नक्कली सहयोगी राखेर शिक्षकको परीक्षा

दुहबी नगरपालिका–१२ पूर्वकुशाहास्थित श्री शारदा आधरभूत विद्यालयमा रित्त रहेको करारतर्फ दृष्टिविहिन शिक्षक पदपूर्ती गर्न लिइएको परीक्षामा नक्कली सहयोगी राखेर प्रथम चरणको वस्तुगत परीक्षामा दिनेश मण्डल उत्तीर्ण भएको खुलासा

विराटनगर । सुनसरीको दुहबी नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयको रित्त रहेको करारको शिक्षक पदपूर्ती गराउने परीक्षामा एक जना परीक्षार्थीले नक्कली सहयोगी राखेको खुलेको छ ।

दुहबी नगरपालिका–१२ पूर्वकुशाहास्थित श्री शारदा आधरभूत विद्यालयमा रित्त रहेको करारतर्फ दृष्टिविहिन शिक्षक पदपूर्ती गर्न लिइएको परीक्षामा नक्कली सहयोगी राखेर प्रथम चरणको वस्तुगत परीक्षामा दिनेश मण्डल उत्तीर्ण भएको खुलेको हो ।

फागुन १५ गते भएको परीक्षामा सहभागी भएका मण्डलले विद्यालयको स्वीकृतिमा कक्षा ११ मा पढ्दै आएका रामचन्द्र मण्डललाई राख्नुपर्नेमा किर्ते कागजपत्र पेश गरि १२ उत्तीर्ण रविन यादवलाई राखेको पाइएको हो ।

नक्कली सहयोगी राखेर प्रथम चरणको परीक्षा उत्तीर्ण गरेका दिनेशलाई नियुक्त गर्न दोस्रो चरणको फाइन परीक्षामा सामेल गराउन दुहबी नगरपालिका प्रमुख बेदनारयण गच्छदारले दबाब दिएको पाइएको छ । दिनेश गच्छदारका आफन्त हुन् ।

विद्यालयले रित्त रहेको राहत करारा शिक्षकमा दृष्टिविहीन शिक्षक पदपूर्ती गराउन पुस २९ गते सूचना प्रकाशित गरेको थियो । फागुन १५ गते स्कूलले लिएको पहिलो चरणको बस्तुगतर्फको परीक्षामा ७ जना सहभागी भएका थिए । परीक्षामा दिनेश मण्डल, आशा सुब्बा, सूर्यमाया लिम्बू, मायावती राजवंशी, रन्जित महतो, धिरेन्द्रकुमार विक र श्रवण महतो सहभागी थिए ।

उनीहरू सबैले १÷१ जना सहयोगी राखेका थिए । पहिलो चरणको परीक्षा दिएका ७ जनामध्ये दिनेश, मायावती र श्रवण उत्तीर्ण भए । उत्तीर्ण भएका उनीहरूमध्ये दिनेशले राखेको सहयोगी विद्यालयले स्वीकृत दिएको नभएर नक्कली भएको खुलेको छ ।

उम्मेदवारले परीक्षामा सहयोग राख्दा प्लस टु अध्ययन गर्दै गरेको हुनुपर्ने मापदण्ड तय गरिएको छ । तर, दिनेशले राखेको सहयोगीले विराटनगरस्थित सृजना ज्ञानकुञ्ज माविबाट कक्षा १२ उत्तीर्ण गरेको खुलेको छ । सृजना ज्ञानकुञ्जले दिनेशको सहयोगी रुपमा कक्षा ११ मा पढ्दै गरेका रामचन्द्र मण्डल राख्न सिफारिस गरेको थियो । तर, दिनेशले कक्षा १२ उत्तीर्ण गरेका रविन यादवमा राखेको पाइएको हो ।

अहिले दोस्रो चरणको १०० सय पूर्णाङ्कको फाइनल हुने परीक्षामा दिनेशले राखेको नक्कली सहयोगी रविनलाई सामेल गराउन चलखेल सुरू भएको छ । नक्कली सहयोगी राखेर उत्तीर्ण भएको परीक्षार्थीलाई पनि दुहबी नगरपालिकाका शिक्षा शाखा अधिकृत विकास घिमिरेको दबावमा राख्ने तयारी गरेपछि सोमबार हुने भनिएको दोस्रो चरणको फाइनल परीक्षा स्थगित भएको छ ।
रित्त रहेको करारको शिक्षक पदपूर्ती गर्न लिने फाइनल परीक्षा अनिश्चितकालको लागि स्थगित गरिएको दुहबी नगरपालिका शिक्षा महाशाखा प्रमुख निलमणि खनालले बताउनुभयो । करारको शिक्षक पदपूर्ती गराउने परीक्षामा विवाद आएपछि तत्कालको लागि स्थगित गरिएको उहाँको भनाइ छ ।

‘परीक्षार्थीले राखेको सहयोगी नक्कली भन्ने कुरा बाहिर आएको छ,’ खनालले भन्नुभयो, ‘त्यस विषयमा हामीले छानविन सुरू गरेका छौं । नक्कली सहयोगी राखेको पाइए परीक्षार्थीको उम्मेदवारी खारेज गरि प्रक्रिया अगाडि बढाउनेछौं ।’ दुहबी नगरपालिका शिक्षा शाखा अधिकृत तथा परीक्षा समितिका सदस्य समेत रहेका विकाश घिमिरेले भने परीक्षा सञ्चालनमा दबाब नदिएको बताउनुभयो । उहाँले परीक्षार्थीले नक्कली सहयोगी राखेको पुष्टि भए कारवाही हुने पनि बताउनुभएको छ ।

शारदा आधरभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा परीक्षा केन्द्रअध्यक्ष दिलीपकुमार मेहताले एक जना परीक्षार्थीको नक्कली सहयोगी फेला पारेकोले छानविन सुरु गरेको बताउनुभयो । ‘परीक्षा दिएपछि कागजपत्र हेर्दा अहिले एक जना परीक्षार्थीको नक्कली सहयोगी रहेको खुलेको छ,’ उहाँले भन्नुभयो, ‘अहिले हामी छानविनको क्रममा छौं ।’ विद्यालयका प्रधानध्यापक सुरेशकुमार खत्रीले परीक्षा समितिको निर्णायपछि थप प्रक्रिया अगाडि बढने जानकारी दिनुभयो ।

२०३३ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा ८ सम्म पढाइ हुने गरेको छ । सो विद्यालयमा अहिले २ सय ४० जना विद्यार्थी छन् । चार जना दरबन्दीका र कारारका तीन जना शिक्षक रहेका छन् ।

मङ्गलबार, २५ फागुन, २०७७, बिहानको ०९:५० बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर