विराटनगर । विराटनगरको लर्डबुद्ध कलेज र ट्राफिक प्रहरी कार्यालय मोरङको सहकार्यमा साताव्यापी ट्राफिक सचेतना तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
लर्डबुद्ध कलेज तथा जिल्ला ट्राफिक कार्यालय मोरङको समन्वयमा कलेजका विद्यार्थीमार्फत सप्ताहव्यापी ट्राफिक सचेतना तथा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।
फागुन ९ गतेदेखि १४ गतेसम्म विद्यार्थीहरुले “सडक दुर्घटनाबाट बचौं, सदैव सचेत रहौं” भन्ने मुल नाराका साथ विराटनगरको विभिन्न चोकमा स्वयमसेवक रुपमा खट्दै पैदलयात्री, फुटपाथ व्यापारी, सिटी तथा अटो सवारी चालक तथा ठुला–साना गाडीका सवारी चालकका निम्ति ट्राफिक नियम तथा सचेतनाबारे जानकारी गराउनुभयो । सप्ताव्यापी सचेतना तथा सरसफाई कार्यक्रममा विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको र यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश गएको कलेजका प्रिन्सिपल सरोज भट्टराईले बताउनुभयो ।
यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख चन्द्र खड्काले लर्डबुद्ध कलेजसँगको सहकार्यमा यस किसिमको कार्यक्रम गर्दा खुसी व्यक्त गर्नुभयो । यहि शैक्षिक सत्रदेखि न्यूरो हस्पिटलको स्वामित्वमा आएको लर्डबुद्ध कलेजले कोभिड १९ को महामारीबच अनलाइन प्रविधिले अध्यापन मात्र नगरी भौतिक कक्षा संचालन गरेपछि पनि डिजिटल प्रविधि प्रयोग गरी सुविधा सम्पन्न भौतिक पूर्वाधारहरुमा कक्षाहरु सञ्चालन गरिरहेको जनाएको छ ।
वस्तुगत एवम विषयगत शिक्षा मात्र नभई कलेजले विद्यार्थीहरुको क्षमता अभिवृद्धिसहित नेतृत्व विकासको लागि पनि यस किसिमको कार्यक्रम आयोजना गरेको निर्देशक भट्टराईले बताउनुभयो ।