कति गाउँने अरुको सस्तो गीत । छोडौं अब यसखाले सस्ता गीत गाउँन । गुणस्तरहीन गीत टिकाउ हुँदैनन् भन्ने हेक्का हुनुपर्ने हो त । यस्ता गीत गाएको सुन्नेलाई भन्दा नि देख्नेलाई लाज भो । सधैंभरि अरुका स्तुतीमा पाङ्दुरे गीत गाएरै दिनचर्या चल्छ भन्ने भ्रम नपालौं । तसर्थ बेलैमा भ्रम त्याग्नुमा नै सबैको भलो हुन्छ । गाएको गीत कसैले सुनोस् वा नसुनोस् कुनै हेक्का छैन । अनि कसरी हुन्छ, प्रगति र उन्नति । गीत गाएरै आफ्नो जीविका चल्छ भन्ने ठान्नेहरु कहाँसम्म पुग्ने हुन्, पत्तो छैन । अरुका प्रशंसामा धीर हुनेहरुको वर्तमान सुन्दर देखिएला तर भविष्य उज्जव छैन है । चेतना भया ।
काम फत्ते गर्न अझै निकै नै बाँकी छ । किन ठूलठूला डंका पिट्ने, अनि पहाड पल्टाउन छोडेर सियोको टुप्पु जोत्दै किन फुइँ लाउनु नि । जिम्मा लिएको काम त पूरा गर्नु परो नि । कार्यकाल बाँकी छ भन्ने थाहा छ त । हाम्रो महानगरको कुरो नि । एडीबीको पैसा पनि सकिन लाग्यो क्यारे । उसले बनाका भनेका राम्रा बाटा पनि उप्किन थालिसके । भत्किएका सडक टाल्न थाल्ने कहिलेबाट हो कुन्नी । सडक बनाएको साता नबित्तै मूल सडकका बीचबीचमा भ्वाङ परेको टाल्ने कस्ले हो । भ्वाङ परेका सडकले मानव जोखिम निम्त्याइसको, विचार गर्ने कहिले हो र कसले हो । बित्यासै पार्लाजस्तो है ।
तिनै भ्वाङ परेका सडकमा पनि फर्सीका लहरा झै तन्द्रयाङतुन्द्रुङ डोरी झुन्डिएका असरल्ल छन् । सडकका छेउछाउमा पानी बग्ने भनेर खनेका लाम्चा–लाम्चा खाल्टाहरु पनि उत्तानो टाङ लाएजस्ता रुप रङका छन् । खोइ हाम्रो शहरको विकास पनि थामिनसक्नु पर्जपखान भैसक्यांै । सम्हाल्ने कसरी हो ? सम्हाल्ने कसले हो ? सार्वजनिक सवारीहरु पनि बग्रेल्ती दर्गुछन्, ती बाटा । तिनको नियमन गर्ने कसले हो, त्यसको ठेगान भएजस्तो लाग्दैन । सिटी फुक्ने थोरै सेवकले कति पो भ्याउलान् र ? तिनका पनि लालाबाला होलान् नि । तिनको पीडा कस्ले बुझिदेला र ?
अरुका त नगरपिता, हाम्रा त महानगरपिता । अरु पिताहरुले नगरबस चलाइसके, हाम्रा नगरपिता के गर्दैछन् । हाम्लाई कत्ति पनि थाहासुद्धि छैन । भन्नलाई रानी चल्ने थोत्रा बस चलेका छन् त भनिएला । यसो भनेर महानगरले नाक घोक्रयाउनु पनि उचित हुँदैन है । यत्तिकैमा उसले नागरिकप्रतिको दायित्व पूरा गरेको पनि ठहर्दैन नि । सामाजिक सेवाका क्षेत्रबाट उसले पन्छिन पनि मिल्दैन नि । रानी चल्ले थोत्रा बस रिजर्बमा गएका दिन यात्रुहरु चिल्लै । नगरबस भनेको उत्तरदक्षिण दौडनेलाई मात्रै भनिदैन है । चारै दिशा दगुर्नुपर्छ नि । सानाठूला भित्री गल्ली पनि ।
सँगैमा हेटौंडाजस्तो उपमहानगरले त यसअघि नै नगरबस चलाएर नागरिकप्रतिको एउटा तर महत्वपूर्ण दायित्व पूरा गरेको छ । त्यसमा पनि ज्येष्ठ नागरिकलाई विशेष सहुलियत दिएर । झापाको पनि एउटा नगरपालिकाले नगरबस नै सञ्चालनमा ल्याएर नागरिकसँगको सम्बन्धलाई अरु प्रगाढ बनाएको खबर पनि सुनिएको पनि अझैसम्म हाम्रा मनमष्तिकमा ताजै छ हो ।
चिल्ला सडक बने, नागरिकले हिँड्ने पेटी छैन । नाला बने, ढल बने, रिङ हाल्या हैन । साइकल गुड्ने ठाउँको त कुरै छोडौं, यसको त योजना नै छैन । बाटैबाटो साइकल कुदाउ, चेपिएर धूलोपीठो हुन बेर छैन । निम्जा र निर्धनहरुको कसै गरे नि धर छैन । भन्न जाउँ, जनप्रतिनिधिको भर छैन । नेतामन्त्रीलाई भन्न जाउँ, उनीहरुलाई कर छैन । जित्ने र हार्नेबीच लुकामारी हुन्छ । खाने बेलामा उनीहरुबीच भागबण्डा मिल्छ । यस्तै रहेछ संसारको रीत भनी सन्तोष मान्नु पर्लाजस्तो । जनता भने धूलीचट, पिल्सेको पिल्सै । चिल्ला सडकमा त धूलोको मुस्लोको भनी साध्य छैन । गल्लीको त के कुरा गर्नु र ? कनिकुथी केही लेखियो क्यारे । कत्तिको मनचित्त दुख्ने हो । बुझ्नेलाई इशारा काफी छ भनिन्छ । जति गरे नि कुरो उही । आजलाई यतिमै बीट मारम् ।