इन्धनको मूल्यमा पुनः वृद्धि, अझै घाटा रहेको निगमको दाबी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा पुनः १ रुपैयाँ वृद्धि भएको छ।

नेपाल आयल निगमले गत चैत २२ गते मात्रै इन्धनको मूल्य बढाएको थियो । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँ मूल्य बढाएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १ सय २१ र डिजेल तथा मट्टितेलको १ सय ४ रुपैयाँ कायम भएको छ । त्यस्तै, आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा पनि २ रुपैयाँ वृद्धि भएको छ । एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने बढाइएको छैन ।

निगमका अनुसार मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ६ रुपैयाँ ७२ पैसा, डिजलमा ४४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु ४१७.४७ पैसा घाटा रहेको छ । त्यस आधारमा १५ दिनमा रु ७० करोड ६६ लाख घाटा हुनेछ । निमगका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नेपाल भारत सीमाको रक्सोलको तुलनामा वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २९ रुपैयाँ २३ पैसा र डिजल प्रतिलिटर ३५ रुपैयाँ ४१ पैसा नेपालतर्फ सस्तो छ ।

शनिबार, ०४ बैशाख, २०७८, रातीको १०:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर