वाग्मती प्रदेशः नेकपा दलको नेतामा शाक्य

काठमाडौं । नेकपा वाग्मती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन हुनुभएको छ ।

मुख्यमन्त्री एवं दलका नेता डोरमणी पौडेललाई हटाउँदै संसदीय दलको बहुमतको बुधबार बसेको बैठकले दलको नेतामा पार्टी स्थायी समिति सदस्य शाक्यलाई चयन गरेको हो ।

मुख्यमन्त्री पौडेल विरुद्ध प्रदेशसभामा पनि अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । प्रस्तावमा शाक्यलाई नै मुख्यमन्त्री प्रस्तावित गरिएको छ । बुधबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री रहेका पौडेललाई नेकपा संसदीय दलको नेताबाट हटाइएको विषयमा प्रदेशसभा सचिवालय र मुख्यमन्त्री पौडेललाई जानकारी गराउने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्री पौडेलले आपूm विरुद्ध बहुमत सांसदको आविश्वास प्रस्ताव दर्ता भएपछि दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गरेको सार्वजनिक गर्नुभएको थियो । उहाँले अविश्वास प्रसताव पेश गर्ने ३० जना प्रदेशसभा सदस्यहरुलाई २४ घण्टाभित्र जवाफ दिने स्पष्टिकरण पनि सोध्नुभएको छ ।

दलका उपनेता जमरकट्टेलले संसदीय दलको बहुमतको निर्णयबाट नेताबाट हटाइसकेकोले पौडेलले स्पष्टिकरण सोध्ने हैसियत नरहेको बताउनुभयो । पौडेलले सोधेको स्पष्टिकरणको कुनै जवाफ नदिने उहाँको भनाइ छ ।

नेकपाका बहुमत प्रदेशसभा सदस्यले पुस १० गते शुक्रबार मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । वाग्मती प्रदेशमा नेकपाको कूल ८० मत रहेकोमा अविश्वास प्रस्तावमा ४५ जनाले हस्ताक्षर गरेका छन् ।

बुधबार, १५ पुष, २०७७, दिउँसोको ०४:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर