विराटनगरमा आकाशे पुल निर्माण प्रक्रिया अघि बढ्यो

१ वर्षभित्र सम्पन्न गरिसक्ने गरी कूल २ करोड ४७ लाखको लागतमा तीन वटा आकाशे पुल निर्माण हुने

विराटनगर । विराटनगर महानगरपालिकाले नगरक्षेत्रभित्र कुल ३ वटा आकाशे पुल निमार्णको प्रक्रिया अघि बढाएको छ ।

पछिल्लो समय विराटनगरमा सवारीसाधनको चाप बढ्न थालेपछि आम सर्वसाधारणको सुगमता र दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यका साथ महानगरले आकाशे पुल निर्माणको प्रक्रिया अघि बढाएको हो । महानगरले १ वर्षभित्र सम्पन्न गरिसक्ने गरी मूल्य अभिवृद्धि कर बाहेक कूल २ करोड ४७ लाखको लागतमा पुल निर्माणको प्रारम्भिक प्रक्रिया अघि बढाएको छ । पुल निर्माणका लागि कला विल्डर्स र आर.के विल्डर्स एण्ड कन्सर्टक्सन कम्पनीले ठेक्का हात पारेको महानगरका ईन्जिनियर अर्जुन थापाले बताउनुभयो ।

नगरक्षेत्रभित्रको विराटनगर–धरान सडकखण्ड अन्तर्गत घाँस चोक, बरगाछी चोक र कञ्चनबारी चोकमा आकाशे पुल निर्माण गर्ने महानगरको योजना छ । यसले विराटनगरको सौन्दर्यता र विकासमा थप टेवा पुग्ने महानगरको परिकल्पना छ । महानगरले गतवर्षदेखि नै पुल निर्माणको प्रक्रिया थालेपनि सडक विभागको स्वीकृत र कानुनी बाधा अड्चनका कारण सो परियोजनाले केही समय ढिलाई व्यहोेरेको थियो ।

तर हाल सडक विभागको स्वीकृति बमोजिम महानगरले प्राविधिक तथा आर्थिक मूल्यांकनको आधारमा पुल निर्मार्ण हुने आशयसहितको सूचना समेत प्रकाशन गरिसकेको छ । आकाशे पुल निर्माणका लागि प्रारम्भिक चरणको प्रक्रिया अन्तर्गत महानगरले अहिले टेण्डर प्राप्त गर्ने निर्माण कम्पनीहरूलाई सम्झौताका लागि पत्र काटिसकेको छ । अबको महिनादिन भित्रै निर्माण कम्पनीसँग सम्झौता भई पुल निर्माणको कार्य थालिने इन्जिनियर थापाले जानकारी दिनुभयो ।

६ लेन सडकको मापदण्ड अनुसार निर्माण हुन गइरहेको आकाशे पुल फलामे संरचनाको हुने महानगरले जनाएको छ । आवश्यकता र अवस्था विश्लेषणको आधारमा पैदल यात्रुहरूको सहजताका लागि आकाशे पुललाई अन्यत्रै पनि सहजै स्थानान्तरण गर्ने सकिने अवधारणा बमोजिम निर्माण प्रक्रिया अघि बढाइएको महानगरको दाबी छ ।

बुधबार, २८ माघ, २०७७, बिहानको १०:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर