बेलबारी । आर्थिक अभावका कारण धेरै विद्यार्थीहरुले पठनपाठन नै पुरा नगरी बिचमै पढाई छाड्ने गरेको घटना नयाँ भने होइन ।
त्यो अवस्था आउन नदिन मोरङको बेलबारी नगरपालिकाले बेलबारी बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने नयाँ विद्यार्थीको भर्नाशुल्क तिरिदिने भएको छ ।
२०७७/७८ मा प्रथम वर्षमा भर्ना हुने सबै संकायका बिद्यार्थीरुहको भर्ना शुल्क नगरपालिकाले तिरिदिने नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताएका छन् । क्याम्पसमा शिक्षाशास्त्र, म्यानेजमेन्ट तथा आर्टस् संकायको पठनपाठन हुने गरेको छ ।
तीनवटै संकायमा अध्ययन गर्न आउने विद्यार्थीहरुको भर्ना वापतको सम्पूर्ण खर्च नगरपालिकाले ब्यहोरिदिने गरी वैशाख ५ गतेको नगर कार्यापालिकाको बैठकले निर्णय गरेको छ । आर्थिक अभावका कारण कसैले पनि पठनपाठन छाड्नु नपारेस् भन्ने उद्देश्यका साथ यस्तो निर्णय गरीएको नगर प्रमुख सुवेदीले बताए ।
एक जना विद्यार्थीले भर्ना शुल्कबापत ६ हजार १ सयदेखि ६ हजार २ सय रुपैयाँसम्म बुझाउने गरेका थिए । नगरपालिकाले उक्त रकम ब्यहोरिदिने भएपछि विद्यार्थीसमेत खुसी भएका छन् ।
सुरुमा क्यापसका कोठाहरुमा धेरै विद्यार्थी आउने गरेपनि फाइनलमा परीक्षामा फारम भर्ने समयमा संख्या न्युन हुने गरेको क्याम्पस प्रमुख खगेन्द्र लुईटेलको भनाई छ । २०६५ सालमा स्थापना भएको क्याम्पसको आफ्नै जग्गामा भवन नगरपालिकाको सहयोगमा बनेको छ ।
यसअघि आफ्नै भवन नहुँदा घर भाडामा लिएर क्याम्पस सञ्चालन गर्ने गरिएको थियो । साँघुरो कक्षाकोठामा विद्यार्थीको पठनपाठनमा समेत असर पर्ने गरेकोमा अहिले सहज भएको विद्यार्थीहरु बताउँछन् ।
यसैगरी बेलबारी नगरपालिकाले बेलबारी बहुमुखी क्यापसलाई ल्यापटप, कम्पयूटर तथा प्रोजेक्टर प्रदान गरेको छ । बेलबारी नगरपालिकाका प्रमुख सुवेदीले तीन थान ल्यापटप, तीन थान प्रोजेक्टर र एक थान कम्प्युटर क्याम्पस प्रमुख लुईटेललाई हस्तान्तरण गरेका हुन् ।