शुभद्रा भट्टराई
झापाको काकडभिट्टामा बसेर साहित्य, शैक्षिक, सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय नाम हो शुभद्रा भट्टराई । नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञसभा सदस्य उहाँ पेशाले शिक्षक पनि हुनुन्छ । सिर्जनात्मक गतिविधिमा सक्रिय रहनुभएकी उहाँसँग साहित्य, एकेडेमीको गतिविधि लगायतबारे हाम्रोमतले गरेको कुराकानी प्रस्तुत छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ भएपछिको फरक अनुभव कस्तो छ ?
म जस्तो साहित्यको सामान्य बिद्यार्थीलाई सरस्वतीको मन्दिरको प्रतिक,सहित्यको तीर्थस्थल, साहित्यिक सर्जकहरूको मूल थलो प्रज्ञा– प्रतिष्ठान जस्तो राष्ट्रको गौरव बोकेको संस्थाले, मेरो मूल्यांकन गरेर मनोनयन गरेकोमा मलाई प्रशस्त नयाँ कुराहरू सिक्ने अवसर प्राप्त गर्नुको साथै एउटा छुट्टै पहिचान प्राप्त गरेको अनुभूति गरेकी छु। जुन मेरा लागि अत्यन्तै गौरवको विषय हो। सानैदेखि सामाजिक काममा रूचिराख्ने भएका कारण पनि होला अहिले आएर प्रज्ञाप्रतिष्ठानमा जाँदा समाजले र विभिन्न सामाजिक सघसंस्थाहरूबाट प्राप्त हुने सम्मान पृथक पाएकी छु।
साथै एउटा गहन जिम्मेवारी बोध गर्दै समाज परिवर्तन र राष्ट्र निर्माणका सन्दर्भमा सशक्त रूपमा लेखनलाई परिस्कृत गरेर पहिचान सँगसँगै हरेक क्षेत्रमा सकारात्मक सन्देश गरि सामाजिक रूपान्तरणमा निरन्तर लाग्नुपर्ने कुराहरूप्रति सजक र अझ प्रतिबद्ध बनाएरको कुरा गहिरोगरि महसुस गरेकी छु। साथै प्रज्ञा–प्रतिष्ठानले गर्ने हरेक गतिविधि र कार्यक्रमहरूमा चाहिँ प्राज्ञसभा सदस्यहरूलाई पनि उत्तिकै महत्त्वका साथ सहभागी गराई कुनै न कुनै जिम्मेवारी दिनु पर्छ भन्ने लाग्छ।
नेपाल प्रज्ञाप्रतिष्ठान यतिबेला नेपाली साहित्य कलाको श्रीवृद्धिको लागि के गरिरहेको छ ?
नेपाल प्रज्ञाप्रतिष्ठान साहित्यको विकासमा मात्र सिमित छैन ।यो समग्र वाङ्मय सम्बन्धित राज्यको उच्च प्रज्ञिक संस्था हो । कलाको कुरा गर्नु पर्दा ललितकलाको विकासका निम्ति चाहिँ दोस्रो जनआन्दोलनपछि ललितकला प्रतिष्ठान छुट्टै गठन भएको छ र यसले नै कला क्षेत्रलााई हेर्छ। नेपाल प्रज्ञाप्रतिष्ठान चाहिँ वाङ्मयका भाषा, साहित्य,संस्कृति ,दर्शन र समाज शास्त्र गरि पाँचवटा क्षेत्रमा काम गर्दछ। यसका मुख्य त तिनवटा कार्यहरू छन्। (जस्तोः गोष्ठि, अध्ययन, अनुसन्धान र प्रकाशन) यी क्षेत्रहरूमा यसले विगतदेखि नै महत्वपूर्ण कार्यहरू गर्दै आएको छ। प्रतिष्ठानले गहन किसिमका अध्यन अनुुसन्धान गराई प्रज्ञिक विकासमा महत्त्वपूर्ण देन दिईरहेको मैले पाएकी छु।
