मनमोहन प्राविधिक विश्वविद्यालय

विद्यार्थीले बनाए सौर्य मेसिन

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयमा ३ वर्षे ईलेक्ट्रिकल इन्जिनियरिङ अध्ययनरत ८ जना विद्यार्थीहरुको समूहले वैकल्पिक उर्जामा आधारित बाली काट्ने मेशिन निर्माण गरेको छ ।

मंगलबार क्याम्पसमा आयोजित वैज्ञानिक यन्त्र तथा उपकरणको प्रदर्शनीका कार्यक्रममा उनीहरुले सौर्य उर्जाबाट चल्ने मेशिन सार्वजनिक गरेका हुन् ।

सौर्य उर्जाबाट सञ्चालन हुने उपकरणले इन्धनको खपत घटाउने र बर्षेनि रित्तिदै गएको अनवीकरणीय उर्जाको श्रोतलाई पनि संरक्षण गर्ने विद्यार्थीहरुले बताएका छन् । कुल ३४ हजार बराबरको लागतमा निर्माण गरिएको उपकरण कृषक वर्गका लागि लाभदायक साबित हुनसक्ने ईलेक्ट्रिकल इन्जिनियरिङमा अध्ययनरत छात्र रोशनकुमार मेहताले बताउनुभयो ।

मनमोहन प्राविधिक विश्वविद्यालयको इलेक्ट्रोनिक्स विभागमा अध्ययनरत विद्यार्थीहरुको अर्को समूहले ब्लुटुथद्वारा नियन्त्रण र सजिलै स्थानान्तरण गर्न सकिने सौर्य उर्जामा आधारित ‘रोबोटिक सर्भाइलेन्स क्यामेरा’ निर्माण गरेका छन् । घरको जुनसुकै कुनाबाट सञ्चालन गर्न सकिने सो क्यामेराले चारै दिशाको लाइभ दृश्य कैद गर्छ । कैद गरिएको दृश्य सम्बन्धित व्यक्तिको मोबाईलमा सजिलै हेर्न सकिन्छ ।

सुरक्षामा थप सहजता थप्ने उद्देश्यका साथ निर्माण गरिएको प्रोजेक्टमा थप प्राविधिक सुधार गर्न सकिए भविष्यमा यसलाई सजिलै व्यावसायीकरण गर्न सकिने विद्यार्थीहरुको बुझाई छ । प्रोजेक्टमा थप लगानीको आवश्यकता रहेको छात्र निशान्त गौतमले बताउनुभयो ।

प्रोजेक्टलाई वायरलेस इन्टरनेटको सहायताले भौतिक उपस्थितिबिना घरबाहिरबाट पनि सञ्चालन गर्न सकिन्छ । तर, त्यसका लागि हामीलाई थप लगानी चाहिन्छ ।’

सोही विभागमा अध्ययनरत विद्यार्थीहरुको अर्को समूहले भुकम्पको पूर्व जानकारी दिने यन्त्र तयार पारेका छन् । सो यन्त्रले भुकम्प आउनुभन्दा १० देखि १५ सेकेण्ड अगावै आउने सामान्य पराकम्पलाई महशुस गरेर अर्लामको माध्यमबाट जानकारी दिने कार्य गर्दछ ।

यसको मद्दतले भविष्यमा भुकम्पबाट हुने ठुलो जनधनको क्षतिबाट जोगिन सकिने विद्यार्थीहरुको बिश्लेषण छ । मोरङको बुढीगंगा–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा मंगलबार ३ वर्षे डिप्लोमा अध्ययनरत विद्यार्थीहरुले आफैले बनाएका २ दर्जन बढी वैज्ञानिक यन्त्र तथा उपकरण प्रदर्शन गरेका छन् ।

मंगलबार इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल, सिभिल र मेकानिकल विभागमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो अध्ययनकालमा आर्जन गरेका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको सदुपयोग गर्दै निर्माण गरेका उपकरण प्रदर्शन गरेका हुन् । प्रदर्शनीका लागि क्याम्पसले इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल विभागलाई ६–६ तथा मेकानिकल र सिभिल विभागलाई ७–७ समूहमा विभाजन गरेको थियो । एक समूहबाट १ प्रोजेक्ट हुने गरि विद्यार्थीहरुले कुल २६ वटा प्रोजेक्ट निर्माण तथा प्रदर्शन गरेका थिए ।

विश्वमा बढ्दो प्राविधिक जनशक्तिको मागलाई परिपूर्ति गर्न तथा विद्यार्थीहरुलाई स्वरोजगार बनाउन उनीहरुले निर्माण गरेका यन्त्र उपकरणलाई व्यावसायीकरण गर्ने बिषयमा क्याम्पसले पनि ध्यान दिनुपर्ने प्रदेश १ सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख कृष्णप्रसाद पोखरेलले बताउनुभयो । प्रदेश सरकार पनि आवश्यक सहयोग गर्न तत्पर रहेको जानकारी दिनुभयो ।

विद्यार्थीहरुले निर्माण गरेका अधिकांश यन्त्र उपकरणहरु औद्योगिक क्षेत्रका लागि उपयोगी रहेको सिटीइभिटी प्रदेश १ का प्रमुख गोपाल दाहालले बताउनुभयो । विद्यार्थीहरुले निर्माण गरेका प्रोजेक्टलाई थप परिस्कृत गरेर औद्योगिक क्षेत्रमा प्रयोग गर्न सकिए अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उद्योग क्षेत्रको विकासमा थप टेवा पुग्ने उहाँको भनाइ छ ।

प्रदर्शनीलाई प्रदेश १ सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख कृष्णप्रसाद पोखरेल, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका क्याम्पस प्रमुख ओमप्रकाश ढकाल, सिटीईभिटी प्रदेश १ प्रमुख गोपाल दाहाल र मनमोहन प्राविधिक विश्वविद्यालयका प्रधानाध्यापक इन्जिनियर सुदीप अधिकारीलगायतले अवलोकन तथा निरिक्षण गरेका थिए ।

बुधबार, २६ फागुन, २०७७, बिहानको १०:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर