्म सबै रेकर्ड भएको छ । कसरी उहाँहरु गार्डलाई छलेर अनुमति बिना लेखा शाखामा प्रवेश गर्नुभयो ? के कुरा भयो ? सबै रेकर्ड भएको छ ।’
हाल अस्पताल प्रशासनबाटै पीडित भएको भनिरहेका उनीहरु भने बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा अभद्र व्यवहार मुद्दा दर्ता गराउने तयारीमा छन् । उनीहरुसँगै कामबाट निकालिएका २ दर्जन बढी कर्मचारीहरु बुधबार बरोजगार अवधिको पैसा दिनुपर्ने, वार्षिक १२ हजारका दरले सञ्चय कोषको बक्यौता भुक्तानी गर्नुपर्ने र श्रम ऐनले व्यवस्था गरेको सम्पूर्ण सेवा सुविधा उपलब्ध गराउनुपर्ने मागसहित श्रम कार्यालय विराटनगरमा निवेदन दर्ता गराउने तयारीमा रहेको जानकारी दिएका छन् ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!