जहाँसम्म साहित्यको विकाशको प्रश्न छ यसले साहित्यका विधागत विकासका निम्ति अनेकौं विषयमा अध्ययन अनुसन्धान, कृति प्रकाशन, विभिन्न भाषाका कृति अनुवाद, अन्तरास्ट्रिय सम्बन्धको विस्तार, विभिन्न विधागत पुरस्कारको स्थापना आदि कार्यद्वारा साहित्य क्षेत्रमा उल्लेखनीय योगदान गरिरहेको छ। जस्तो २०७५ सालमामात्रै एक नं. प्रदेश स्तरीय ३ दिने भाषा साहित्य सङ्गोष्टि दमकमा भव्यताकासाथ सम्पन्न गर्यौ । सायद यो मोफसलमा अर्थात प्रदेश स्तरीय गरिएको पहिलो कार्यक्रम हो भन्ने लाग्छ। यद्यपि म त्यहाँ कार्यकारी जिम्मेवारीमा छैन । तथापि प्राज्ञसभा सदस्यको कार्य भनेको प्रज्ञा परिषदले निर्णय गरेर ल्याएका नीति तथा कार्यक्रमहरू पारित गर्ने र थप योजनाहरूको कार्य निर्माणमा सहयोगिको भूमिका खेल्नेमात्र हो भन्ने लाग्छ।
प्रज्ञाप्रतिष्ठानलाई सरकारी साहित्यकारको जमात भन्नेहरू पनि छन् के त्यस्तो अवस्था हो ?
नेपाल प्रज्ञाप्रतिष्ठान नेपाल सरकारको अर्थात राज्यको उच्च प्राज्ञिक संस्था हो । यस संस्थामा कहिले को कहिले को पुग्ने कुरो स्वभाविक छ। साहित्यकार सृजनाले नै स्थापित हुने हो । सृजना नगरी कोहि पनि स्थापित हुनसक्दैन यस्ता साहित्यकार मध्ये प्रशासनिक र प्रज्ञिक क्षमता भएकाहरू मध्येबाट केही व्याक्तिहरूलाई छानेर राज्यले जिम्मेवारी दिएर त्यहाँ पुग्ने गरेका छन्।त्यहाँ पुगेकाहरूले पनि ऐनले निर्देशन गरे बमोजिम वाङ्मयका विविध विधाको उन्ययन र विकाशका निम्ति समस्त लेखक साहित्यकारहरूलाई समेटेर नै अगाडि बढ्ने हो। त्यहाँ जानेहरूको भूमिका भनेको संयोजनकारी मात्र हो । संस्था त सबैको हो नि ! काम त बाहिर रहेकाहरूले र उनिहरूकै पक्षमा अझ भन्ने हो भने समग्र वाङ्मयको हुने भएकाले यस्तो विभाजन गर्नु उपयुुक्त हुन्छ जस्तो मलाई लाग्दैन ।जसले यस्तो सरकारी र गैरसरकारीको कुरा गर्छ त्यो चाहिँ आग्रह पूर्वाग्रहमात्र हो ।जिम्मेवारीका हिसाबले चाहिँ सरकारी जिम्मेवारी भन्न सकिन्छ । प्रज्ञा र सृजना चाहिँ सरकारी र गैर सरकारी हुँदैन भन्ने लाग्छ।
प्रज्ञा प्रतिष्ठानमा हुँदा र नहुँदाको अनुभव एक जाना लेखक पाठकका लागि केही फरक हुन्छ ?
