विराटनगर । प्रदेश नं. १ को राजधानी विराटनगरमा सर्वसाधारणहरुलाई निःशुल्क मास्क वितरण गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिँदै गएको नोभेल कोरोना भाईरसको संक्रमणबाट बच्न विराटनगरस्थित पञ्चमुखी हनुमान मन्दिर अगाडी मास्क वितरण गरिएको हो । सामाजिक अभियन्ता चान्द ईराकीको पहलमा विभिन्न दाताहरुको सहयोगमा हजार थान टु लेयर मास्क सङकलन गरी वितरण गरिएको छ । कोरोना भाईरसको नाममा जारी कालाबजारीलाइ पनि निरुत्साहित पार्ने उद्देश्यले मास्क वितरण गरिएको अभियन्ता ईराकीले बताउनुभयो ।
सोही अवसरमा बोल्नुहुँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रिय सचिव वसीम आलमले कोरोना भाईरसको नाममा मास्कको कृत्रिम अभाव सिर्जना गरी पैसा कमाउनेलाई समेत अबिलम्ब कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभएको छ ।
त्यस्तै मोरङ्ग प्रहरीका प्रहरी उपरीक्षक विश्व अधिकारीले कोरोना भाईरसबाट जोगिन सर्वप्रथम आफैले संयमता अपनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले भाईरसको नाममा आतङक फैलाउने र कालाबजारी गर्नेलाई कानुनको दायरामा ल्याउन सबै आम नागरिक पनि जागरुक हुनुपर्ने बताउनुभएको छ ।
मास्क वितरणको क्रममा सर्वसाधारणहरुलाई कोरोना भाईरसको लक्षण र यसबाट जोगिन अपनाउनुपर्ने सावधानीहरु बारे समेत जानकारी गराईएको थियो । कार्यक्रममा भने सामाजिक अभियन्ता पेरिश सुवेदी, आभा फाउन्डेशनकी सञ्चालिका आभा अनुपमा र युवा नेता राकेश रोशन यादव लगायतको अन्य बिशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।