खुवालुङको स्थलगत अध्ययन

खुवालुङ फुटाउनेबारे कुनै सरकारी निर्णय भएको छैन : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ को उदयपुर, भोजपुर र धनकुटाको सङ्गमस्थल शहिदभुमि गाउँपालिका–१ मा पर्ने ‘खुवालुङ’ क्षेत्रको स्थलगत अध्ययन गरिएको छ ।

मङ्गलबार प्रदेश १ का मुख्यमन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री, सांसद र विज्ञहरुसहितको टोलीले सो क्षेत्रको स्थलगत अध्ययन गरेको हो । जल यातायात विस्तारमा अवरोध सिर्जना गरेको कारण ‘खुवालुङ’ फुटाउने हल्ला चलेसँगै करिब डेढ महिनायता सो बिषयले एकाएक चर्चा कमाएको थियो । सोही हल्लालाई चिर्न मङ्गलबार प्रदेश सरकारका मुख्यमन्त्री स्वयंम सो क्षेत्रको स्थलगत अध्ययनका लागी खुवालुङ पुग्नुभएको हो ।

सो क्षेत्रको स्थलगत अध्ययन गर्नुहुँदै प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले मुन्धुमी शक्ति केन्द्रको रुपमा रहेको खुवालुङलाई सार्ने वा फुटाउने बारे संघीय र प्रदेश सरकारले कुनै निर्णय नगरेको बताउनुभयो । उहाँले धार्मिक एवम सांस्कृतिक सम्पदाको रुपमा रहेको खुवालुङलाई संरक्षण गर्न प्रदेश सरकारले विस्तृत गुरुयोजना तयार पारेर अघि बढने जानकारी दिनुभयो ।

नदीको तटीय क्षेत्रको कटानको बारेमा अध्ययन गर्दै आएको ‘डोर वे ईन्टरनेशनल’ को प्राविधिक टोलीले पनि खुवालुङले जल यातायातमा कुनै असर नपुर्‍याउने निष्कर्ष निकालेको छ ।

चतरादेखि दोलाल घाटसम्मको २६४ किलोमिटरमध्ये तत्काल ३० किलोमिटरमा सहजै पानीजहाज चल्नसक्ने अवस्थामा रहेको प्राविधिक टोलीको अध्ययन छ । हाल चर्चामा रहेको खुवालुङ क्षेत्रमा पनि ‘बोयेन्सी मार्कर’ राखेर ५ मिटर वरिपरिबाट जल यातायात सञ्चालन गर्न सकिने डोर वे ईन्टरनेशनलका अध्यक्ष विपुलराज पाण्डेले जानकारी दिनुभयो ।

प्रदेश १ को अरुण, तमोर र दुधकोशी नदीको सङ्गमस्थलमा अवस्थित रहेको ढुङ्गालाई किराँत समुदायले आफ्नो पवित्र तीर्थस्थल ‘खुवालुङ’ भनी परिभाषित गर्दै आईरहेका छन् । किराँत समुदायको आस्थाको धरोहरको रुपमा रहेको ‘खुवालुङ’ लाई फुटाउनुको सट्टा यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरेर लैजानुपर्ने उनीहरुको माग छ ।

मङ्गलबार भने किराँत राई यायोक्खा केन्द्रिय समितिको अग्रसरतामा प्रदेश सरकारका मुख्यमन्त्रीसहितको टोलीले खुवालुङको स्थलगत अध्ययन गरेको हो ।

 

बुधबार, १८ चैत, २०७७, साँझको ०७:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर