विराटनगर । बच्चा रुने बित्तिकै मोवाइलमा कुनै गेम वा युट्युव खोल्देर उसलाई फकाउन कोसिस अभिभावक कति होलान् ? गणना गरेर साध्यै नहुने यसको स्वाभाविक उत्तर हुनसक्छ धेरै ।
घरमा अन्य गतिविधिमा रमाउनुको सट्टा घण्टौंसम्म मोबाइल वा अन्य कुनै ग्याजेटमा भुलिने बालबालिका कति होलान् ? स्वाभाविक उत्तर आउँछ धेरै । कोरोनाकालमा स्कुल बन्द हुँदा तपाइँका नानीहरु कसरी भुलिन्थे ? निःसन्देह मोबाइल, ल्यापटप वा अन्य कुनै ग्याजेटमा ।
पछिल्लो समयमा मोबाइलमा घन्टौं झुम्मिने बालबालिकाको संख्या लगातार बढ्दो छ । यसले अभिभावकलाई क्षणिक दिक्कपनबाट जोगाए पनि बालबालिकाको लामो भविष्यका लागि भने डरलाग्दो असर पारिरहेको छ । मनोवैज्ञानिकहरुका अनुसार यस्तो बानीले बालकालिकालाई क्रमशः एकान्तप्रेमी मात्रै होइन असामाजिक पनि बनाउँदै लगेको छ ।
यसको अनुभव गर्ने अभिभावक असंख्य छन् । तिनैमध्येकी एक हुन् विराटनगर ३ की स्वीकृति नेपाल । आठ वर्षे छोरी र पाँच वर्षे छोराकी आमा स्वीकृति आफ्ना बच्चाहरु स्कुलबाट फर्कनासाथ मोबाइलमा झुम्मिने गरेको बताउँछिन् । ‘खाजा पनि नखाई केटाकेटी मोबाइल खोज्न थाल्छन्’, उनले भनिन् ‘यो बानी कसरी छुटाउने चिन्ता लागिसक्यो ।’
बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाका अनुभवीहरु यसमा अभिभावकहरु सबैभन्दा जिम्मेवार बन्नुपर्ने बताउँछन् । ‘बालबालिकालाई जस्तो बानी लगायो, उस्तै सिक्दै जाने हुन्’, झापाका बाल अधिकारकर्मी मणि लिम्बु भन्छन् ‘यदि हरेक बिहान वा बेलुका अभिभावक टेलिभिजनमा रमाउँछन् भने बालबालिकाले त्यही सिक्छन् । मोबाइलमा बाबुआमा जतिखेरै व्यस्त भएको देखेपछि उनीहरुले पनि त्यही सिक्छन् । त्यसैले हुर्कौलो उमेरका नानीहरुको आनीबानीमा अभिभावक जिम्मेवार हुन्छन् ।’
विज्ञान प्रविधिको उच्चतम विकास र डिजिटलाइजेसनले बन्द गर्न नसकिए पनि नियन्त्रण गर्न भने सकिने राय बाल अधिकारकर्मीहरुको छ । एन्ड्रोइड् मोबाइल, टिभि रिमोट, ल्यापटपसँगै अन्य विद्युतीय सामग्रीहरु आजभोलि बालबालिकाको हातमा थमाइएकै हुन्छ । कारण, यो पनि होकि–उनीहरुलाई केवल भुल्याउनु छ उनीहरु पनि यसैमा रमाउँछन् ।
केही अघिमात्रै कोरोना भाइरस महामारीको कारण सबै शैक्षिक संस्थाहरु बन्द रहे । बालबालिकाहरु फुर्सदिला भए । अधिकांश बच्चाहरुको हातहातमा एन्ड्रोइड् मोबाइल या टिभिको रिमोट थमाइयो । पछिल्लो समय धेरैजसो बालबालिकाको ‘मोबाइल गेम’मा खेल्ने लत बसेको छ भने कतिको कार्टुन हेर्ने लत बसेको छ । अधिकांश अभिभावकका लागि बालबालिकालाई भुलाउने गतिलो माध्यम बनेका छन् यी माध्यम ।
आफू पनि मोबाइलमा व्यस्त रहने र बच्चालाई पनि मोबाइल खेलाउन दिने धेरै अभिभावकहरु छन् । जसले गर्दा धेरैजसो बालकालिकाहरु मोबाइलबिना खाना खान नमान्ने, सुत्न नमान्ने जस्ता क्रियाकलापहरु गर्ने गरेको पाइन्छ । मोबाइल र टिभीमा लत बसेका बालबालिकाले बाहिरी गतिविधिमा घुलमिल हुन रुचाउँदैनन् ।
पछिल्लो समय अधिकांश अभिभावकहरु सोध्ने गर्छन्–‘बच्चालाई मोबाइलको लतबाट कसरी छुटकारा दिलाउने ? बच्चा मोबाइल नहेरी खाना खान मान्दैनन् के गर्ने होला ?’
बुढीगंगा १ की इन्दिरा कोइरालाको पनि उही गुनासो छ, ‘बच्चालाई मोबाइलबाट कसरी टाढा राख्ने होला ? इन्दिराको ७ वर्षीय छोरा छन् । बच्चा सानो छँदा आफू कार्यालय पनि जानुपर्ने भएकाले घरधन्दा भ्याउनुपर्ने अवस्था हुँदा बच्चालाई मोबाइल खेलाउन दिएर भुलाउँदा पछिल्लो समय बच्चाको मोबाइल खेलाउने आदत नै बसेको उनले बताइन् । ‘कोरोना महामारीले गर्दा स्कूल सबै बन्द रहे, केटाकेटी भुलाउने नै मोबाइल भएको थियो । फेरी आफू कार्यालय जानुपर्छ । हतारमा बच्चालाई भुलाउनैका लागि भए पनि मोबाइल दिने गर्दा लत बनै बस्यो ’ उनले भनिन् ।
उनी थप्छिन् ‘कोरोना महामारीले गर्दा स्कूल सबै बन्द थिए । केटाकेटी भुलाउने नै मोबाइल थियो । फेरी आफू कार्यालय जानुपथ्र्यो । हतारमा बच्चालाई भुलाउनैका लागि भए पनि मोबाइल दिने गर्दा लत नै बस्यो ।’ उनले आफ्नो मोबाइल बच्चालाई नदिँदा आफूसँग नै बच्चा रिसाउने गरेको पनि सुनाइन् ।
त्यस्तै विराटनगर ६ कि लिना थापा पहिलेको बच्चा र अहिलेको बच्चाको तुलनात्मक हिसाबले भन्दा धेरै नै परिवर्तन आएको बताउँछिन् । ‘पहिलेको बच्चाहरु बिहान उठेर हातमुख धोएर, केही समय पढाइलाई, केही समय घरको काममा केन्द्रित हुन्थे भने पछिल्लो समयका बच्चाहरु हरेक महत्वपूर्ण समय मोबाइलमा नै खेर फाल्ने गरेका छन् । यसो हुनुमा हामी अभिभावकको कमजोरी पनि हो ’ उनी भन्छिन् ।
अभिभावकको व्यस्त जीवनशैली, आमा–बाबा नै कामकाजी भएकाले पनि कामको चटारोमा बच्चा अलमलाउन मोबाइल दिने गर्दा पनि बच्चाहरुमा मोबाइल खेलाउने लत बसेको हो ।
नेपालका प्रसिद्ध शिक्षाविद् डा. केदारभक्त माथेमाले लेखेका छन् ‘अचेल बच्चाहरुको सामाजिकीकरण एकदमै कम छ । किनभने तिनलाई बसले स्कुल पुर्याउँछ, बसले घर ल्याउँछ । बाटोमा न कसैसँग चिनजान हुन्छ, न बोलचाल, केवल आउने र जाने भएपछि तिनको सामाजिकीकरण कमजोर बन्छ ।’ त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति माथेमाले चिन्ता गरेको विषयमा अहिले विद्युतीय सामग्री पनि थपिएका छन् , जसले उनीहरुलाई असामाजिक बनाउने जोखिम उच्च पारेको छ ।
‘हामीलाई सानोमा आमाले घरको काम सिकाउनुहन्थ्यो, हामीले पनि हाम्रो आमाले जस्तै बच्चालाई घरायसी काम सिकाउनुपर्ने हो । तर, तर श्रीमान् श्रीमती नै काम गर्ने भएपछि व्यस्त जीवनशैलीेले गर्दा प्रविधिको बढ्दो विकाससँगै बच्चालाई केही संस्कार दिन सकिएको छैन’, बालरोग विशेषज्ञ डा. रामभक्त सुवेदी भन्छन् ‘ मोबाइलको लतले बच्चा सामाजिक रुपमा घुलमिल हुन नचाहाने, मोबाइलमा बढी ध्यान केन्द्रिकृत हुने एकान्तमा बस्न रुचाउने जस्ता क्रियाकलाप बढेको छ ।’
मोबाइल भेटेपछि घण्टौंसम्म एक्लै मोबाइल चलाउँदै बस्ने, कोसँग कस्तो व्यहवार गर्ने, कसरी बोल्नेजस्ता क्रियाकलापले अहिलेको बच्चामा संस्कार पनि हराउँदै गएको उनले बताए । अत्याधिक मात्रामा मोबाइल चलाइरहँदा यसले शारीरिकसँगै मानसिक समस्या पनि ल्याउने उनको भनाइ छ ।
डा. सुवेदीको भनाइअनुसार बच्चाहरु धेरै समय एकै ठाँउ बसेर मोबाइल चलाइरहँदा बच्चाहरुको मांशपेशी बलियो नहुने समस्या हुन्छ । जसले गर्दा खेलकूदमा रुची कमी आउने समस्या उत्पन्न हुन्छ । बढी मोबाइल चलाउने बच्चालाई चलाउन नदिँदा धेरै छिटो रिसाउने जस्ता समस्याहरु देखिन्छन् । लामो समयसम्म मोबाइल हेरिरहँदा आँखामा समस्या आउन सक्छ । आँखा मात्रै नभएर दिमागमा पनि असर पर्छ । विस्तारै बालबालिकाको मष्तिस्कलाई सुस्त बनाइदिन्छ । मोबाइलले गर्दा एक्लै बस्ने, परिवारको सदस्यसँग कुरा गर्न नरुचाउने जस्ता समस्याहरु देखिन्छ ।
मोबाइलको लत बसेको बच्चाहरुलाई लत छुटाउन गाह्रो हुन्छ । पछिल्लो समय मोबाइल नदिइ पनि नहुने अवस्था छ । जानकारहरुका अनुसार बच्चालाई राति ओछ्यानमा बसेर मोबाइल हेर्न नदिने र एक घण्टा, आधा घण्टा गर्दै मोबाइल धेरै हेर्ने लत छुटाउन सकिने डा. सुवेदीको भनाइ छ ।
बच्चालाई मोबाइलको सट्टा अन्य खेलौना दिने, केही समय अभिभावकले बालबालिकालाई समय दिने, उनीहरुसँग घुलमिल भइदिने , पुस्तक पढ्न दिने, कथा सुनाउने, घुमाउन लैजाने गर्दा मोबाइललगायतका अन्य विद्युतीय सामग्रीहरुको लत सजिलै छुट्याउन सकिने उनको भनाइ छ । यसमा पनि अभिभावककै भूमिका बढी हुने उनको भनाइ छ ।