मोरङ । प्राचिनकालबाट सुरु भएको गुरुकुल शिक्षामा राज्यको उपेक्षामा पर्दा विद्यार्थीहरू कष्टकर शिक्षा लिन बाध्य बनेका छन् । सरकारले गुरुकुल शिक्षालाई उपेक्षा गरेकै कारण धेरै गुरुकुलमा पढ्ने विद्यार्थीहरूको अवस्था दयनीय रहको छ । त्यसको एउटा उदाहरण हो मोरङको लेटाङ नगरपालिका वडा नम्बर ९ मा रहको बैजनाथ अधिकारी प्रारम्भीक संस्कृत विद्यापिठ ।
संस्कृत भाषाको पढाई हुनेगरेको यस विद्यालयमा २९ जना विद्यार्थी छन् । जुन विद्यालयमा पढ्ने विद्यार्थीहरू अहिले पनि गाँउगाँउमा गएर अन्नबालि संकलन गर्छन् । पढाई खर्चकै लागि उनीहरूले यस्तो गरेका हुन् । ‘बाली थन्क्याउने सिजनामा गाँउगाँउमा गएर अन्नबाली मागेर ल्याउँछौं,’ विद्यार्थी शमिर घिमिरेले बताउनु भयो ।
गुरुकुल शिक्षासँग जोडिएको संस्कृति शिक्षा जीवनोपयोगी र व्यवहारिक मानिन्छ । घरमा नबसी गुरूका अधिनमा रहेर ब्रम्हचार्यपूर्वक त्याग एवं तपस्यायुक्त जीवन यापन गर्दै विद्या आर्जन गर्नु परम्परागत गुरूकुल शिक्षा प्रणालीको प्रमुख उद्देश्य हो । तर, अहिले पनि ढुङ्गेयुगको झल्को दिने खालको शिक्षा लिन बाध्य छन् उनीहरू । उक्त विद्यालयमा दुई जना शिक्षक र एक जना कर्मचारी छन् । गाँसवास कपाससहितको शिक्षा दिनु पर्ने भएकोले अन्नबाली संकलन गर्नु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम खतिवाडाले बताउनु भयो ।
जङ्गलको बिचमा रहेको विद्यालयमा हात्ती तथा अन्य जङ्गली जनावारको समेत डर हुने गरेको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयका भवनहरू सामान्य भएकाले पढ्ने विद्यार्थी (बटुक)को सुरक्षाका लागि राति अबेरसम्म पनि जागै बस्नु परेको गुरुकुलका प्रध्यानाध्यपक एकराज भट्टराईले बताउनु भयो । ६ वर्षको उमेरमा गुरूकुलमा प्रवेश गरिन्छ । नेपालमा प्राचिनकालदेखि शिक्षाको रुपमा विकास भएको गुरुकुल शिक्षा अहिले हराउँदै गएको छ । सरकारले उपेक्षा गरेका कारण आकर्षकमा कमी हुँदै गएको स्थानीय अगुवाको भनाइ रहेको छ । सरकारले ध्यान नदिँदा विभिन्न जाताजाति तथा धर्म संस्कारसँग जोडिएका पठन–पाठन बन्द हुने अवस्थामा आएको स्थानीय पेरिस सुवेदीको भनाइ छ ।
गुरुकुल शिक्षा संस्कृत भाषालाई सबैभन्दा पुरानो भाषा र अध्ययनअध्यापन गराउने शैलीको रुपमा लिइन्छ । यसले संस्कृत र संस्कृतिलाई झल्काउने गर्दछ । नेपालमा भएका गुरुकुल भने व्यवस्थित छैनन् । व्यवस्थित बनाउन राज्यले अहिलेसम्म पनि चासो दिएको छैन ।
प्रधानमन्त्री केपि शर्मा ओलीको गृहजिल्ला तथा निर्वाचन क्षेत्रसँगै जोडिएको यस गुरुकुलका लागि लेटाङ नगरपालिकाले वार्षीक २ लाख ४० हजारका उपल्बध गराउने गरेको छ भने गत वर्ष प्रदेश सांसद उपेन्द्र घिमिरेले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत केहि रकम उपल्बध गराउनु भएको थियो ।
विद्यालको भवनको एउटा कोठामा धान चामल राख्ने गरिएको छ । विद्यार्थीहरूलाई सुत्न बस्नका लागि समेत समस्या देखिन्छ । महँगो विद्यालयमा पठन–पाठन गर्ने प्रचलन बढीरहेका बेला आफ्नो जिविकोपार्जन गर्नका लागि चाहिने शिक्षा लिनका लागि विद्यार्थीहरू तथा विद्यालय परिवार नै दाताको आशमा छ । विद्यालयको अवस्था हेर्दा नेपालमा सरकार छैन भन्ने आवास भएको विराटनगरबाट विद्यार्थीका लागि केहि सामाग्री लिएर आएका भवेश पौडेलले बताउनु भयो ।