दुहबी । सुनसरीको दुहवीमा सम्पन्न दोश्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरीतान प्रतियोगिताको उपाधि भारतको पटनाले हात पारेको छ ।
सुनसरी जिल्ला डोरी तान संघ र मनमोहन स्पोर्टस एकेडेमी तथा मोरङ डोरीतान संघको सहकार्यमा दुहवी ५ स्थित श्री सरस्वती माविको खेल मैदानमा शुक्रबार प्रतियोगिताको फाइनल खेल भएको हो ।
खेलमा भारतको पटनाले नेपालको १ नम्वर प्रदेश टोलीलाई हराउँदै उपाधि चुमेको हो । उपाधिसहित भारतले नगद १ लाख, ट्रफि मेडल तथा प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको नेपालको १ नम्वर प्रदेश टोलीले नगद ५० हजार तथा ट्रफि मेडलमा चित्त बुझाएको छ ।
प्रतियोगितामा विजेता तथा उपबिजेता टोलिलाई पूर्वमन्त्री लालबाबु पण्डित र दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले पुरस्कार वितरण गर्नुभयो । फाइनल खेलको समापन कार्यक्रममा डोरीतान संघका केन्द्रीय उपाध्यक्ष डा.शुभाषश्री पोखरेल, केन्द्रीय सदस्य सत्यनारायण चौधरी, मोरङ डोरितान संघका अध्यक्ष रिता न्यौपानेलगायतको सहभागिता थियो ।
डोरीतान प्रतियोगितामा नेपालका ६ टिमहरु नेपाल आर्मी, नेपाल प्रहरी,सशस्त्र प्रहरी, १ नम्बर प्रदेश, ५ नम्बर र आयोजक सुनसरी डोरी तान संघ तथा भारतका बैशाली, विहार, पटना र दरभंगा गरि गरि १० टिमको सहभागिता रहेको थियो ।