कुनै पनि सर्जक स्रष्टाले म प्रज्ञा प्रतिष्ठानमा जान्छु भनेर लेखन कार्यमा लागेको हुँदैन ।उसले समाज रूपान्तरणका लागि सचेतना मुलक लेख, कथा, कविता, निबन्ध, नियात्रा लेखिरहेको हुन्छ। जसले समाजमा भएका अर्ध चेतनशैलीका मानिसलाई सचेत गराउने र सामाजिक, साँस्कृतिक, राजनैतिक विकृति विसङ्गतिहरूका विरूद्दमा सचेत गराउन उसले निरन्तर कलम चलाई रहेको हुन्छ। यस्तो वेलामा प्रज्ञाप्रतिष्ठानमा पुग्नु, एउटा गहन जिम्मेवारी बोध गर्नु चै महत्त्वपूर्ण विषय हो तर जो सबैमा सद्भाव, समभाव, आदर सत्कार र अग्रजहरू लगायत सम्पूर्ण पुराना नयाँ पुस्ताका लेखकहरूको सम्मान गरेर निरन्तर लेखनलाई अगाडि बढाइ रहन्छ भने उसलाई कुनै ठूलो कुरा लाग्दैन फेरि अर्को कुरा के हो भने राज्यको तर्फबाट पाएको एउटा उच्चकोटीको सम्मान त हो ।यसले गरिमालाई बढाउँछ तर आम पाठकलाई भने जो जाहाँ गए पनि उसको व्याक्तिगत सोचले फरक पार्छ जस्तो लाग्छ। त्यसमा पनि मैले महसुस गरेको समाजमा धेरै कार्यहरू गर्न चाहिँ जिम्मेवारीले निक्कै बाध्ने रहेछ भन्ने हो ।तथापि लेखनीमा लागेका मानिसहरू र आम पाठकमात्र भएको सन्दर्भमा चाहिँ सामान्य फरक हुन्छ।
तपाईं पूर्वको सिमान्त जिल्ला झापा बस्नुहुन्छ त्यहाँको कला साहित्यको वर्तमान अवस्था बारे के भन्नुहुन्छ ?
म पूर्वको झापाको मेचीनगर वडा नं ६ को काँकरभिट्टा त्यसमा पनि मेची नदिको किनार मै बस्छु । मेरो जन्म थलो , बाल्यकाल र अहिलेसम्मको कर्मथलो त्यै मेची किनार मै छ। यहाँको साहित्य र कलालाई भन्नुपर्दा नेपालको पूर्वीद्वारले आजसम्म सहित्य ,कला ,संस्कृतिलाई अत्यन्तै महत्वका साथ लिने गरेको छ। यहाँ भारतको पश्चिम बंगाल, भुटान, बर्मा, बंगलादेशहरूबाट अत्यधिक लेखक, साहित्यकार, कलाकार, खेलाडीहरू आउने गर्छन्। यसरी विभिन्न देशहरूबाट आउने हरेक प्रकृतिका यात्रुहरू नेपाल भित्रि रहँदा नेपाली भाषा साहित्यका धरोहर भानुभक्तको पूर्णकदको शालीक र महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको शालीक, वलिहाङ्को शालीक, …. शालिकहरू, केही हरियाली बाटिकाहरूले साथै सुसेली साहित्य परिवार, भानु प्रतिष्ठान जस्ता संस्थाहरू अनि कलाकारीतामा लागेका क्षितेन शेर्पा जस्ता कला र थुप्रै गलाका धनीहरूले कला साहित्यको उथ्थानमा निरन्तर लागिपरेको अवस्था छ। यो झापा जिल्ला हरेक क्षेत्रको उन्ययन गरेर कृति राख्न सफल जिल्ला पनि हो ।
साथै यस जिल्लामा रिडर्स झापा, लेखनाथ पुस्तकालय , साहित्य चौतारी झापा, त्रिफला पुस्तकालय मोति बाटिका, जस्ता धेरै साहित्यिक संस्थाहरू छन् यी सस्थाहरूसँग जोडिएका नव प्रतिभाहरूको खोजीगरि अगाडि बढाउने स्थापित गर्ने, स्रष्टाहरूको सम्मान गर्ने, अन्तरदेशीय भाषा सङ्गोष्ठि २०७०, भानु र देवकोटा जयन्तीको अवसर पारेर विधागत अग्रज स्रष्टाको सम्मान, सुसेलीले श्रमजीवी कर्मठ महिलाहरूको पहिचान गरि सम्मान गर्ने, विभिन्न जातजातिको लोक संस्कृतिको झाकी प्रस्तुत गर्ने, कविता, कथा, निबन्ध, वाचन गर्ने क्तृत्वकला, परिवर्तन थियटरले समय सापेक्ष नाटक प्रदर्शनी गर्ने, विभिन्न धार्मिक र साँस्कृतिक पर्यटकीय स्थलहरूको पहिचान गराउने सम्रचनाहरू, शालीकहरू निर्माण गरि अनगिन्ति साहित्यिक, कला, साँस्कृतिक पहिचान गराउने खालका संरचनाहरूको अस्तित्व बोध गराउन राष्ट्रभित्र र अन्तरास्ट्रियतर्फ जाने धेरै साहित्यकार कलाकारहरूलाई कार्यक्रममा जाने आउने सबैलाई स्वागत सत्कार र विदाई समेत भव्यताका साथ गर्ने गरेको छ । यी बाहेक बोडर ईलाका भएका कारण विभिन्न गन्तव्यमा पुग्ने पर्यटकहरूलाई समेत स्वागत सत्कार गरि देशको पहिचानको प्रमुख आकर्षकका रूपमा कार्य गर्न यहाका धेरै साहित्यिक, सामाजिक सघसंस्थाहरू क्रियाशील रहेकाछन् । साथै नेपाली साहित्य क्षेत्रका मूर्धन्य व्यक्तित्वहरू महानन्द सापकोटा, फाल्गुनन्द, मातृकाप्रसाद घिमिरे, झर्रोवादी आन्दोलनका धरोहर श्री चुडामणि रेग्मी, कुलपति, प्रधानमन्त्री जस्ता अनगिन्ति महारथीहरूको कर्मथलो बनिसकेको झापा जिल्लामा साहित्य कलाको क्षेत्रमा स्थानीय जनताको पहलमा निक्कै प्रगति भएको छ। तर पनि राज्यका तर्फबाट हाम्रा साहित्यिक, साँस्कृतिक क्षेत्रहरूमा लगानी गरि कार्य गर्न भने निकै जरूरी देखिन्छ। तर पनि साहित्य ,कला , साँस्कृतिक र खेलकुदको मान झापालीहरूको सान भएको छ। यो झापाको पूर्वीद्वार काँकरभिट्टा।
नेपालमा प्रगतिशील लेखनको अवस्थासँग सन्तुस्ट हुनुहुन्छ ?
नेपालमा प्रगतिशील लेखनको बारेमा भन्नू पर्दा पहिले पहिले प्रगतिशीलताभित्र देशको राजनीतिक अवस्था र सामाजिक रूपमा जनतले प्रत्यक्ष भोगेका पीडाहरू बोल्ने गर्थे । केहि हदसम्म समाज परिवर्तनका सचेतना, सन्देश मुलक लेख रचनाहरू पाईन्थे ।आजभोलि प्रगतिशीलका नाममा अति पूँजीवादी गन्ध आउन थालेको छ । अर्को कुरा केही केही हदसम्म प्रगतिशीलका नाममा पूर्ण बामपंथी सिद्धान्तलाई उचालेर पार्टीलाई केन्द्रमा राखेर लेख्ने गरेको पनि आभास भएको पाईयो।तर प्रगतिशील भनेको त हिजोको राणा शासन, पंचायती शासन व्यवस्थाभित्र रहेको दमनकारी प्रवृति, समाजमा भएका कु संस्कार संस्कृतिहरू, विकृति, विसङ्गतीहरूको बारे जनतालाई सकारात्मक सचेतना मुलक सन्देश प्रवाह गर्नु हो भन्ने लाग्छ। प्रगतिशील लेखनले नयाँ पुस्ताहरूलाई सामाजिक, राजनीतिक संस्कार संस्कृति, सामाजिकीकरणको परिवेश, बाह्य वातावरण सबैखाले प्रवृतिहरू समय सापेक्ष परिवर्तन हुने खालको अति सचेतना मुलक सृजना लेखनलाई महत्व दिनुपर्छ भनेर जागरण ल्याउनु पर्नेमा अलि पार्टी वाद हाबी भएको हो कि ? भनेर चाहिँ अलि सन्तुष्ट छैन तर मानव जीवन पूर्णरूपले परगेलेर सबैखाले परिस्थिति र वस्तुस्थितिलाई सन्तुलन मिलाई समय सान्दर्भिक परिवर्तन र समय सापेक्ष सचेतनामुलक चेतना उजागर गरेर जनताको मर्मलाई अभिव्यक्त गर्ने र हरेक क्षेत्रमा मानव जीवनका भोगाईको यथार्थतालाई परिस्कृत गरेर सामाजिक रूपान्तरणका लागि नयाँ आयामबाट सन्देश मुलक विचाहरू पस्कनु चाहिँ प्रगतिशील विचारधाराबाट प्रभावित रचना हुन सक्छ भन्ने लाग्छ।
मोफसलको साहित्य लामो समयसम्म काठमाडौंको छाँयामा परो अहिले पनि त्यस्तै छ कि फरक छ अवस्था ?
पहिलाको अनुपातमा त निक्कै परिमार्जित भएको छ तर पनि काठमाडौंको एकलौटी प्रतिनिधित्वको छाँयाबाट मोफसलको साहित्य अझैपनि अछुतो छैन । राजधानीको पहुचको बाहुल्यताले देशभरिका सबै जिल्लाहरूलाई प्रभाव चाहिँ पारेको छ। अर्को सबैभन्दा खड्केको विषय चाहिँ के लाग्छ भने ३०÷४० औं वर्षदेखि काठमाडौंलाई कर्मथलो बनाउने अनि साहित्यिक संस्थामा प्रतिनिधित्व गर्दा चाहिँ अन्य आफू जन्मेको जिल्लाको प्रतिनिधित्व गर्दै नेत्रृत्व गर्ने प्रवृतिले मोफसलको साहित्यलाई निक्कै प्रभाव पारेको छ। काठमाडौं बसेर अन्य जिल्लाकोे प्रतिनिधित्व गर्नु भन्दा जुन जिल्लामा बसेर साहित्य, कलाको क्षेत्रमा काम गरिरहेका साहित्यकारहरू हुनुहुन्छ वहाँहरूले नै प्रतिनिधित्व गरेको राम्रो हुन्छ।राजधानी केन्द्रित रहेर साहित्यको उथान हुन सक्दैन् । त्यसकारण प्रज्ञा प्रतिष्ठानमा पनि प्रत्येक जिल्लाबाट नै प्रतिनिधित्व हुन जरूरी छ अनि मात्रै मोफसलको साहित्य कला संस्कृति पनि माथी उठ्न सक्दछ भन्ने लाग्छ।
लेखक साहित्यकारहरू एक अर्कोप्रति वैरभाव राख्ने ईष्यालु हुन्छन भन्ने आरोप छ साच्चै त्यस्तै हो अवस्था ?
यो बडा अचम्मको अनि तितो यथार्थ लुकेको प्रश्न गर्नुभयो । साहित्यकार भनेको समाजको छुट्टै बौद्धिक पहिचान बोकेकोे र समाज रूपान्तरणका लागि आफ्ना सृजनाहरूबाट सकारात्मक सचेतनामुलक सन्देश प्रवाह गर्ने एउटा दर्बिलोे मियो हो। समग्रमा भन्नु पर्दा जुनसुकै स्तरको लेखक होस साहित्सकारले कहिले पनि बैरभाव र ईष्र्यालू स्वभाव राख्नु हुँदैन। हुन त सबै साहित्यकारहरू बौद्विक्ता भएका पनि नहुन सक्छन् तर मैले प्रत्यक्ष भोगेकोको र अनुभूति गरेको तितो यथार्थलाई जस्ताको तस्तै भन्नूपर्दा उच्च बौद्विकता बोकेको साहित्यकारहरूको भिडमा पनि अत्यन्तै संङ्कीर्ण विचार र इष्र्यालु वैरभाव राख्ने प्रसस्तै कलमकर्मीहरू छन्। खासगरि भन्नुपर्दा पहिलो पुस्ताले पछिल्लो पुस्तालाई अर्थात अग्रजहरूले अनुजहरूलाई नपत्याउने, नस्वीकार्ने र केही अनुजहरूले पनि यी बुढाहरूले संसार काहाँ देखेको छर भनेर अलि हठी प्रवृति चाहिँ हाबी भएको छ।
