च्याउ खेतीबाटै मनग्गे आम्दानी

उर्लाबारी । च्याउ खेती गरेर मोरङको उर्लाबारीका देबेन्द्र बस्नेत र गोपाल बस्नेतले अहिले मासिक एक लाखभन्दा बढी आम्दानी गरिरहनुभएको छ । मेहेनत गरे नाम र दाम स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, बस्नेत दाजुभाई ।

उर्लाबारी–७ का ३६ वर्षीय देबेन्द्र र ३३ बर्षीय गोपालले विगत ६ वर्षदेखि ब्यवसायिक रुपमा च्याउ खेती गर्दै आउनुभएको छ । स्वदेशमै केही गर्न सकिन्छ भन्ने आँटले च्याउ खेती गरेर मासिक लाख रुपैयाँभन्दा बढी कमाउन सफल भएपछि ३०÷४० हजारका लागि विदेशिनु नपर्ने देबेन्द्रको भनाई छ ।

बस्नेत दाजुभाई मिलेर आधुनिक च्याउ उद्योग सञ्चालन गर्दै आउनु भएको छ । दुई दशकदेखि च्याउ खेती गरेको भएपनि व्यवसायिक रुपमा भने ६ वर्षदेखि उत्पादन गर्दै आएको देबेन्द्रले बताउनुभयो । एक हजार लगानीबाट थालेको च्याउ खेतीमा उहाँहरुले अहिले एक करोडभन्दा बढी लगानी गर्नुभएको छ ।

च्याउ बिक्रीका लागि मात्र कम्पनीमा तीन वटा गाडी छन् । दैनिक ७ सयदेखि १ हजार केजीसम्म च्याउ उत्पादन गरेर बिक्री गरिरहेको देबेन्द्रले बताउनुभयो । बस्नेत दाजुभाईले च्याउका साथै च्याउको विउ पनि उत्पादन गरी बिक्री गर्दै आउनुभएको छ । दैनिक काठमाडौं, पोखरा, हटौडा, महेन्द्रनगर, दाङसहित पूर्वका अधिकांश स्थानहरुमा च्याउको बिउको माग आउने गरेको छ ।

उद्योगमा कन्यू, डल्ले, सिताके, हवाइट मिल्के र पिंक च्याउ उत्पादन हुने गरेको छ । करिब १५ कट्ठा क्षेत्रफलमा च्याउ खेती गर्दै आउनुभएका दाजुभाईले ३० जनालाई रोजगारीसमेत दिनुभएको छ । ‘हामीले आँट लिएर यही श्रमपसिना बगाएर लाख रुपैयाँ कमाएका छौ, त्यसैले पैसा कमाउन विदेश जानुपर्ने सोच युवाहरुले त्याग्नुपर्छ’ देबेन्द्रको भनाइ छ । जुनसुकै समय च्याउ खेतीका लागि उपयुक्त मौसम भएकाले आफ्नै जग्गामा खेती गर्दै आएको पहिलो पटक च्याउ बोयल प्रविधिको प्रयोग गरेको पनि गोपालले जानकारी दिनुभयो ।

देबेन्द्रका भाई गोपाल चार बर्ष साउदी बसेर फर्किनु भएको थियो । उहाँ स्वदेश फर्किएर च्याउ उत्पादनमा दाजु देबेन्द्रलाई सहयोग गर्दै आउनुभएको छ । विदेशको भन्दा आफ्नै देशको कमाईप्रति उहाँहरु सन्तुष्ट हुनुहुन्छ ।

२०५३ सालमा झापा बाहुनडाँगीका हिरन्य भट्टराईसँग च्याउ खेतीका बारेमा औपचारिक प्रशिक्षण लिएका बस्नेत दाजुभाई सफल च्याउ कृषकका रुपमा पूर्वमा कहलिनुभएको छ । उहाँहरुको च्याउ झापाको विर्तामोडदेखि सुनसरीको धरानसम्मका बजारमा पुग्ने गरेको छ ।

शुक्रबार, २३ फागुन, २०७६, बिहानको ०७:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर