बन्धन सिमेन्ट अब पिपिसीमा पनि

विराटनगर । नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले उत्पादन गर्दै आएको बन्धन सिमेन्ट पिपिसीमा पनि उत्पादन हुने भएको छ ।

हालसम्म बन्धन सिमेन्ट ओपिसी र पियससिमा उत्पादन हुँदै आएकोमा अब ग्राहकले पिपिसीमा पनि प्राप्त गर्ने भएका हुन् ।

पूर्वी नेपाललाई आफ्नो पकड एरिया बनाएर सिमेन्ट उत्पादन गर्दै आएको नेपाल अल्ट्राटेक सिमेन्टले पिपिसी सिमेन्टमा पनि ओपिसी र पियससी जस्तै गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने बताएको छ । बढ्दो सिमेन्टको मागलाई मध्यनजर गर्दै गुणस्तरीय सिमेन्ट उत्पादन गरी मागको पूर्ति गर्ने उद्देश्यले उत्पादनमा जोड दिएको कम्पनीका अध्यक्ष मनिषकुमार मारुले जानकारी दिनुभयो ।

बन्धन सिमेन्टको ओपिसी र पिएससि सिमेन्टको अपार सफलता र ग्रहाकहरुबाट बन्धन पिपिसी सिमेन्टको खोजी गरिएकाले उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ ।

के हो ओपिसी, पिपिसी र पिएससी ?
विश्वमा १५ भन्दा बढी प्रकारका सिमेन्टहरूको प्रयोग भइरहेको छ । नेपालमा भने ओपिसी, पिपिसी र पिएससी प्रयोग हुन्छ । नेपालमा सबैभन्दा बढी प्रयोग हुने सिमेन्ट पिपिसी र ओपिसी हो भने पछिल्लो समय पिएससी सिमेन्ट पनि ग्राहकको रोजाइमा पर्ने गरेको छ ।

पिपिसी सिमेन्टमा ७७ प्रतिशत क्लिंकर र २३ प्रतिशत अन्य सामग्रीहरू प्रयोग गरिएको हुन्छ । जसले गर्दा सिमेन्ट सेट हुन केहीदिन लाग्ने गर्छ । यो सिमेन्ट घरको प्लास्टर गर्दा र इँटाको गारो लगाउदा बढी प्रयोग गरिन्छ । प्राय बालुवा मात्रै मिसाएर प्रयोग गरिने संरचनामा यो सिमेन्टको प्रयोग गरिन्छ ।

ओपिसी सिमेन्टमा ९८ प्रतिशतसम्म क्लिंकर र २ प्रतिशतसम्म मात्रै अन्य जिप्समहरू प्रयोग गरिने भएकाले ओपिसी सिमेन्टमा क्लिंकरको मात्रा धेरै हुन्छ । क्लिंकरको मात्रा पिपिसीभन्दा ओपिसीमा धेरै हुने भएकाले यसको पकड शक्ति पनि धेरै हुन्छ र छिटो सेट हुन्छ । यसको प्रयोग घरको ढलान पिलर ढलान र पुल आदि निर्माण चाँडो सक्नुपर्ने अवस्थामा गरिन्छ । ढुङ्गासहितको मिश्रण बनाउन ओपिसी तथा बालुवाको मात्रै मिश्रण बनाउन पिपिसी सिमेन्टको प्रयोग गरिन्छ ।

पिएससी सिमेन्टमा ५५ प्रतिशत क्लिंकर र ४५ प्रतिशत अन्य सामग्रीहरू प्रयोग गरिएको हुन्छ । यसमा क्लिंकरको मात्रा ओपिसी र पिपिसीभन्दा कम हुने भएकाले यसले पकड लिन अन्य सिमेन्टको भन्दा बढी समय लिनेगर्छ ।

बिहिबार, २२ फागुन, २०७६, दिउँसोको ०४:२९ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर