विराटनगर । कोरोना भाइरहेको जोखिम बढ्दै गएपछि विराटनगर महानगरपालिकाले बैशाखभर शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना महामारीको दोस्रो लहर बढैसँगै महानगरपालिकाभित्रका विद्यालयहरु वैशाखभर बन्द गर्ने निर्णय महानगरले गरेको हो ।
महामारीको जोखिम बढेकाले भौतिक रूपमा लिइने कक्षा परीक्षा बैशाख मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय भएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिए । बैशाख मसान्तसम्म भौतिक रूपमा लिइने कक्षा र परीक्षा स्थगित गर्ने निर्णय भएको उनले बताएका छन् ।
यसअघि महानगरले स्वास्थ्य साबधानी अपनाएर परीक्षा सञ्चालन गर्न अनुमति दिएको थियो । अब बैशाख मसान्तपछि अवस्था हेरेर मात्र परीक्षा सञ्चालनको निर्णय हुने महानगरले जनाएको छ । महानगरभित्रका विद्यालयले परीक्षाका लागि भन्दै एकसाता अघि बिदा दिएर आइतबारबाट परीक्षा सुरु गरेका थिए ।
सङ्क्रमणको जोखिम बढेपछि सोमबारबाट परीक्षा बैशाखभर स्थगित गर्ने निर्णय भएको प्याब्सन विराटनगरले जनाएको छ ।