कोशी अस्पतालमा स्टाफ नर्स पदपूर्तिको नतिजा प्रकाशित गर्न आलटाल

अस्पतालले १२ जना स्टाफ नर्स माग गरेपनि ४३९ जनाको आवेदन पछि भएको परीक्षाको नतिजा अझै प्रकाशन भएन

विराटनगर । कोशी अस्पतालले डेढ महिना अगाडि स्टाफ नर्स नियुक्त गर्न सञ्चालन गरेको परीक्षाको नतिजा निकाल्न आलटाल गरेको छ ।

लामो समयदेखि रिक्त रहेको स्टाफ नर्सको दरबन्दी करार सेवामार्फत पदपूर्ति गर्न अस्पतालले मंसिर २८ मा विज्ञापन प्रकाशन गरेको थियो ।

अस्पतालले १२ जना स्टाफ नर्स माग गरेर मंसिर २८ गते सूचना निकालेपछि ४३९ जना प्रतियोगीहरुले आवेदन दिएका थिए । रिक्त दरबन्दीमा पदपुर्ति गर्ने उद्देश्यले अस्पतालले पुस २५ गते परीक्षा सञ्चालन गरेकोमा परीक्षाको नतिजा अझै प्रकाशन गरेको छैन ।

नतिजाको पर्खाइमा परीक्षार्थीहरु रहेको बेला परीक्षा नै खारेज गरी परीक्षार्थीसँग लिएको आवेदन शुल्क फिर्ता गर्नेतर्फ छलफल हुन थालेको छ । नतिजा प्रकाशन नभएपछि अस्पतालमा बुझ्न गएकी एक परीक्षार्थीले भन्नुभयो ‘रिजल्ट कहिले आउँछ भनेर सोध्न आएकी थिएँ । रिजल्ट कहिले आउँछ भन्न सकिदैन, परीक्षा नै खारेज हुनसक्छ भन्ने जवाफ पाएँ ।’

अस्पतालमा धेरै समयदेखि रिक्त रहेको दरबन्दीमा ६ महिनाका लागि करार सेवामा स्टाफ नर्स भर्ना गर्न खोजिएको थियो । पुस २५ गते परीक्षा सञ्चालन भएपछि एक साताभित्रै रिजल्ट तयार भइसकेको थियो । माघ ३ गतेभित्रै परीक्षा समितिमा रिजल्टको शिलबन्दी प्राप्त भएको बताइएको छ । सबै तयारी पुरा भएपनि मेडिकल सुपरिटेण्डेन्टले इच्छा नदेखाएकै कारण परीक्षाफल प्रकाशन हुन सकेको छैन ।

अस्पतालका प्रवक्ता डा.लक्ष्मीनारायण यादवले रिक्त दरबन्दीमा सरकारले कर्मचारी खटाएर पठाउन थालेपछि के गर्ने भन्ने दुविधा भएको प्रतिक्रिया दिनुभएको छ । नेपाल सरकारको दरबन्दी रिक्त रहेकोले सरकारले कर्मचारी पठाएपछि कसरी करारमा नियुक्त गर्ने भन्ने समस्या अस्पताललाई परेको उहाँको दावी छ । ‘नेपाल सरकारको दरबन्दी खाली थियो करार सेवा मार्फत पदपूर्ति गर्न सूचना निकाल्यौं । तर, अहिले दरबन्दीकै स्टाफहरु आइरहेका छन्,’ उहाँले भन्नुभयो ‘त्यही कारणले गर्दा नतिजा प्रकाशनमा ढिलाइ भएको हो, के गर्ने भनेर हामी सल्लाह गर्दैछौं ।’

स्रोतका अनुसार करार सेवामा स्टाफ नर्स माग गरेपछि सरकारले दुई जना कर्मचारी सरुवा गरेर पठाएको छ । अब अस्पतालमा १० जनाको दरबन्दी खाली छ । सूचनामा १२ जनाको आवश्यकता माग भई परीक्षा सञ्चालन भइसकेको अवस्थामा के गर्ने भन्ने समस्या अस्पताललाई परेको हो ।

रिक्त दरबन्दीमा पदपूर्ति गर्न अस्पतालले मेसु डा. चुमनलाल दास संयोजक रहेको पाँच सदस्यीय परीक्षा समिति गठन गरेको थियो । समितिमा अस्पताल सञ्चालक समितिका सदस्यद्वय देवा यादव र शिल्पा कार्की, मेट्रोन डा.मञ्जु यादव र डा.सुधिर श्रेष्ठ हुनुहुन्छ । परीक्षाफल प्रकाशन गर्नका लागि पटक–पटक सदस्यहरुले बैठकको माग गरेपनि मेसु दासले बैठक बोलाउनुभएको छैन ।

‘मेसुले नै इच्छा नगरेका कारण परीक्षा समितिको बैठक बस्न सकेको छैन,’ एक सदस्यले भन्नुभयो ‘बैठक बसौं भन्यो भने उहाँ तर्किनु हुन्छ र रिजल्ट निकाल्न कुनै चासो दिइरहनुभएको छैन । त्यसको कारण पनि हामीले बुझ्न पाएका छैनौं ।’

मङ्गलबार, ११ फागुन, २०७७, बिहानको १०:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर