विराटनगर । मोरङ र सुनसरीका दक्षिणी क्षेत्रको सीमा नाकाबाट दैनिक रूपमा प्रतिबन्धित बोइलर कुखुरा नेपालमा तस्करी भएर आउने गरेको पाइएको छ । सुरक्षा निकायले तस्करी नियन्त्रणमै रहेको बताउने गरेपनि तस्करहरुको सक्रियता भने घटेको छैन ।
खुला सीमानाको अनुचित फाइदा उठाउँदै भारतबाट अवैध रूपमा तस्करहरूले प्रतिबन्धित ब्रोइलर कुखुरा भित्र्याउन नेकपाका केही नेताको संलग्नतासमेत पाइएको छ । मोरङ प्रहरीले ठूलो परिमाणमा भारतदेखि तस्करी भएको बोइलर कुखुरा मंगलबार बरामद गरेपछि यसको पुष्टि भएको हो । नेकपा कटहरी गाउँपालिकाका अध्यक्ष जीतनारायण सरदारले तस्करी गरि भारतदेखि ल्याएको ठूलो परिमाणको कुखुरा मंगलबार विराटनगरदेखि बरामद भएको छ ।
प्रहरीले भारतको जोगवनीबाट नेपालतर्फ प्रदेश १–०४००१ च ००४६ नं. को पिकअप भ्यानमा राखी तस्करीको २ लाख २५ हजार मूल्य बराबरको ७ सय ५० केजी कुखुरा प्रहरीले बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । बरामद भएको कुखुरा नेकपा कटहरीका अध्यक्ष सरदारको रहेको प्रहरीले जनाएको छ । नेता सरदारको छोरा कटहरी गाउँपालिका ५ का २८ वर्षे किरणकुमार सरदाले भारतदेखि तस्करी गरि ल्याउने क्रममा कुखुरा बरामद गरेको हो ।
तस्करीको कुखुरा प्रहरीले बरामद गरेपछि छुटाउन नेता जितनारायण जिल्ला प्रहरी आउनु भएको थियो । तर, प्रहरीले तस्करीको कुखुरा नष्ट गरि पक्राउ गरेको सवारी साधनलाई र नेता सरदारका छोरालाई आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय बुझाएको छ ।
नेपालसँग सीमा जोडिएका भारतका विभिन्न राज्यहरूमा बर्डफ्लु देखिएपछि पशुजन्य वस्तुको आयात रोक्न सीमामा प्रहरीले कडाइ गरेको छ । तर खुल्ला सीमाको फाइदा उठाउँदै तस्करमा लागेका गिरोहले अनेक जुक्ति अपनाएर कुखुरा तस्करी गराउने गरेका हुन् । तस्करीको कुखुरा विराटनगरसहित पूर्वको फेर्स हाउसहरूमा जाने गरेको छ । अहिले भारतको केही राज्यमा बर्डफुल देखिएको कारणले त्यहाँ कुुखुरा विक्री नहुने गरेको छ । त्यही भएर तस्करीमा लागेका गिरोहले भारतदेखि सस्तोमा कुखुरा खरिद गरि विराटनगरसहित पूर्वको विभिन्न सहरहरूमा सस्तोमा बिक्री गर्दछन् । जसले गर्दा नेपाली किसानले उत्पादन गरेको कुखुरा नोक्सानी व्यहोरेर सस्तोमा कुखुरा बिक्री गर्न बाध्य छन् । सुनसरीको दक्षिणी क्षेत्रदेखि नेपाल भित्रिएको कुखुरा सदरमुकाम इनरुवा, इटहरी, धरानलगायतका स्थानसम्म पु¥याउने गरिएको छ ।
भारतमा सस्तोमा पाइने भएकोले सीमावर्ती क्षेत्रबाट बोइलर कुखुरा नेपाल भित्र्याउन तस्करहरू सक्रिय रहँदै आएका छन् । नेपालमा २४० देखि ३०० प्रतिकेजी पाइने कुखुराको मासु भारतमा भने नेपाली १४० देखि १६० रुपैयाँ केजीसम्ममा पाइने गरेको छ । सीमावर्ती क्षेत्रबाट तस्करी गरेर ल्याइने ब्रोइलर कुखुरा स्टक गरेर आफ्नो फर्मबाट बिल काटी केही व्यवसायीहरूले मोरङ र सुनसरीका विभिन्न स्थानसम्म पठाउने गरेका छन् ।
