धरान । सुनसरीको धरानमा हुने बुढासुब्बा गोल्डकपको २३ औं संस्करण यो वर्ष नहुने भएको छ ।
कोरोना महामारीको कारण आर्थिक सहयोग जुट्न नसक्ने भएपछि गोल्डकप स्थगित गरिएको हो । आयोजक धरान फुटबल क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै २३ औं संस्करण आयोजना गर्न असमर्थ भएको जानकारी दिएको छ । २०५५ सालदेखि शुरु भएको बुढासुब्बा गोल्डकप पहिलो पटक आयोजना रोकिएको हो ।
द्वन्द्वकाल, मधेश आन्दोलनजस्ता विषम परिस्थितिमा पनि विगतमा यो प्रतियोगिता निरन्तर आयोजना भएको थियो । क्लबका अध्यक्ष किसोर राईले प्रतियोगिताको कुल बजेटमध्ये ७५ प्रतिशत दाताहरुबाट नै संकलन हुने गरेको र बाँकी २५ प्रतिशत प्रायोजक, सहप्रायोजकबाट पाउँदै आएकोमा कोरोना महामारीले गर्दा सबैको आर्थिक अवस्था जर्जर रहेकोले गोल्डकपलाई पनि असर पुगेको बताउनुभयो ।
आयोजक क्लबले गत वर्षको २२ औं संस्करणको विजेता र उपविजेताको पुरस्कार राशी पनि सबै दिन नसकेकोबारे पनि प्रष्ट पारेको छ । प्रदेश १ सरकारबाट आउने भनिएको १० लाख र राष्ट्रिय खेलकुद परिषदबाट आउने ५ लाख बजेट पहिलो र दोस्रो हुने टिमलाई उपलब्ध गराउने भनिएकोमा अहिलेसम्म बजेट नआउँदा मनाङ मस्र्याङ्दीलाई २ लाख ५० हजार मात्र दिएको अध्यक्ष राईले बताउनुभयो ।
उपविजेता नेपाल पुलिस क्लबलाई पनि पुरस्कार राशी ५ लाख हालसम्म उपलब्ध गराउन नसकेको आयोजकले जनाएको छ । २२ वर्षको इतिहासमा पहिलो पटक समयमा पुरस्कार राशी उपलब्ध गराउन नसकेकोमा दुःख लागेको अध्यक्ष राईले बताउनुभयो ।