कुनैपनि साहित्यकारले उसले आफ्नो कार्य क्षमताले होस वा कार्यकौशलताले होस साहित्य क्षेत्रमा प्रसिद्धि प्रप्त गरो भने आफुलाई अग्रज मूर्धन्य विद्वान ठान्नुहुने केही केही अग्रजहरूले पनि वैमनस्यता र इष्र्यालु प्रवृतिबाट आफुलाई टाढा राख्न सक्नु भएको अवस्था देखिदैन।आफुभन्दा पछिका पुस्ताले गरेको कार्यलाई सहस्र स्विकार्न नसकेको र आफुमात्र विज्ञ हुँ भन्ने अहमतावादका कारण यो अवस्था देखिएको छ।
यसरी यहाँले भन्नु भए जस्ताो साहित्यिक क्षेत्रभित्र र संघ संस्थाभित्र गुट उपगुट बनाएर एकले अर्काको अस्तित्व नस्विकार्ने वैरभाव राख्ने र इष्र्यालुपन चाहिँ प्रष्टसँग झल्किने गरेको केही हदसम्म देखिन्छ।
प्राज्ञसभा सदस्य भएपछि सिर्जनात्मक काममा कुनै अवरोध पुगेको छ कि छैन ?
हामी महिलाहरूले वहन गर्नुपर्ने पारिवारिक, सामाजिक र राजनीतिक जिम्मेवारीहरू धेरै छन् । आफुले निर्वाहा गर्नु पर्ने कार्यहरूलाई मध्यनजर गरेर समयको व्यवस्थापन गर्नु पर्ने चुनौती हामीहरूसँग हुन्छ। त्यसकारणले गर्दा पनि अझ आफुलाई अपडेट राख्न र सिजनात्मक कार्यमा पूर्ण रूपले लाग्नलाई केही हदसम्म सामान्य अवरोध त सबैलाई हुन्छ ।
क्षमता, दक्षता र योग्यता भएर पनि हामी महिलाहरूले राज्यका विभिन्न निकायहरूमा, नीति निर्माण गर्ने र प्रमुख कार्य सम्पादन गर्ने ठाउँमा सङ्ख्यात्मक हिसाबले प्रयाप्त मात्रमा प्रतिनिधित्व गर्न सकेका त छैनौं तर पनि म प्राज्ञसभा सदस्यसँगसँगै अध्ययन अध्यापनको कार्यलाई पनि अगाडि बढाउँदै लैजाले एक जिम्मेवार शिक्षक पनि हुँँ। त्यसैले आफ्नो सृजनात्मक कार्यले जति तिब्रता पाउनु पर्ने थियो जति फड्को मार्नु पर्ने थियो त्यति पाउन सकेको अवस्था छैन भन्ने महसुस चै गरेकी छु।
एउटा कुरा चै भन्नै पर्छ म प्राज्ञसभा सदस्य भएपछि सृजनात्मक लेख रचनाहरूको लेखनमा चाहिँ निक्कै उर्जा थपिएको छ । सकेसम्म चाँडै अर्को एउटा कविता सङ्ग्रह यहाँहरू समक्ष पस्कने जमर्को गर्दैछु । जिम्मेवारीका हिसाबले सामान्य अवरोधहरू आए पनि सामाजिक रूपमा निक्कै प्रतिष्ठा प्राप्त गरेको अनुभूति चै भा’छ।
तपाईं राजनीतिक रूपमा पनि सकृय भूमिका गरिरहनु भएको नेता हो यो जिम्मेवारीले केही असर गरेको छ ?
