निजी सवारी साधनलाई पनि टाईमकार्ड

मोरङ ट्राफिकले सार्वजनिक सवारीमा टाइमकार्ड लागू गरेपछि सवारी दुुर्घटनामा केही कमी आएको छ । विगतको महिनाको तुलनामा सार्वजनिक सवारीको दुर्घटना संख्या पनि घट्दै गएको छ । मोरङमा टाईमकार्ड लागू भएदेखि हालसम्मको अवधिलाई मूल्यांकन गर्ने हो भने सवारी दुर्घटनामा पनि कमी आएको छ । सार्वजनिक सवारीकै कारण मानवीय क्षति पनि घट्दो छ ।

टाइमकार्ड लागू हुनुपुर्व विराटनगरदेखि उर्लावारी झण्डै डेढ घण्टामा पुगिने गरेकोमा अहिले अढाई घण्टा लाग्ने गरेको छ । विराटनगरबाट छुटेको सार्वजनिक यात्रुवसको बेलवारीमा जाँच गरिन्छ । बेलबारीपछि झापाको ताराबारीमा अर्को जाँच हुन्छ । ताराबारीदेखि बेलवारीसम्म ५५ मिनेट निर्धारण गरिएको छ । बेलवारीदेखि विराटनगरसम्मका लागि १ घण्टा २० मिनेट निर्धारण गरिएको छ । ट्राफिक प्रहरीले निर्धारण गरेको अवधिभन्दा अघि पुगेमा नियम अनुसार दण्डको व्यवस्था गरिएको छ । दण्ड जरिवानामा पर्ने सवारीमा थुप्रै छन् ।

ट्राफिक प्रहरीले शुरु गरेको अभियान राम्रो छ । दायाँ–बाँया नहेरी दौडाउने सवारीलाई नियन्त्रण गरिएको छ । सडक दुर्घटना घट्दो क्रममा छ । सार्वजनिक सवारीकै कारण पहिलेको तुलनामा केही घटेको पनि पाईएको छ । तीव्र गतिमा गुडाउन कम गरिएको छ । तर, टाईमकार्ड लागू नभएका सवारीले पनि खाली सडक भेटेमा तीव्र रुपमा गुडाउने र ट्राफिक जाँच गरिने स्थानभन्दा अलि वर केहीबेर सवारी रोक्ने प्रवृत्ति भने देखिएको छ । अनावश्यक रुपमा दौडाउने र दण्डबाट जोगिनका लागि शौचालयको आवस्यकता नै नपरेपनि सवारी साधन विसाउने गरिएको छ । ट्राफिकको दण्डमा नपर्नका लागि सवारी रोकिएको पनि स्वयं यात्रु बस चालकहरु बताउँछन् । विराटनगरदेखि उर्लाबारीसम्मको खण्डमा बेलबारीमा मात्रै जाँच गरिने स्थान भएका कारण ट्राफिक नभएका स्थानमा सवारीको गति बढाउने गरिएको छ । यसलाई अझै नियन्त्रण गर्नका लागि ट्राफिक जाँच अलि बाँक्लो रुपमा राक्नुपर्छ ।

एकातिर ट्राफिक प्रहरीले सवारी दुर्घटना कम गरि मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले शुरु गरिएको अभियान राम्रो हुँदाहुँदै निजी सवारीलाई नियमन नगर्दा भने दुर्घटना न्यूनीकरण अभियान सार्थक नहुने देखिएको छ । सार्वजनिक सवारीको गति घट्दा निजीको उल्लेख्य रुपमा बढेको छ । विराटनगरदेखि इटहरी, बेलवारी, पथरी, उर्लावारीसम्म यसअघि बसमा यात्रा गर्ने भरसक मोटरसाईकलमै यात्रा गर्न थालेका छन् । २ घण्टामा गन्तव्यमा पुगिने ठाउँमा ४ घण्टा लाग्ने थालेपछि बसको यात्रा गर्न रुचाउनेहरुको ध्यान पनि मोडिएको छ ।

यात्रुबसलाई उछिनेर गुड्ने सवारीको संख्या उल्लेख्य छ । जसले सवारी दुर्घटना बढाएको छ । निजी सवारीका साधन र मालबाहक सवारी साधन तीव्र गतिमा गुड्ने हुँदा दुर्घटना न्युनीकरण हुने छाँट देखिदैन । ट्राफिक प्रहरीले निजीलाई सार्वजनिक यात्रुबस जतिको नियमन गर्न नसक्ला । तर, केही नियन्त्रण भने गर्न नितान्त आवश्यक छ । एकातिर नियमन गर्दा अर्कोतर्फबाट घटना बढ्ने हो भने अभियानको कुनै सार्थकता हुँदैन । सार्वजनिकलाई अहिले जसरी तीव्र गतिलाई नियन्त्रण गरिएको छ । निजीको पनि गति घट्नेगरि अभियान थाल्नुपर्छ । मुख्य राजमार्गमा मात्र ट्राफिक रहने र सहायक राजमार्गमा ट्राफिक जाँच नहुनेहुँदा पनि सवारी दुर्घटनामा बढ्दो छ । अहिले राजमार्गभन्दा पनि सहायक राजमार्गमा दुर्घटनाको संख्या बढेको छ । ट्राफिकको जनशक्ति कम होला तर भएको जनशक्तिलाई प्रभावकारी रुपमा परिचालन गर्न आवश्यक छ । एकातिरबाट नियन्त्रण ग¥यो, अर्कोतर्फ उदाङ्गो नहोस् । मानवीय क्षति कम गर्नका लागि चालिएको कदम राम्रो भएपनि सार्वजनिक यात्रुवसले प्रभावकारी रुपमा कार्यान्वयन गर्न खोजेजस्तो देखिदैन । यसको पनि अनुगमन हुन आवश्यक छ ।

शुक्रबार, २३ फागुन, २०७६

प्रतिक्रिया:

सम्बन्धित खवर