विराटनगर । सरकारले काठ कटान, ओसारपसार र बिक्री–वितरणमा प्रतिबन्ध लगाएपछि मोरङ र सुनसरीका वन क्षेत्रमा काटेर छाडिएका करोडौँ मूल्यका काठ कुहिएका छन् । गत वर्ष कटान, छपान र ढलान गरिएका काठ घाटगदीमा कुहिन थालेको हो ।
मन्त्रीपरिषद्को २०७७ जेठ १५ गतेको बैठकले वन क्षेत्रबाट सालको काठ कटान गर्न, ओसारपसार र बिक्री–वितरण गर्नमा प्रतिबन्ध लगाएको थियो । सरकारले हचुवाको भरमा गरेको निर्णयबाट वनमा कटान भइसकेका साललगायतका अन्य प्रजातिका काठहरू कुहिन थालेको वैज्ञानिक वन व्यवस्थापन सञ्जाल मोरङका संयोजक दिलराम राईले जानकारी दिनुभयो ।
कटान, छपान र ढलान गरिएको काठहरू बिक्री–वितरण गर्न राज्यले अनुमति नदिँदा राज्यलाई करोडौं नोक्सानी हुन पुगेको उहाँले बताउनुभयो । मोरङमा ३८ वटा वनमा वैज्ञानिक वन व्यवस्थापन लागू भएको छ । जसमध्ये ३४ वटा सामुदायिक र ४ वटा साझेदारी वनमा वैज्ञानिक वन व्यवस्थापन लागू भएको छ । ‘मोरङका वनहरूमा हजारौं क्युफिट काठहरू अहिले घाटगदीमा रहेको छ,’ उहाँले भन्नुभयो, ‘राज्यले बिक्री–वितरण गर्ने अनुमति नदिँदा करोडौंका काठहरू खेर जाने अवस्थामा पुगेको छ ।’ उनका अनुसार कटान गरी घाटगदीमा राखिएका काठहरू कुहिन थालेको उहाँले बताउनुभयो ।
मोरङको केराबारी गाउँपालिस्थित एकता सामुदायिक वनभित्र कटान भएर घाटगदीमा ५ हजार क्युफिट साललगायतका अन्य प्रजातिका काठहरू थन्किएर बसेको अध्यक्ष घनश्याम पौडेलले जानकारी दिनुभयो । ‘गत वर्ष डिभिजन वन कार्यालयदेखि कटान गर्ने अनुमति पाएपछि ५ हजार क्युफिट काठ कटान गरी घाटगदीमा राखिएको छ,’ उहाँले भन्नुभयो, ‘बिक्री–वितरणको तयारी गरिएको अवस्थामा राज्यले बिक्री–वितरणमा रोक लगाइदियो । अहिले वन कार्यालयमा थन्किएका काठहरू कुहिन थालेका छन् ।’
यस्तै केराबारी गाउँपालिका–३ स्थित हिमचुली साुमदायिक वनभित्र कटान गरिएको २ हजार क्युफिट साललगायतका अन्य प्रजातिका काठहरू बिक्री–वितरणका लागि राज्यले अनुमति नदिँदा कुहिन लागेको अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिनुभयो । काठ र दाउरा कुहिन नदिन राज्यले तत्काल कटान गरिएका काठहरू बिक्री–वितरण गर्न दिनुपर्ने बताउनुभयो । राज्यले काठहरू बिक्री–वितरणमा रोक लगाउँदा चोरी तस्करी पनि बढेर जाने खतरा बढेको सामुदायिक वनका पदाधिकारीहरूको भनाइ छ ।
‘सरकारको निर्णयले करोडौं मूल्य बराबरको काठ विदेशबाट आयात भइरहेको छ’, संयोजक दिलराम राईले भन्नुभयो, ‘अहिले मूल्यमा समेत अत्यधिक वृद्धि भएको छ । जङ्गलबाट काठ निकाल्न नपाउने निर्णयसँगै ६ महिनाअगाडि ४ हजार ८ सयका दरले पाउने प्रतिक्युबिक फिट सालको काठको मूल्य पाँच हजार ५ सय पुगेको छ ।’
डिभिजन वन मोरङका प्रमुख वन अधिकृत अनिरुद्रकुमार शाहका अनुसार मोरङमा मात्रै ढलान गरिसकिएको ८० हजार क्युफिट सालका काठ सङ्कलन गर्नुपर्नेछ । चालु आर्थिक वर्षको सात महिनामा विराटनगर भन्सार कार्यालयबाट मात्रै ४० करोड मूल्य बराबरको काठ भारत, मलेसिया र थाइल्याण्डबाट आयात भएको देखिन्छ । जङ्गल विनाश नहुनेगरी काठ निकाल्न सकिने अवस्था रहे पनि सालका काठ निकाल्न नपाउनेगरी गरिएको निर्णयले अन्य काठसमेत जङ्गलमै कुहिने अवस्थामा पुगेको सञ्जालअन्तर्गत झापाका संयोजक हीरा पोखरेलको भनाइ छ ।
सरकारले जङ्गलभित्रका सालका काठ सङ्कलन र घाटगदी गर्न रोक लगाएका कारण काठहरू जङ्गलमै रहेको पथरी–शनिश्चरे साझेदारी वनका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो । मोरङमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यान्वयनमा आएका ३४ सामुदायिक र चार वटा साझेदारी वनसँग सम्बन्धित १ लाख ५० हजार घरधुरी परिवार प्रभावित भएको पौडेलको भनाइ छ ।
सरकारले सालका काठबाहेक अन्य कुकाठको सङ्कलन र घाटगदी गर्नका लागि जेठ ३२ गते नै फुकुवा गरिसकेको छ । तर, वर्षात्का कारण कात्तिकदेखि मात्रै कुकाठको घाटगदी गर्ने काम सुरु गरिएको हो । डिभिजन वन कार्यालय मोरङका अनुसार कात्तिकदेखि यता ३५ हजार क्युबिक फुट कुकाठका काठ घाटगदी गरिएको छ ।