सर्व प्रथम त म के भन्न चाहान्छु भने कुनै पनि व्यक्ति आफुले गर्ने कामप्रति आफ्नो ईच्छाशक्तिलाई उजागर गरेर सामाजिक राजनीतिक कार्यहरूप्रति कर्तब्यनिष्ठ, लगनशील, इमानदारी र समझदारी कायम गरि सदैव सकारात्मक सन्देश प्रवाह गर्ने, सहनशील, विनम्रता र गोपनियता कायम गर्न सक्ने खालको हुनुपर्छ भन्ने लाग्छ । यहाँले नेता भन्नुभयो म पार्टीको जिम्मेवार पदमा पनि छैन र म नेता पनि होईन । सामाजिक कार्य र संघ संस्थाहरूको कामले अलिक व्यस्त चै हुन्छु त्यसले गर्दा लेखनलाई जति छिटो अगाडि बढाएर लानु पर्थ्यो तेति सहज र सरल तरिकाले पूर्ण रूपमा समय खर्चिन भने सकेकी छैन। यसले केही हदसम्म सामान्य असर चै गरेको छ।
अन्त्यमा केही भन्नु छ ?
एउटा भन्न मन लागेको कुरा नेपाल सरकारले राज्यका धेरै कार्य पद्धतिहरूलाई सकारात्मक ढङ्गले अगाडि बढाउने कार्य गरेको भएता पनि जनताको पूर्ण बहुमतबाट निर्माण भएको सरकार हुँदाहुँदै पनि तिनै जनताले प्रत्यक्ष प्रत्याभूति गर्ने र सुखानुभूति गर्ने खालका कुनैपनि कार्य सम्पादन हुन नसकेकोमा चाहिँ सारै दुुःख लागेको छ। यसप्रति सरकारको ध्यान जाओस । देश र जनताको हितमा काम गर्न सकोस । साथै नेपाल सरकारले साहित्य, कला र संस्कृतिलाई देशको पहिचानको रूपमा अगाडि बढाउन लुकेर बसेका पहुँच नपुगेर निरिह बन्नु परेका विभिन्न भाषाभाषी, कला र गलाका पारखीहरूलाई मेचीदेखी महाकालीसम्म पुर्याउन नेपाल प्रज्ञाप्रतिष्ठानको ऐनलाई परिमार्जित गरि ७ वटै प्रदेशमा नेपाल प्रज्ञाप्रतिष्ठानको मातहत रहनेगरि प्रदेश स्तरीय प्रतिष्ठानहरू निर्माण गर्न सकोस राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म नेपालको कला साहित्यलाई चिनाउने र देशको गरिमालाई उँचो राख्ने कार्य गरोस राज्यका जुनसुकै निकायमा हाम्राले भन्दा काम गर्ने राम्राले अवसर पाउन् भन्ने लाग्छ।
अर्को कुरा महिलाहरू कुनै पनि महत्वपूर्ण पदमा पुग्दाखेरी अझै यो समाजमा पुरूष प्रधान सोचको तुस बाँकी नै रहेछ भन्ने महसुस राम्रोसँग गरेकी छु। मैले आफू प्रज्ञाप्रतिष्ठानमा पुगेको दुई वर्ष पुगिसक्दा पनि केही केही मै हुँ भन्ने अग्रजरूलाई वहाहरूको अंश खोसेर खाईदिएको जस्तो व्यवहार गर्नुहुन्छ । म भन्दा ठूलो धेरै प्रगतिशील लेख रचना कसैले लेखेको छैन भन्ने विद्वानहरूले चाहिँ हरेक ठाउँमा महिला भएकै कारण अपमानजनक व्यवहार पनि गर्नु भएको छ। तर म मेरा अग्रज, समकालीन साथीहरूको र अनुजहरू अर्थात युवा पुस्ताहरूलाई धेरै सम्मान गर्छु । विद्वानहरूमा सङ्किर्णता हुँदैन भन्थे तर सबैभन्दा इष्र्यालु त अग्रजहरू नै हुनुहुँदो ररेछ। अर्को कुरा जबसम्म महिलालाई महिलाले सम्मान गर्ने परिपाटीको विकास हुँदैन तबसम्म हामीलाई पुरूष प्रधान समाजले गाँजीरहन्छ।