प्रहरीको सक्रियता भारतमा बर्डफ्लु पुष्टि भएपछि पछिल्लो समय सीमामा प्रहरीले सक्रियता बढाएसँगै मोरङ र सुनसरीका विभिन्न स्थानबाट धमाधम प्रतिबन्धित भारतीय कुखुरा बरामद हुन थालेको हो ।
तस्करीमा लागेका गिरोहले विराटनगरको दरैयावस्ती, इस्लामपुर, हुलास चौकको दक्षिण गेट र सुनसरीको श्रीपुर, लाही, भण्टाबारी, साहेवगञ्ज, घुस्की, अमडुवा, कप्तानगञ्ज नाकाबाट साइकल, मोटरसाइकल र म्याजिकमा भारतीय बोइलर कुखुरा भित्र्याउने गरिएको छ ।
केही दिनअघि पनि मोरङ प्रहरीले ठूलो परिमाणमा तस्करीको कुखुरा बरामद गरेको थियो । यस्तै सुनसरी प्रहरीले भारतबाट ल्याइएका ७४ थान बोइलर कुखुरा कोशी गाउँपालिका–८ बाट नियन्त्रणमा लिई नष्ट गरेको छ । सोमबार पनि सुनसरी प्रहरीले १ लाख २० हजार मूल्य बराबरको १४० थान कुखुरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।
यसरी नेपाल–भारतबीचको खुला सीमाको फाइदा उठाउँदै कुखुराको तस्करी भइरहँदा भारतबाट बर्डफ्लु भित्रिने जोखिम बढेको जानकारहरूले बताए । अवैध रूपमा नेपाल भित्र्याइने त्यस्ता कुखुरा बरामद गरेर नष्ट गर्नुपर्ने मोरङका कुखुरा व्यवसायीहरूको माग छ । सीमावर्ति क्षेत्रबाट नियमितरूपमा बोइलर कुखुरा अवैध रूपमा भित्रिन थालेपछि आफूहरूको व्यापार चौपट भएको मोरङका कुखुरापालक किसान बलराम थापाको भनाइ छ । भारतबाट अवैध रूपमा भित्रिने बोइलर कुखुराको तस्करी रोक्न उनीहरूले माग गर्दै आएका छन् ।
दुई करोडको सामान बरामद
राजश्व छलेर ल्याइएका ओरियन्स कम्पनीका खाद्य सामग्रीसहित प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा दमक नगरपालिका ६ का जितेन्द्र साहलाई पनि पक्राउ गरेको छ ।
ठुलो परिमाणमा गोदाममा लुकाएर राखिएको ओरियन्स कम्पनीको खाद्य वस्तु प्रहरीले छापामारेर बरामद गरेको छ । दमक–६ स्थित पदम गुरुङको घरमा रहेको गोदाममा प्रहरीले छापा मारेको झापा प्रहरीले जनाएको छ ।
बालाजुको ग्लोबल ओरियन्स प्रा.लि.बाट खरिद गरेर ल्याएको ९ हजार ९४३ बट्टा सामानको बिल फेला नपारेपछि लाखौं राजश्व छलिभएको आशंका गरेको छ । त्यसको मूल्य झण्डै दुई करोड ४२ लाख ४० हजार ७३० रुपैयाँ रहेको प्रहरीको दावी छ ।
प्रहरीले छापामार्दा ३ हजार ३५८ बट्टामा रहेको ८७ लाख २६ हजार रुपैयाँ बराबर सामानको बिल भने फेला पारेको थियो । पक्राउ परेका साहलाई प्रहरीले राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।
तस्करी गरेर ल्याएको कपडा बरामद
भारततर्फबाट अवैध रुपमा ल्याइएका विभिन्न वस्तुहरु प्रहरीले मंगलबार विराटनगर १६ दरैया चोकबाट बरामद गरेको छ । मंगलबार बिहान गस्तिमा हिडेको प्रहरीले तीन लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको जनाएको छ ।
भन्सार छलेर अवैध मार्ग हुँदै लेडिज कुर्ता सुरुवाल २०५ थान, जिन्सपेन्ट १४५ थान, स्लट जामा, बनारसी साडी २४ थान, आदि विभिन्न कपडाहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बरामद भएको वस्तु मंगलबार नै विराटनगर भन्सार कार्यालयलाई बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।