विराटनगर । सीमा नाकामा कडाई गर्दै विराटनगर महानगरपालिकाले ‘एन्टिजेन परीक्षण’ सुरु गरेको छ ।
भारतबाट नेपाल प्रवेश गर्ने शंकास्पद नागरिकलाई लक्षित गर्दै महानगरले रानी नाकामा ‘एन्टिजेन परीक्षण’ सुरु गरेको हो । पछिल्लो समय तीव्र रुपमा फैलिँदै गएको नयाँ स्वरुपको कोरोना संक्रमणको जोखिमलाई न्युनीकरण गर्न महानगरले मुल नाकामै एन्टिजेन परीक्षणको व्यवस्था गरेको हो । भारतको महामारी फैलिएको क्षेत्रबाट नेपाल भित्रिने नागरिकको हकमा एन्टिजेन परीक्षण अनिवार्य गरिएको महानगरले जनाएको छ ।
महानगरले भारतबाट नेपाल प्रवेश गर्ने नागरिकको व्यक्तिगत विवरण संकलन गरिसकेपछि उनीहरुको हेल्थ स्क्रिनिङ र ट्राभल हिस्ट्रीको आधारमा एन्टिजेन परीक्षण गर्ने गरेको छ । महानगरले दैनिक २५ देखि ३५ जनासम्मको एन्टिजेन परीक्षण गर्दै आएको छ । १५ मिनेटभित्रै प्राप्त हुने परीक्षणको नतिजा बिश्लेषणको आधारमा सम्बन्धितलाई नेपाल प्रवेश दिईने गरिएको महानगरका मेडिकल अफिसर कमलकिशोर यादवले बताउनुभयो । उहाँले एन्टिजेम पोजिटिभ देखिएका व्यक्तिलाई तत्कालै सम्बन्धित स्थानीय तहको समन्वयमा १४ दिने होम क्वारेन्टाईमा पठाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले संक्रमित देखिएका नेपाली नागरिकलाई सम्बन्धित पालिकामै पठाउँछौ भने भारतीयलाई उतै फर्काउँछौं ।’
विराटनगर–१६ स्थित रानी नाकामा विश्व स्वास्थ्य सङ्गठनले निमार्ण गरिदिएको अस्थायी टहरा मार्फत महानगरले जोगबनी नाका हुँदै नेपाल भित्रिएका १ सय ३० जनाको एन्टिजेन परीक्षण गरिसकेको छ । जसमा १० नेपाली र १ भारतीयसहित ११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १० नेपालीलाई महानगरले सम्बन्धित स्थानीय तहमै पठाएको छ भने १ भारतीयलाई सम्बन्धित गन्तव्यमै फर्काइएको छ ।
हाल महानगरले युरोपियन प्रविधिमा आधारित किटबाट शंकास्पद व्यक्तिको परीक्षण गर्दै आएको छ । संक्रमितको पहिचान गर्न रानीस्थित हेल्थ डेस्कमा महानगरले १ जना हेल्थ असिस्टेन्ट, १ जना मेडिकल अफिसर, ५ जना अनमी र १ जना ल्याब टेक्निसियनसहित १० जनाको दरबन्दी राखेको छ । पिसिआर परीक्षणको तुलनामा खर्च र नतिजा प्राप्त हुने समय पनि कम लाग्ने भएकाले एन्टिजेन परीक्षण प्रभावकारी देखिएको महानगरका मेडिकल अफिसर कमलकिशोर यादवको बुझाई छ । परीक्षणको क्रममा किट अभाव भए हेल्थ डेस्कले विराटनगर महानगरपालिका तथा प्रदेश सरकारसँग किट माग गर्ने गरेको छ ।
विराटनगर महानगरपालिका अन्तर्गतको रानीस्थित हेल्थ डेस्कले भने दैनिक बिहान ८ बजेदेखि बेलुकी ६ सम्म रानीस्थित हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गर्दै आएको जनाएको छ ।
सीमाक्षेत्रको व्यापार ठप्प
कोरोना महामारी रोकथाम तथा न्युनीकरणका लागि लामो समयको लकडाउन र निषेधाज्ञा पश्चात बिस्तारै जुर्मुराउन थालेका सीमाक्षेत्रका व्यापार पुनः थलिन पुगेका छन् ।
सीमानाका बन्द हुँदा भारतीय ग्राहकको भरमा सञ्चालित सीमाक्षेत्रका व्यापार पुनः थलिन पुगेका हुन । कुनैबेला भारतीय ग्राहकको भीडले बोल्न समेत फुर्सद नहुने विराटनगरस्थित रानी क्षेत्रका व्यापार हाल ग्राहकहरुको अभावमा ठप्प हुने अवस्थामा पुगेका छन् । कोरोना महामारीका कारण सीमा नाका नै शिल हुँदा दैनिक २५ सयदेखि ४ हजारसम्म बिक्री हुने सीमाक्षेत्रको व्यापार डुब्न थालेको छ । हाल दैनिक २ सय रुपैयाको सामान बिक्री गर्न पनि हम्मेहम्मे हुने गरेको विराटनगर–१६ रानीकी होटल व्यवसायी बिष्णुमाया श्रेष्ठ बताउनुहुन्छ । जोगबनीमा रेल आएसँगै अधिकांश भारतीय नागरिकहरु नास्ता र खानाका यहाँ आउने गरेका थिए, कतिपय त नियमित ग्राहक थिए, उहाँले भन्नुभयो, ‘तर कोरोना महामारीका कारण दोहोरो आवागमनमा कडाई गरिएसँगै व्यापार शुन्यताको अवस्थामा पुगेको छ ।’
पसल सञ्चालन गरेको घर आफ्नै भएकाले भाडा तिर्ने समस्या नभएपनि व्यापार ठप्प हुँदा छोराछोरी पढाउन सकस हुन थालेको उहाँको पिडा छ ।
सीमावर्ती क्षेत्रमा सञ्चालित अधिकांश व्यापार व्यावसायको अवस्था उस्तै छ । केही त बिक्री हुन्छ भन्ने आशमा, दिनभर पसल खोलेर बेलुका घर फर्कनुको अरु कुनै विकल्प नरहेको रानी नाकामै विगत २५ बर्षदेखि कपडा पसल सञ्चालन गर्दै आएका लालचन्द्र कुमारको भनाई छ । हाल दुईछाक टार्न पनि गाह्रो हुँदै गएको उहाँको गुनासो छ ।
भारतबाट आँखा उपचारका लागि आउने भारतीय नागरिक हाम्रो ग्राहक थिए, केही न केही खरिद गरेरै जान्थे, उहाँले भन्नुभयो, ‘तर कोरोना महामारीका कारण नाका बन्द भएपछि हाम्रो व्यापारमा पनि लक लाग्यो ।’
विराटनगर–१५ स्थित रानीमै विगत १५ बर्षदेखि चश्मा पसल सञ्चालन गर्दैै आउनुभएका मोहम्मद रहिस भन्नुहुन्छ, ‘बन्द हड्तालमा पनि २ घण्टा पसल खोल्दा मनग्य व्यापार हुन्थ्यो । तर अहिले व्यापारिक कारोबार शुन्य हुन पुगेको छ ।’
पछिल्लो समय सीमा नाका बन्द हुँदा करोडौं नेपाली रुपैयाँ भारत जान रोकिएको दलिल पेश भईरहँदा सीमावर्ती क्षेत्रका व्यापारहरु भने ठप्प हुने अवस्थामा पुगेका छन् ।