विराटनगर । भारततर्फ तस्करी हुन लागेको ठूलो परिमाणको इन्धन बरामद भएपछि नेपाल आयल निगमले ढुवानीकर्ता र पेट्रोलपम्पलाई पनि कारवाहीको दायरामा ल्याउने भएको छ ।
भारततिर तस्करी हुन लागेको २ हजार ६ सय ६० लिटर डिजेल ट्याङकरदेखि बरामद भएपछि निगमले कारवाहीको प्रक्रिया अगाडि बढाएको हो ।
निगमले ढुवानीकर्ता र तस्करी गर्न तेल भोर्ने पेट्रोलपम्पलाई कारवाहीको लागि प्रक्रिया अगाडि बढाएको नेपाल आयल निगमको प्रदेश नम्बर १ को कार्यालयका प्रमुख नकुल भण्डारीले जानकारी दिनुभयो । २९ फागुनमा ट्याङकरबाटै डिजेल भारततिर तस्करी हुने गरेको खुलेको थियो । इन्धन तस्करी गर्ने को १ ख ५९१२ नम्बरको ट्याङकर ढुवानीकर्ता चरणप्रीत सिंहको रहेको खुलेको छ ।
निगमका कर्मचारीले लक गर्नुभन्दा अगाडि ट्यांकर चेकजाँच गर्दा ट्यांकरको एक च्याम्बरमा डिजल फेला परेको थियो । कुनैपनि रित्तो ट्यांकरलाई पेट्रोलियम ढुवानी गर्न भारतको बरौनी वा सिलिगुडी पठाउँदा ट्यांकरका चार वटै च्याम्बरको परीक्षण गरेर लक लगाएर मात्र पठाउने गरिन्छ ।
सिलिगुडीबाट २० हजार लिटर पेट्रोल ल्याएर बेलबारी, विराटचौक र सुनसरीको तरहराको पेट्रोल पम्पहरूमा दिएको सो ट्यांकरले त्यसपछि तस्करीको लागि डिजल लोड गरेको पाइएको छ । भारततिर इन्धन तस्करी हुन लागेको डिजेल बरामद भएकोले ढुवानीकर्ता र डिजेल भर्ने पेट्रोलपम्पलाई पनि कारवाहीको दायरमा ल्याउने तयारी अगाडि बढाएको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो ।
‘अहिले राजस्व अनुसन्धान कार्यालय इटहरीले अनुसन्धान गर्दैछ । हामीले राजस्वको निर्णय पर्खिरहका छौं’ भण्डारीले भन्नुभयो, ‘घटनामा निगमले पनि छुट्टै कारवाहीको प्रक्रिया अगाडि बढाउनेछ ।’ निगमको बिनियम अनुसार बदमासी गर्ने ढुवानीकर्तालाई ३ देखि ६ महिना निलम्बन र आपूर्ती बन्दसमेत गर्न सकिनेछ ।
तस्करी गर्न डिजेल भर्ने पेट्रोलपम्प अहिले नखुलिसकेकोले यस विषयमा पनि अनुसन्धान भइरहेको निगमले जनाएको छ । ट्यांकर डिपोमा पेट्रोल खाली गरेपछि कुनै पेट्रोलपम्पमा गएर डिजल भराएको देखिएको भण्डारीले बताउनुभयो । गलत तरिकाले डिजल भर्ने पम्प पनि कारबाहीको दायरामा आउने उहाँको भनाइ छ ।
पक्राउ परेका ट्यांकर तथा चालक दलका २६ वर्षीय मोहम्मद सजाद र २१ वर्षका इमरोज आलमले प्रहरीलाई दिएको बयान अनुसार उक्त ट्यांकरमा मोरङको बुढीगङ्गगा गाउँपालिका–४ निमुवास्थित नीतेश ट्रेड नामको पम्पले डिजल भरेको थियो । महेशकुमार अग्रवालको पम्पले प्रतिलिटर २ रुपैयाँ बढी लिएर डिजल भरेको स्रोतको दाबी छ ।
तस्करी गर्न डिजेल भर्ने पेट्रोल पम्पलाई निगमको बिनियम अनुसार १ लाख रुपैयाँ जरिवानादेखि ६ महिनासम्म निलम्बन गर्नसक्ने प्रावधान रहेको छ । अनुसन्धानको क्रममा रहेकोले उक्त पम्पदेखि डिजेल भरेको पुष्टि भए कारवाहीको भागिदार बन्ने निगमले जनाएको छ ।
नेपालमा भन्दा भारतमा डिजल प्रति लिटर २५ रुपैयाँले महंगो छ । मूल्यमा भएको यहि अन्तरको फाइदा उठाउन डिजलको तस्करी गरिएको हो । भारतमा पेट्रोल प्रतिलिटर १ सय ५५ रुपैयाँ प्रतिलिटरसम्म पर्छ । नेपालमा भने पेट्रोलको मूल्य १ सय १६ रुपैयाँ छ । डिजल नेपालमा ९९ रुपैयाँ प्रतिलिटर छ भने भारतमा १ सय २५ रुपैयाँ प्रतिलिटर रहेको छ ।
फागुन २९ गते बरामद भएको इन्धन भारत पु¥याउँदा करिब ६५ हजार रुपैयाँ तस्करीमा लागेका गिरोहलाई फाइदा हुनेथियो ।